विप्लवका दाजु अदालत परिसरबाटै पुन: पक्राउ, अर्को मुद्दा चलाउन काभ्रे ल्याइयाे

नेत्रविक्रम चन्द 'विप्लव'का दाजु चन्द्रबहादुर चन्दलाई प्रहरीले घोराहीस्थित जिल्ला अदालत परिसरबाटै पुन: पक्राउ गरेको छ। धरौटी बुझाएर अदालतबाट निस्कँदै गर्दा उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले गत असोज ३० मा दाङको राजपुर गाउँपालिका ४ मगराइनास्थित जंगलमा बैठकस्थल नियन्त्रणमा लिई मध्यपश्चिम कमाण्ड इन्चार्ज रहेका चन्दसहित २१ नेताहरुलाई पक्राउ गरेको थियो। 

स्थानीय ज्ञानेन्द्रविक्रम रानाको घरमा मध्य कमाण्डको बैठक बसेर सुतिरहेको बेला राति १ बजे प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो। उनीहरुविरुद्ध प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो।

तर अदालतले गत पुस ७ मा चन्दसहित प्रतिबन्धित नेकपाका २१ नेताहरुलाई प्रतिव्यक्ति १५ हजार धरौटी बुझाएर छोड्न आदेश दिएको थियो। 

त्यतिबेला अदालतबाहिर व्यापक प्रहरी तैनाथ गरिएकाले फेरि पक्राउ पर्ने आशंकाले उनीहरु धरौटी नबुझाएर कारागार गएका थिए। सोमबार धरौटी बुझाएर अदालतले छोडेपछि उनलाई पुन: पक्राउ गरी अर्को मुद्दा चलाउन काभ्रे जिल्ला लगिएको छ। 

अदालत परिसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै चन्दले सरकारले आफैले बनाएका नियम कानुन मिचिरहेको बताए। उनले भने,‘हामीलाई पटक-पटक पक्राउ गरेर अनावश्यक दु:ख दिन खोजिएको छ । यसबाट हामी विचलित भएका छैनौं।’

प्रकाशित मिति: : 2020-06-29 19:27:49

प्रतिकृया दिनुहोस्