हिमालमा मधेसी न्यानो

 स्वयंसेवा –२ 

‘ना हजुर ना, यो सब बेकार छ। छोड्दिनुस्, बाबु हामीलाई केही चाहिएको छैन,’ जुम्लाको खलंगा बजार टुँडीखेल तल्लो गेट नजिकको नारायणी सिरक पसलबाट कृष्ण प्रसाद गुप्ताले यति बताउँदा हामी पसलको एउटा ढोका अतिकति खोलेर भित्र पसेका थियौं।

उनी बेला बेला बाहिरतिर हेरिरहन्थे। उनलाई स्थानीय प्रशासनको डर थियो। सशस्त्र प्रहरी परिचालन गर्दा जुम्ला बजार थप आतंकित छ। सशस्त्र प्रहरी र डर उस्तैउस्तै भन्ने पारिएको छ। पछिल्लो समय कोरोना संक्रमित बढेपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञा जारी छ।

लकडाउन सामान्य मानेका आम नागरिकको मनमा यसले त्रास बढाएको छ। आर्थिक गतिविधि ठप्प छन्। कोरोना कहर, कमाइ नुहने चिन्ता, उत्पादन नबिकेको त्रास, ससस्त्र प्रहरीको डरले मान्छेको मुटु माखाको पित्त भन्दा सानो बनाइदिएको छ।

यी सबै खालका डर कृष्ण प्रसादको मुहारमा प्रतिविम्वित भइरहेका थिए। हामी बिहान सातै बजे उनको दोकानमा पुगेका थियौं। सरकारले जारी राखेको लकडाउनका कारण ज्यालादारी गरेर जिविका चलाउनेको दैनिकी नराम्ररी प्रभावित बनेको छ। समग्र अर्थतन्त्र प्रभावित बनिरहेको अवस्थामा सडकमा रहने, मागेर खाने, अपांग, असाहयको जीवन नराम्ररी प्रभावित बनेको छ भने बजारका भुस्याहा कुकुरलेसमेत खान पाइरहेका छैनन्।

प्रशासनदेखि स्थानीय सरकार सबैका लागि बोझ बनेका सडकमा बस्ने मान्छे र कुकुरलाई खाना दिने काम लकडाउन अवधिमा उनै कृष्ण प्रसादले गरे। यसरी सडकमा रहनेको खाने र सुत्ने प्रबन्ध मिलाउन लागेका कृष्ण प्रसादलाई हामीले भेट्दा निकै डराएका थिए।

उनले सुनेका छन्, ‘यसबेला पुलिस स–सानो कुरामा नीउ खोजिखोजि सातो लिन्छ।’ यसैले पनि उनी लगायतका व्यापारी र बिहानै डोकोमा तरकारी बोकेर गाउँलाई सहर पसाउने किसान त्रसित छन्। 

हामीले धेरै पटक कोशिस गर्दा पनि उनी आफूले गरिरहेको सेवाको प्रचारप्रसार आवश्यक छैन भन्दै तर्किन लागे। ‘अलिकति सेवा गरेकै भरमा किन मिडियामा आउनुपर्‍यो? आवश्यक छैन,’ उनले हात जोड्दै भने, ‘बजारमा हामी भन्दा ठूला धेरै साहुजीहरू हुनुहुन्छ। उहाँहरूको बारेमा नलेखि किन हाम्रो बारेमा लेखिदिनु हुन्छ बाबु?’ उनलाई फकाउन आधा घण्टा लाग्यो।

‘हामी मधेसीहरू कमाइ राम्रो भयो भने केही रकम सेवामा लाउँछौं। यो त हाम्रो धर्म हो,’ उनी भनिरहेका थिए, ‘यति सानो काम त हामी सँधै गर्छौं। यसको पनि प्रचार गरेर के गर्नु हुन्छ?’ उनको ‘ना हजुर ना’ को आसय सेवा गरियो त दिलदेखि गरियो, प्रचार किन चाहियो भन्ने खालको थियो।

सुरूमा निकै आनाकानी गरे पनि उनी हामीसँग कुरा गर्न तयार भए। विगत चार वर्षदेखि उनी सिरक, डसनाको व्यापार गरिरहेका छन्। यो व्यापार थालेदेखि उनको कमाइ राम्रो भएको छ। कमाइ राम्रो हुन थालेपछि घरबारबिहिन, सडकमा बस्ने, बोली नफुट्ने, अपांगता भएका मान्छेलाई सामान्य सेवा गरिरहेका छन्।

हरेक वर्ष निकै जाडो भयो भने सडक पेटीमा सुत्नेलाई सीरक र डसना दिन्छन्। ‘जाडो बढ्यो भने उनीहरु काँप्दै आउँछन्। कोही बोलेर माग्छन्, कोही बोल्न सक्दैनन्,’ उनेले सुनाए, ‘उनीहरुको कुरा बुझेर ओड्ने ओछ्याउने दिइ पठाउँछु।’

वर्षमा चार पाँच सय सीरक, डसना बेच्ने उनलाई सात आठ पीस गरिबहरुको सेवाको निम्ती खर्च गर्नु खासै ठूलो लाग्दैन। यति बेला उनी मधेस सम्झन्छन्, ‘मधेसमा रामलिला, दुर्गा पूजा लगायतका ठुलठूला पूजा हुन्छन्। ती पूजामा मधेसका व्यापारीहरुले ठूलो रकम खर्च गर्छन्। यसरी सानै भए पनि सहयोगी भावना उतैबाट पलायो।’

यो देखेका उनलाई लाग्छ मधेसी व्यापारीको रगतमै सेवाभाव मिसिएको छ। उनीहरू दान गर्नुलाई आफ्नो धर्म सम्झिन्छन्। यो सब देखेका र सिकेका उनलाई दूर्गा माता र भगवानको पूजामा गरिने दानले भन्दा बढी सन्तुष्टि असाहय, अपांगहरूको सेवा गर्दा मिल्छ।

सँधैभरी सबैको सेवा गर्ने जिम्मा उनी लिन सक्दैनन्। ठूला निकै दयामाया भएका उद्योगी व्यापारीहरू पनि यसो गर्न सक्दैनन्। यो काम राज्यको हो। राज्य आफूलाई लोक कल्याणकारी भन्छ तर असाहयको साहरा बन्न सक्दैन। राज्यको मुखले बोलेको हो कि, के ले बोलेको अब त नागरिक अलमलमा छन्। जो मुखले बोल्दैन उसको ठेगान हुँदैन। जे होस् कृष्णप्रसाद जस्ता व्यापारीहरुले गरेको सानो सेवाले राज्यलाई गिज्याइरहेको छ।

उनी आफूले गरिरहेको सेवाको बारेमा बोल्दा बेलाबेला हामीलाई मधेसी समुदायमै लैजान्थे। मधेसमा दहेज (दाइजो) निकै ठूलो समस्याको रुपमा चित्रण गरिएको छ। समानताको कोणबाट हेर्दा यो विकराल समस्या हो। आजको समयमा आइपुग्दा पनि यो सुल्झन सकेको छैन।

बेलाबेलामा सत्तामा बस्नेहरुले यसलाई गलत भनेर नबोलेका होइनन्। कारवाही गर्ने चेतावनी नदिएका पनि होइनन्। तर समस्या जहाँको त्यहीँ छ। राज्यले छाउपडी (छुई) प्रथा हाटाउन भनी गरेका गतिविधि र दहेज प्रथालाई रोक्न भनि थालिएका अभियान उस्तै उस्तै हुँदा महिलाहरु पीडित मात्र होइन अनायासै ज्यान गुमाइरहेका छन्।

बिहेमा दहेज नल्याएको निहुँमा सासु, ससुरा, देवर, नन्द, पतिबाट जलाइने र घरमा बस्न नपाएर छाउगोठमा ज्यान गुमाउने महिलाका पीडा उस्तै हुन्। तथापी राज्यले प्रभावकारी रूपमा अभियान चलाउन सकेको छैन। त्यसैले मधेसका केही समुदायमा निम्न आए भएका मान्छेको छोरीको बिहे गराउँदा टोलका मान्छेहरुले गच्छेअनुसारको सहयोग गर्ने र दहेजको व्यवस्था गरिरहेका हुन्छन्।

यसरी चलेको मधेसी समुदायको प्रभावका कारण हिमालमा जाडो हुँदा दुखी र असाहयहरुलाई मधेसी भावनाले न्यानो गरिरहेको हुन्छ। कृष्ण प्रसाद उनीहरुलाई हरेक वर्ष सीरक, डसना दिन्छन्। उनको सहयोगी भावना सीरक र डसना जस्तै न्यानो छ।

बजारको जुगाड खोला, चन्दननाथ मन्दिर अगाडि, कालेखोली लागयत ठाउँमा सात, आठ जना मागेर गुजारा गर्ने बास नभएकाहरु छन्। उनीहरुमध्ये जुगाड खोलामा बस्ने एक जनालाई यही बीचमा दिएको न्यानो डसना त्यसको केही दिनमै कसैले चोरेर लगिदिएछ।

‘ऊ प्लास्टिकका बोरा समातेर आइरहेका थियो। देखेपछि किन ल्याएको भनि सोधे। ओड्ने ओछ्याउने ल्याएको भन्यो। अस्तिको के भयो भनी सोधेको? कसले चोरीदियो रे, अनि फेरि अर्को बाक्लो डसना दिएर पठाए,’ उनले उदेकलाग्दो सहरिया नियत सुनाए।  

उनी यस्ता मान्छेको अवस्था देख्दा साह्रै दया लाग्ने गरेको बताउँछन्। ‘घरबारको व्यवस्था त गर्न सक्दैनौं। आफूसँग जे छ त्यही दिएर सहयोग गर्न सकियो भने उनीहरुलाई केही राहत हुन्छ। मुस्कुराउँछन्। उनीहरुको दुःखी जीवनले थोरै सुखको अनुभूति गर्छ। यस्तो देख्दा बहुत आनन्द लाग्छ बाबु। यहाँको हावा जस्तै मन पनि सितल हुन्छ।’

उनी वीरगन्जको सिरिपुरमा जन्मिएका हुन्। तर अहिले उनको घर, जग्गा भारतको रक्सौलमा छ। उनकी श्रीमती उतै बसेकी छिन्। यता कहिले आउँदिनन्। उनले ल्याउन मन पनि गरेका छैनन्। उनीहरुको संस्कारमा ननुहाइ खान नमिल्ने हुन्छ। ‘ऊ यता आएर जाडोमा नुहाउन थालेपछि बिमारी भइहाल्छ। त्यसपछि डराएर हामीलाई पनि यहाँ नबसौं भन्देला सोचेर नल्याएको,’ उनले भने।

उनी १४ वर्षको उमेरमा घर छोडर हिँडेका हुन्। जुँगाको रेखि नबसेको उमेरमा घर छोडेका उनी काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेमा ठूला साहुबाट थोकमा फलफूल किनेर ठेलामा व्यापार गर्थे। १५ वर्ष अघि कसैले जुम्लामा स्याउ फारम लिजमा लिएर व्यापारमा लाग्न सुझाइदियो। स्याउले नाफा हुन्छ भनि धन कमाउने आशाको मनमहल बनाएर हिँडे। तर जुम्ला पुग्ने वित्तिकै उनको मनमहल भत्कियो। ‘त्यसबेला यहाँका बगैचा छरिएका, एकदम साना थिए। लिजमा लिएर एकीकृत गरी खेती गर्न सम्भव थिएन,’ उनले भने, ‘जुम्लामा अहिले पनि व्यवस्थित रुपमा स्याउ खेती हुन सकेको छैन। इन्डियामा त बहुत राम्रो हुन्छ।’

पैसा कमाउन हिमाल उक्लेका उनको मनमा त्यसबेला चिसो पस्यो। मनमा थुप्रै पटक चिसो पसाएका उनी विचलित भएनन्। हिमाली सिरेटोले गलाएन। बरू फ्रेस बनायो। सम्हालिएर केही गर्न थाले। कहिले नगरेको कवाड उठाउने काममा उनले हात हाले। गाउँगाउँ गएर सोलारको ब्याट्री संकलन गरी इन्डिया पठाउन थाले। ‘लाउलाउँ खाउखाउँ भन्ने जोवन कवाड उठाउँदै गयो, हजुर। कमाइ राम्रै थियो। चार वर्ष अघि गाउँगाउँ डुलेर सीरक, तकिया बनाउनेहरू आएको बेला उनीहरुको काम, मेरो लगानीमा व्यवसाय सुरू गरेको हुँ,’ उनले आफ्नो सीरक पसलको कहानी सुनाए।

उनी अहिले पनि पुराना ब्याट्री संकलन गर्छन्। घर खर्च त्यसैबाट चलाइरहेका छन् भने पसलको कमाइ बचत गर्ने गरेका छन्। कमाइ राम्रै छ। जुम्लादेखि कालिकोटसम्म उनका ग्राहक छन्। उनी होलसेल बेच्दैनन् बरू ग्राहकलाई सय, डेडसय सस्तोमा बेच्छन्। यतिबेला जुम्ला र कालिकोटका क्वारेन्टाइनमा सिरक, डसना पुर्‍याउने काम उनैले गरे।

यसरी उनको सिरक डसनाको व्यापार चलिरहेछ। उनको व्यापार चलेका कारण चिसो हुने हिमाल न्यानो छ। सडकमा रहने घरबारबिहिनको शरीर त्यसभन्दा बढी न्यानो छ। तर मधेसका कृष्ण प्रसाद भने हिमाली हावा खाँदै आनन्दले सितल मन बनाइ बसेका छन्। 

यो पनि हेर्नुहोस्

बाइक एम्बुलेन्स बनाएर बिरामी बोक्ने केटो- हरेक बिरामीमा आमाको अनुहार देख्छु (भिडियो)

 

प्रकाशित मिति: : 2020-07-02 13:29:00

प्रतिकृया दिनुहोस्