नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर संकटमा छ । पार्टीका दोस्रो पुस्ताका नेताहरु विभाजनबाट जोगाउन आ–आफ्नो ठाउँबाट क्रियाशील छन् । स्थायी कमिटीका विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा जस्ता नेता बेग्लाबेग्लै ढंगले क्रियाशील छन् । ठाकुर गैरेजस्ता केन्द्रीय सदस्य फूटबाट जोगाउन धर्ना आयोजना गर्दैछन् तर दुवै अध्यक्षलाई आमने–सामने राखेर ‘थर्काउन सक्ने’ हैसियतका वरिष्ठ नेता नेपाल कहाँ छन् ? अहिले नेकपामा नेपालको हस्तक्षेपकारी, तटस्थ र ‘बोल्ड’ भूमिकाको आवश्यकता छ, जुन नेपालको क्षमताको विषय हो ।
नेकपाका तीन गुटका तीन शीर्षनेतामध्ये नेपाल मात्र त्यस्ता नेता हुन्, जो अत्यन्त्र क्रियाशील छन् । अध्ययनशील पनि छन् । त्योभन्दा पनि अझ उज्यालो पक्ष उनको सादगी जीवनशैली हो । पार्टी–सत्तामा सबैभन्दा लामो समय बसे तर ‘नव–व्यापारी’ सँग उठबस गरेनन् । प्रधानमन्त्री पनि भए तर उनको ‘घरपटीले ठेक्का पाएको रासायनिक मल नल्याएका कारण हाहाकार भएको’ कसैले सुन्नु परेको छैन । ‘घरपटी’ ले ठेक्का लिएर सडक नबनाएको भन्ने आरोप पनि लागेको छैन । न त कहिल्यै रक्तचन्दन, उठ्तीपुठ्ती वा अरु केहीमा उनका मान्छेको संलग्नता भन्ने आरोप नै व्यहोर्नुपरेको छ ।
अर्थात्, नेपाल कसैले प्रश्न उठाउला कि भनेर सबैभन्दा डर र लाज मान्ने नेकपाका शीर्षनेता हुन् । उनी नेकपाका मात्र नेता हैनन्, कांग्रेस लगायत अन्य दलका समेत आदरणीय नेता हुन् । पूर्वप्रधानमन्त्री भएकाले देशकै नेता पनि हुन् । पार्टी–संगठनमा समेत तेस्रो प्रभाव राख्ने नेता उनी संस्थापनका समेत ‘सेकेन्ड च्वाइस’ हुन् । तर, नेकपाको अहिलेको संकटमा खोई त माधवकुमार नेपालको भूमिका ?
नेकपाको नवौं महाधिवेशनमा झिनो मतले केपी शर्मा ओलीसँग पराजित भएदेखि नेपाल ‘किनारा’ मा पर्दै आए । यो पार्टीभित्र जीवनमै पहिलोचोटी व्यहोरेको ठूलो हार थियो । भलै, राजनीतिक करिअरमा चाहिँ पहिलो संविधानसभा निर्वाचनपछि उनलाई ठूलै धक्का लागेको थियो । राजा ज्ञानेन्द्रको सक्रिय शासनकालविरुद्ध गठित शान्तिपूर्ण आन्दोलन गर्ने गठबन्धन– ‘सात दल’ ले पहिलो संविधानसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेको थियो । सशस्त्र विद्रोहको बन्दुक बिसाएर चुनाव लडेको माओवादी शक्तिशाली भएको थियो ।
माओवादीले प्रत्यक्षतर्फ १२० सीट जित्दा कांग्रेस ३७ र एमाले ३३ सीटमा सीमित भएको थियो । त्यसबेला पनि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नैतिकताको आधारमा राजीनामा गरेनन् तर नेपालले भने एमालेको महासचिव पद त्यागे– नैतिक जिम्मेवारी लिएर । यो नेपालको राजनीतिक करिअरमा सबैभन्दा निराशाको क्षण थियो । त्यसलाई छिचोल्दै, तङ्ग्रिदै अघि बढेका नेपाल दुई वर्ष नहुँदै प्रधानमन्त्री बनेका थिए ।
पार्टीभित्रका ‘तेस्रो शक्ति’ माधवकुमार नेपाललाई यसअघि प्रधानमन्त्री एवम् केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मेलमिलाप हुँदा उनलाई बेवास्ता गरियो । प्रधानमन्त्री ओलीले उनलाई कतिपय सन्दर्भमा ‘अवमूल्यन’ नै गर्ने प्रयास समेत गरेको उनको भोगाइ छ ।
चौथो वरियतामा झारिएका नेपाल !
करिब १० महिनाअघि गत भदौमा केन्द्रीय सचिवालयको बैठकबाट उनलाई चौथो वरियतामा झारियो । पहिलोचोटी चौथो वरियतामा पुगे । ०७५ जेठ ३ मा पार्टी एकताका बेला तेस्रो हैसियतमा थिए– नेपाल । ०७६ भदौ १ गते उनीभन्दा झलनाथ खनाललाई माथिल्लो वरियतामा सारियो । नेपाललाई झार्न प्रचण्डले पनि ओलीलाई साथ दिएका थिए । नेपाल निरीह बनाइए ।
त्यसपछि नेपालले पनि ‘एक व्यक्ति एक पद’ को मुद्दा उठाए । जुन ०७५ मंसीरमै मंसीर–पुसको स्थायी कमिटीमा वामदेव गौतमले राखेको फरकमतले अघि सारेको विषय थियो । नेपालले पनि पार्टीमा भदौ ३ गते सात बुँदे ‘नोट अफ डिसेन्ट’ दर्ता गराए । नेपालको अपेक्षाविपरीत यो एजेन्डालाई सचिवालयमा कसैले पनि साथ दिएन। नेपालले प्रधानमन्त्री ओली भइरहने हो भने प्रचण्डलाई कार्यकारी अध्यक्ष दिनुपर्ने बताउँदा प्रचण्डले समेत त्यसमा समर्थन जनाएनन् । त्यसबेला प्रचण्डको भनाइ थियो, ‘यो बाध्यकारी विषय हैन, यो ओलीजीले निर्णय गर्ने विषय हो ।’
नेपाल आफ्नो राजनीतिक इतिहासमै पहिलोचोटी चौथो मर्यादामा झरे । उनले आफूलाई पनि ‘तेस्रो अध्यक्ष’ कै हैसियतमा ‘प्रोजेक्सन’ गरेको ओलीले रुचाउँदैनथे । एकताका बेला नेपाललाई खनालभन्दा माथि सारिएको थियो । यो एमालेको नवौँ महाधिवेशनले गरेको व्यवस्थाविपरित थियो । उक्त महाधिवेशनले पारित गरेको विधानमा निवर्तमान अध्यक्षका लागि दोस्रो मर्यादासहित वरिष्ठ नेता भन्ने पद सिर्जना गरेको थियो।
ओलीले नेपालविरुद्ध खनालको मर्यादालाई यसरी ‘क्यास’ गरे जसले नेपाललाई कमजोर बनाइदियो । यस विषयमा नेकपा सचिवलयभित्र नेपालको पक्षमा बोल्ने मान्छे समेत भएनन् ।
आफूलाई तल झार्ने ओलीको तयारीपछि नेपालले आफूनिकटसँग खनालभन्दा आफू वरिष्ठ रहेको बताएका थिए । नेपालको दाबी थियो– ०३५ सालमा सीपी मैनालीलाई महासचिव बनाउँदा नेपाल पोलिट्व्युरोमा थिए, ०५० सालमा दासढुंगा दुर्घटनापछि नेपालले नै प्रस्ताव गरी खनाललाई केन्द्रीय सदस्यबाट पोलिटव्युरोमा लगेका थिए ।
छ वर्षपछि पनि पराजित !
छ वर्षअघिको नेकपा महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए नेपाल । पाँच वर्षमै फेरि नयाँ नेतृत्वको परीक्षण हुनुपर्ने हो तर छ वर्षपछि पनि नेपाल चाहिँ ‘पराजित’ अवस्थामै छन् ।०६५ फागुन ५–१४ बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमै नेपाल अध्यक्ष लड्न चाहेका थिए तर तत्कालीन पार्टीप्रमुख रहेका खनालले नछाडेपछि उनी लडेनन् ।
खनालसँग चुनाव लडेर पराजित केपी शर्मा ओलीसँग मिलेर अध्यक्ष खनाललाई ‘हल न चल’ बनाएका थिए– नेपालले। यतिसम्म कि संसद्मा ३०१ भोट पाए जित्ने प्रधानमन्त्री निर्वाचनमा समेत पहिले नै ४०१ सांसद्को हस्ताक्षर देखाउनुपर्ने शर्त राख्दै खनालको प्रधानमन्त्रीको उम्मेद्वारी समेत फिर्ता लिइदिएका थिए नेपालले। खनाल अध्यक्ष रहुञ्जेल नेपालले ओलीलाई सघाए । पार्टीभित्र प्रतिपक्षी नेताको भूमिकामा ओली थिए। नेपाल चाहिँ पूर्वपार्टी-प्रमुखको हैसियतले दोस्रो वरियतासहित वरिष्ठ नेता थिए। ओली तेस्रो नम्बरका नेता थिए त्यसबेलाको एमालेमा ।
नवौँ महाधिवेशनमा ओली अध्यक्ष चुनिँदा उनीसँग ६० भोटले हारेपछि पार्टीभित्र प्रतिपक्षीको भूमिकामा पुगेका थिए नेपाल । त्यसपछि बसेका एमाले केन्द्रीय कमिटी बैठकहरूमा नेपाल ‘कडा’ रूपमा प्रस्तुत हुने गरेका थिए। ओली पहिलोचोटी प्रधानमन्त्री निर्वाचित भएपछि मन्त्री चुन्न ग्राण्डी अस्पतालमा बसेको स्थायी समिति बैठकमै गएनन् । उनी पार्टीभित्र ‘प्रतिपक्षी’ नेताका रूपमा देखिएका थिए। उनी पार्टी पद्धति र प्रणालीको वकालत गर्ने नेता हुन् ।
साविक एमालेमा एकजना शीर्षनेता प्रतिपक्षी भूमिकामा रहँदै आए । ०३९ सालदेखि करिब १५ वर्ष समय सीपी मैनाली, त्यसपछि अलि समय वामदेव गौतम र पछिल्लो समय केपी ओली त्यो भूमिकामा थिए। अनि नेपालले त्यो स्थान र्लि । पार्टीभित्रको प्रतिपक्षीको अस्तित्व संस्थापनले नकार्न सक्दैनथ्यो विगतमा । अहिले नकारेर अघि जाने प्रयास गर्दा समस्यामा फसेको हो ।
३५ वर्ष पार्टी–सत्तामा
२०३५ साल पुस ११ मा नेकपा (माले) गठन भएदेखि नेपाल पछिल्लो एक वर्षदेखि नेपाल सबैभन्दा ‘कर्नर’ मा परेका हुन् । राजनीतिक करिअरको चार दशक वर्षमध्ये नेपाल १५ वर्ष पार्टी प्रमुख र बाँकी २० वर्ष दोस्रो नेताका हैसियतमा सत्ताको अभ्यास गरेका थिए। पछिल्ला पाँच वर्ष मात्र तेस्रो हैसियतमा झरेका थिए। र, त्यसपछि चौथो ।
०३५ सालमा माले गठनसँगै सीपी मैनाली महासचिव चुनिँए, नेपाल दोस्रो स्थानमा रहे। मैनालीलाई पार्टीको साधारण सदस्य मात्र रहने गरी कारवाही गरी ०३९ सालमा झलनाथ खनाल महासचिव बने। नेपाल चाहिँ दोस्रो स्थानमै रहे।
०४६ सालको भदौमा सिराहामा भएको नेकपा (माले) को भूमिगत चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चुनिए, नेपालको दोस्रो हैसियतमा फेरबदल भएन।
माले–माक्र्सवादी एकीकरणपछि ०४९ माघमा काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट मनमोहन अधिकारी अध्यक्ष र महासचिव मदन भण्डारी भए। अधिकारी आलंकारिक अध्यक्ष र कार्यकारी अधिकारसहितको महासचिव भण्डारी थिए। नेपाल पार्टीभित्र भण्डारीपछिका सबैभन्दा शक्तिशाली नेता थिए।
०५० साल जेठ ३ गते चितवनको दासढुंगामा ‘रहस्यमय दुर्घटना’ मा महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि नेपाल शक्तिशाली महासचिव बनेका थिए । त्यसपछिका १४ वर्ष उनले पार्टी एकछत्त चलाए।
०५६ सालमा आलंकारिक अध्यक्ष मनमोहन अधिकारीको निधनपछि त पार्टी प्रमुख पनि महासचिव नै हुने व्यवस्था गरे । ०६४ साल चैतमा भएको संविधानसभा निर्वाचनमा आफू काठमाडौं र रौतहट दुवै क्षेत्रमा पराजित र पार्टी पनि प्रत्यक्षतर्फ ३३ सीट मात्र जितेर तेस्रो भएपछि उनले नैतिकताका आधारमा राजीनामा गरे। त्यसपछि पुनः झलनाथ खनाल पार्टी प्रमुख भए। खनाललाई महासचिव बनाउन पनि नेपालकै प्रस्ताव थियो।
०६५ साल फागुनमा बुटवलमा भएको आठौं महाधिवेशनमा नै अध्यक्ष हुने आकांक्षा राखे तर तत्कालीन महासचिव खनालले दाबी नछाडेपछि नेपाल चुनाव लडेनन् । खनाल–ओलीबीच भएको अध्यक्षको चुनावी प्रतिस्पर्धामा उनी तटस्थ बसे। महाधिवेशनले उनलाई ‘वरिष्ठ नेता’ भन्ने पद सिर्जना गरेको थियो । नेपाल दोस्रो मर्यादामा रहे ।
आठौं महाधिवेशनमा अध्यक्ष खनाल चुनिए, संसदीय दलको नेता पनि उनै भए। खनालसँग अध्यक्षमा पराजित केपी शर्मा ओली पार्टीभित्रका प्रतिपक्षी बने। नेपाल दोस्रो मर्यादाका नेता भएर पनि पार्टीभित्र सबैभन्दा शक्तिशाली साबित भए।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमालेका ओलीको शक्ति उपयोग गर्दै संविधानसभा सदस्यमा मनोनित भए, संसदीय दलको नेता उछिन्दै प्रधानमन्त्री बने– करिब २० महिना। जतिबेला एमालेको अध्यक्ष र संसदीय दलको नेता भने झलनाथ खनाल थिए।
नेपाल एमालेका त्यस्ता नेता हुन्, जसलाई पार्टीबाहिर कांग्रेस, एमाओवादी र अन्तर्राष्ट्रिय समुदायका नेतालाई समेत मनाउन सक्छन् । ०६२÷६३ को आन्दोलन र एमाओवादीलाई शान्तिप्रक्रियामा ल्याउन उनले खेलेको नेतृत्वदायी भूमिकाले उनलाई चुनाव हारे पनि राजनीतिको केन्द्रमै राख्यो।
सत्तामा पनि सबैभन्दा बढी रहने एमाले नेता हुन्– नेपाल। एमालेका सबै प्रमुख नेता ०४८ सालमा चुनाव लडे, नेपाल चाहिँ लडेनन् । केन्द्रीय चुनाव परिचालन कमिटीका संयोजक भए । चुनावपछि माथिल्लो सदन– राष्ट्रिय सभा सदस्य भए, त्यहाँको विपक्षी दलको नेता बने।
नेपालले ०५१ सालको मध्यावधि निर्वाचन रौतहटबाट जिते। त्यसपछि तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए। सो सरकारमा उपप्रधानमन्त्रीसहित रक्षा र परराष्ट्रमन्त्री नेपाल भए। ०४६ सालमा बहुदल आएपछिको पहिलो उपप्रधानमन्त्री माधवकुमार नेपाल नै हुन् ।
ओली दोस्रोचोटी प्रधानमन्त्री भएपछि बालुवाटार जग्गा प्रकरणको छानबिन सुरु गरे । नेपालमाथि यसको तरबार झुण्ड्याइयो ।
यदाकदा प्रधानमन्त्री ओलीले नेपाललाई यो विषय उठाएर व्यंग्यसमेत गर्ने गरेका थिए– विगतमा । नेपाल प्रधानमन्त्री हुँदा गरेको निर्णयले बालुवाटारस्थित ललिता निवासको जग्गामा बाटो खुलेको र विभिन्न व्यक्तिको नाममा दर्ता भएको उनीमाथि आरोप लगाइयो । यसले नेपाललाई लामो समय तनाब दियो ।
लामो समय पार्टी सत्तामा बसेका कारण नेपालसँग गुट थिएन– नवौँ महाधिवेशनअघिसम्म । अधिवेशनमा ओलीसँग असहमत युवाहरूको नेता बनेर अध्यक्ष लडे नेपाल। तत्कालीन अध्यक्ष झलनाथ खनालसँग रहेको समूहले नेपाललाई साथ दिएको थियो । उनलाई भीम रावल, सुरन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईजस्ता प्रभावशाली नेताहरूको समूहले साथ दिएको थियो। जो पछिल्लो समय उनीबाट टाढिए । नेपालले आफूनिकट भएकै करण वरिष्ठलाई छाडेर कनिष्ठलाई ठूलो जिम्मेवारी दिएको, सानो घेरामै रमाउन थालेको मूल्याङ्कनसहित उनको समूहका केही नेता प्रचण्डसँग पुगेका छन् । यसले नेपाललाई कमजोर बनाएको हो ।
शक्तिआर्जनको मौका
वरिष्ठ नेता नेपालले पछिल्लो समय प्रयोग गर्ने गरेको शब्द हो– ‘चोचोमोचो’ । दुई महिनाअघि बैशाख १७ गतेको सचिवालय बैठकमा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्नुपर्ने भन्दै राजीनामा मागेका प्रचण्डले अर्को बैठकमा त्यसबापत आत्मालोचना गरेका थिए । तीन दिनपछि नै बैशाख २० गते अध्यक्ष ओली र प्रचण्डले सचिवालय बैठकमा आत्मालोचना गरेर नेपाललाई ‘सप्र्राइज’ दिए । त्यसपछि नेपालले भनेका थिए– ‘दुई अध्यक्षबीच चोचोमोचो मिलाएर मात्र हुँदैन ।’
ओली र प्रचण्डभन्दा आचरणमा बेग्लै नेता हुन्– नेपाल । उनी निष्ठाको राजनीति गर्न चाहन्छन् । कसैले औँला नउठाओस् भन्ने उनको चाहना हुन्छ, जुन दुई अध्यक्षलाई वास्ता छैन ।
पार्टीभित्र ‘ह्युमिलेट’ गरेको महसुस गरेका नेपाल गत एक वर्षदेखि निकै रिसाउँदै आएका हुन् । दुई अध्यक्षले ‘चोचोमोचो’ मिलाएर मात्र नहुने बताउने नेपालको आशय हुन्थ्यो– दुई जना मात्र छलफल गरेर हुँदैन, आफूसँग पनि छलफल हुनुपर्छ । अर्थात्, निर्णयमा सहभागिताको खोजी थियो, जुन नाजायज पटक्कै होइन ।
पार्टी एकताको बेला ०७५ जेठ २ को ‘गोप्य सहमति’ र त्यसको आधारमा गरिएको विधानको व्यवस्थामा दुई अध्यक्षको सहमतिमा पार्टी सञ्चालन हुने उल्लेख छ । त्यसैमा टेकेर दुई अध्यक्षले ‘शासन’ गर्दै आएका छन् ।
दुई अध्यक्षको ‘आत्मालोचना’ अघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेपाललाई पनि ‘तेस्रो अध्यक्ष’ प्रस्ताव गरेका थिए । मर्यादामा तेस्रो भए पनि त्यो समान हैसियतका तीन अध्यक्ष पद हुन्थ्यो । यसले नेपालले बारम्बार उठाउँदै आएको आसनको प्रश्न हल गथ्र्यो । अनि नेपाललाई अधिकार सम्पन्न बनाउँथ्यो ।
कानूनी रुपमा नेकपा एउटै पार्टी भए पनि सारमा भने यो मोर्चा हो । यसको सञ्चालन र निर्णय प्रक्रियाले यही बताउँछ । नेपाल पनि अध्यक्ष हुँदा पार्टीको शक्ति–सन्तुलनको पनि मिल्थ्यो । यसमा कुनै शंका छैन– ओलीले यो प्रस्ताव प्रचण्डलाई ‘व्यालेन्स’ गर्न अघि सारेका हुन् । नेपालजत्तिको टिकेर खेल्न सक्ने खेलाडीलाई यसको बोध नहुने कुरै भएन । तर, ‘एउटै कक्षा दोहोर्याएर नपढ्ने’ घोषणा ओलीले गरिसकेका छन् । नेपाल पनि अध्यक्ष भएपछि ओलीपछि साविक एमालेका तर्फबाट भावी अध्यक्ष नेपाल हुन् भन्ने सुनिश्चित हुन्थ्यो । नेपालको राजनीतिक उचाइ पनि चुलिन्थ्यो ।
पार्टी पद्धति र आचरणको कुरामा निकै सजग नेता हुन् नेपाल । उनी पार्टीको बैठक पार्टी कार्यालयमै गर्नुपर्नेमा विश्वास गर्छन् । यो कुरा पटक–पटक उठाएका पनि छन् । तर, अहिले प्रचण्ड गुटमा विलय भएजस्तो देखिएका छन्– नेपाल । कहिले खुमलटार, कहिले झम्सिखेल र कहिले भैंसेपाटी बैठकमा जाँदा कति चित्त काटिएको होला– नेपालको । उनी आफैँ कोटेश्वरमा बैठक राख्दै छन् । यतिसम्म कि हरिसिद्धीमा समेत गुटको बैठक हुने गरेको छ । यसले उनी उभिँदै आएको निष्ठा र पद्धतिको राजनीतिलाई अवश्य लाभ पुगेको छैन ।
नेपालको मौनताले देखाउँछ– उनी शक्तिआर्जनमा लागेका छन् । त्यसैले उनी प्रचण्डसँग कडा गठबन्धनमा छन् । ओलीको बारम्बारको कार्ड पनि असफल भइरहेको छ । ओलीबाट पटक–पटक धोका र हेपाइ खाएका नेपाल अब चाहिँ ठीक पारिछाड्ने अडानमा हुनसक्छन् । पार्टी फूटको संघारमा पुग्दा पनि त्यसबाट पार लगाउन नेपालको भूमिका देखिनुपर्छ ।