पालकीमा वर र मोहरफामा वधु दशगज्जा वारपार गर्थे। आधुनिकतासँगै वैवाहिक अन्तरसम्बन्धको क्रम निरन्तर छ। अपवादबाहेक वैवाहिक सम्बन्धमा धार्मिक, सांस्कृतिक, भेषभूषा र भाषा आदिको आफ्नै महत्व छ। नर र नारी परिणय सुत्रमा बाँधिनु प्राकृतिक नियम हो। आ–आफ्नो धार्मिक आस्था र मान्यता अनुकुल स्वतन्त्र पूर्वक बैवाहिक जीवन जिउनु मानिसको नैसर्गिक अधिकार हो। जसलाई कुनै सिमानाकाले छेक्न ग्राह्रो छ।
पर्साको पकहामैनपुर गाउँपालिका श्यामपुर भेलहाका नन्दकिशोर पाण्डेयको मोबाइलमा घण्टी बज्यो। फोनमा बहिनी ज्वाईँको देहान्त भएको खबर आयो। उनकी बहिनीको विवाह भारतको बिहारमा भएको छ। लकडाउनले सिमानाका शिल छ। पाण्डेय परिवार दागबत्ती दिन जान पाएनन्। समस्त परिवार शोककुल भयो। पोखरियाका उमेश मिश्रको ससुराली सिमापारी छ। उनका सालोको छोरा आकस्मिक दुर्घटनामा परेर अस्पतालमा भर्ना छन् भन्ने खबर आयो। उनकी पत्नी चिन्तामग्न छिन्। पारिवारिक सम्बन्धका यी प्रतिनिधि उदाहरण मात्र हुन्।
उपरोक्त मध्ये कसैले सिंहदरबार वा दिल्लीदरबारमा आफ्नो पीडा पोख्न जाँदैनन्। किनभने यो नितान्त पारिवारिक विषय हो। पीडालाई मनभित्र पचाउनुबाहेक अर्को विकल्प छैन। सीमा वारी र पारी सदियौंदेखि रोटीबेटीको सम्बन्ध निरन्तर छ। मधेशको संस्कृति अनुसार विवाहको लागि जात, धर्म, गोत्र, कुरी, देउता लगायतको प्रकृया मेल खानु आवश्यक मानिन्छ। समान जातधर्मका मानिसको दुबैतर्फ बाहुल्यता छ र बैवाहिक परम्पराको यो प्रमुख कारण पनि हो।
लगभग सिमापारी १० छोरीको विवाह हुँदा यता एउटी बुहारी आउँछिन्। सिमा वारीपारीका आफन्तहरुको जमघटमा हुँदा प्रायः उपभोग्य सामाग्रीको दरभाउ बिचको अन्तर जान्ने बुझ्ने गरेको पाइन्छ। गैस सिलिण्डर, विद्युत महसुल, खाद्यान्न, कपडा, सवारी साधन आदिको दरअन्तर सुनेर आफन्तहरु आश्चर्य मान्छन्। यता एउटा प्रावि शिक्षकले सरदर २८ हजार तलब खाइरहेको बेला सिमा पारी झण्डै दोब्बर भन्दा बेसी छ। यसकारण पनि यताको छोरी सिमापारी बिहे गर्ने आकर्षण बढी छ।
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धी व्यापक बहस शुरु भएको छ। यसका विभिन्न आयामसँग सम्बन्धित विषयहरूमा आ–आफ्नै तर्कहरू पस्किने क्रम जारी छ। विवेकानुसार व्याख्याहरू भइरहेका छन्। बैचारिक तर्क कसरी उत्पन्न हुन्छन् ? कसैले खुदको भोगाई विचार मार्फत प्रस्तुत गर्दछन्। कसैले अरुबाट सुनेर व्यक्त गर्दछन्। अर्को तप्का पनि छ जो भोग्ने र सुन्नेको विचारको समिश्रण प्रकट गर्दछन्। अनुमानको भरमा विचार ब्यक्त गर्छन्। हालका दिनहरूमा आफूले मन पराएका पात्र वा समुदायको सोचलाई मलजल गर्ने प्रचलन बढ्दै गएको छ। वास्तविकतासँग सरोकार राख्ने शुन्य प्रयास पनि गरिँदैन। मानिस कसैप्रति घृणाभाव राख्छ भने उसको सोचाई मस्तिष्कमा प्रसारित हुन्छ र उसको मनमस्तिष्कले सोही अनुरुप प्रतिकृया प्रवाह गर्छ।
भाषा, धर्म, सस्कृति, हावापानी र भूगोल लगायतका समान विविधताले नेपाल–भारतका नागरिकबीच चेलीबेटी आदान प्रदान गर्ने चलन सदियौंदेखि स्थापित छ। नेपाल–भारत बिच वैवाहिक परिणयमा श्रीरामचन्द्र–जानकीमाता देखि राजा–रजौटा र मजदुरसम्म बाँधिएको इतिहास छ। एक समय सबै किसिमका व्यपारीक कारोबार तिब्बतसँग हुन्थ्यो। समान भाषा–संस्कृति र जातभात मिल्ने भएकोले भोट–तिब्बत अन्तर्गत सिमान्चल क्षेत्रका नागरिकबिच बैवाहिक र पारिवारिक सम्बन्ध थियो। चीनमा तिब्बतको कथित विलयपछि तिब्बतस“ग स्वतन्त्र व्यापारको सम्भावना सकियो। बिस्तारै भातरतर्फको ढोका उघ्रिन थाल्यो । त्यसपछि नै तराई–मधेस काठमाडौंसँग गाँसिएको हो।
सुगौली सन्धिमा नेपालले आफ्नो अधिनस्थ भूमिको २ तिहाई भू–भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ मा भएको थियो। नेपाल–भारतलाई सिमानाकाले छुट्टयाईदिए पनि धर्म–संस्कृति, भाषा र पारिवारिक सम्बन्धलाई छुट्टायउन सकेन। पारिवारिक र बैवाहिक सम्बन्ध निरन्तर छ।
प्रायः जसो नेपालीहरुको वैवाहिक सम्बन्ध भारतको बिहार, यूपी, उत्तराखण्ड, दार्जिलिङ, आसाम लगायतका स्थानहरुमा प्रचलनमा छ। तथपि सिमांचलका केहि भागलाई लक्षित गरेर उत्पादन गरिएका व्याख्याहरु तर्क सं·त छैनन्। सिमाञ्चल भनेको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म हो। यत्रो लामो सिमामा मदेश मात्र पर्दैन। सिमा वारिपारि जुन ठाउँमा जुन समुदायको बसोबास छ उनीहरु बिच बैवाहिक र परिवारि नाता सम्बन्ध सदियौंदेखि छ। अन्धदृष्टिमा कुनै एक समुदायलाई लक्षित गरि प्रोपगाण्डायुक्त मनोदशा प्रचारित गर्नु संकिर्ण मनस्थितिको उपज हो।
अपवाद वाहेक मधेशको परम्परा अनुसार यहाँ जातभात अनुसार वैवाहिक सम्बन्ध हुने गरेको पाइन्छ। यो मधेशको संस्कृति हो। जातभात खोज्दै वारिपारि जाने आउने प्रचलन सिंहदरबार र दिल्ली दरबारले स्थापित गरेको प्रचलन होइन। नेपाली चेलीबेटी बैवाहिक शुत्रमा बाँधिएर सिमापारी जानु र सिमापारीबाट बुहारी नेपाल भित्रिनु अलौकिक सम्बन्ध र संस्कृति हो भन्ने बुझ्नु र बुझाउनु आवश्क छ। द्वीदेशीय वैवाहिक संस्कार, संस्कृति र परम्परालाई दश गज्जाले कहिल्यै छेकेन। अपवादबाहेक जीवन सम्बन्धको मामिलामा भाषा, संस्कृति, रहन–सहन,भेषभूसा र खानपान लगाएतको विविधतालाई अभूतपूर्व मानिन्छ। यसकारण पनि सिमा वारि र पारी बिहेवारी गर्ने प्रचलनले निरन्तरता पाएको हो।
मदेश की चेली विवाह गरेर सीमापारी जानेको संख्या बढी छ। पारीबाट मधेश भित्रिने बुहारीको संख्या तुलनात्मक रुपमा निकै कम छ। पारीबाट आउने बुहारी उताको नागरिकता परित्याग गरी यताको नागरिकता हासिल गर्नको लागि आउने होइन। यताको छोरी पनि घरबार र नागरिकता परित्याग गरेर उता नागरिकता हासिल गर्नको लागि विवाह गरेर गएकी हुँदैनन्। बिहे माटोको खेल होइन। बिहे त जीवनको सबभन्दा अभूतपूर्व र महत्वपूर्ण सम्बन्ध हो। आफू जन्मेको देश, आमा बुवा र घरपरिवार परित्याग गरि नयाँ परिवेशमा प्रवेश गरी सोहिलाई आजीवन संसार स्वीकार गर्ने महिलाको आत्मबल अतुलनीय छ। ठेकुवा र केसार लिएर पारीबाट नेपाल भित्रिएकी यस्ता धेरै महिला छन् जो आज पनि नागरिता बिहिन छन्। बिहे भएर आएदेखि पेट पाल्नको लागि मजदुरी आदिको कार्य गरि जिविकोपार्जन गरिरहेका छन्। आफूसँग खेतबारी छैन। नोकरी गर्न सर्टिफिकेट छैन। नागरिकताको आवश्यकता महसुस भएन र लिएका छैनन्।
सिंहदरबारले आकाशतीर हेरेर भूईँमान्छेको भावनासँग लयबद्ध हुन सम्भव छैन। आफ्नो जन्मदेश परित्याग गरेर नयाँदेश र परिवेशमा पाइला टेकेकी महिलाप्रति विभेदजन्य मानसिकता हुनुभएन। यो संस्कृतिजन्य सद्भावमा उत्साह थप्ने काम अपेक्षित छ। एकअर्को देशबीचको ऐतिहासिक र परम्परागत समबन्धलाई थप उत्साहित गर्नुपर्दछ। प्रमुख उत्तरदायित्वबाट पन्छिन एक विषेश समुदाय माथि मनोवैज्ञानिक प्रहार गर्ने कुलसित संस्कार नितिनिर्माताबाट अपेक्षित छैन।
पहाडको चुचुरोबाट वास्तविकता अनुभूति गर्न सम्भव छैन। गहिरोसँग बुझ्न धरातलीय भोगाईको आवश्यकता पर्छ। सिमाञ्चलका ऐतिहासिक सम्बन्धका विषयमा दुबै देशका राजधानीहरु अबुझ पनि छैनन् र बुझेका पनि छैनन्। आ–आफ्नै फाइदाजनक राजनीतिको गुणाभाग अनुसार कदम उठाऊँछन्। दुबै देशका कानूनी मूल्य मान्यता आफ्नै ठाउँमा छन्। त्यसमा कसैको कुनै बिमति छैन। तर मानवीय मूल्य मान्यताको सरोकारमा वर्गीय असन्तुलन निम्याउने काम नहोस्।