सिकाइलाई दिगो र व्यावहारिक बनाउनुपर्छ। सिकाइ जन्मदेखि नमरुन्जेल चलिरहने प्रक्रिया हो। तसर्थ ज्ञान र सीप बढाउन पेशागत गोष्ठी, तालीम, अध्ययन भ्रमण प्रभावकारी माध्यम हुन्।
मैले जीवनका तीन दशक अमूल्य समय शिक्षण पेशामा बिताइसकेको छु। म पढाइभन्दा सिकाइलाई महत्व दिन्छु। सिकाइले नै मान्छेलाई सिर्जनशील बनाउँछ। उत्सुकता, अन्वेषण, गरेर सिक्ने, परियोजनामा आधारित सिकाइ, समूह कार्य, लगायत अन्य नवीनतम विधिको ज्ञान सिकाइबाटै मिल्छ।
त्यसैले म नवीनतम सिकाइका विधि, सूचनाप्रविधि र पेशागत दक्षता बढाउने तालीम तथा गोष्ठीमा सक्रिय सहभागी बन्छु। यसै सिलसिलामा म दक्षिण कोरियामा २०६७ सालमा ‘एकाइसौँ शताब्दीको नेतृत्व’ सम्बन्धी एक हप्ते तालीममा सहभागी भएँ। पुनः २०७० मा छात्रवृत्ति पाएर कोरियास्थित युगनाम विश्वविद्यालय पार्क चुङ हि स्कुल अफ पोलिसी एन्ड सेमुइलमा ‘सामुदायिक नीति नेतृत्व र आर्थिक विकास’मा स्नातकोत्तर पढ्ने मौका पाएको थिएँ। फेरि २०७३ सालमा हाम्रो ताङतिङको सामुदायिक विकास र सांस्कृतिक अभ्यासबारे नमस्ते कोरियाको निमन्त्रणामा कोरियामा प्रस्तुतीकरण गर्ने अवसर मिलेको थियो।
म कास्की जिल्ला, मादी गाउँपालिका–२ ताङतिङको हिमालय मिलन माध्यमिक विद्यालयमा पढाउँछु। विद्यालय र गाउँमा सूचना, संचारप्रविधि उपयोग गर्दै सिकाइलाई स्थानीय तहदेखि शहर हुँदै विश्वलाई जोड्ने अभियानमा निरन्तर लागेको छु।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ कात्तिक ११ देखि १९ गतेसम्म सञ्चार र प्रविधिलाई शिक्षण तथा सिकाइमा प्रयोगसम्बन्धी एक हप्ते तालीममा मलाई कोरिया पठायो। त्यहाँको उल्सान महानगरपालिका, शिक्षा विभागको आयोजनामा भएको तालीममा हाम्रो शिक्षा विभागका तीन जना शाखा अधिकृतसहित नेपालका शिक्षक गरी हामी जम्मा २० जना थियौं।
हामी कात्तिक ११ गते कोरिया एयरलाइन्स चढेर बिहान ८:२० बजे काठमाडौंबाट प्रस्थान गर्यौ। उल्सानमा हामीलाई महानगरपालिकाको शैक्षिक तालीम केन्द्रमा आवास सुविधासहित राखियो। केन्द्र ज्यादै व्यवस्थित थियो। हरेक कोठामा ग्याँस चुलो, हिटर र आवश्यक सबै सामान। सुन्दर भवनको कोठा ज्यादै सफा थियो। खाना भने फरकफरक रेष्टुराँमा परम्परागत कोरियाली र अन्य खानेकुरा खुवाइयो।
हामी कोरिया पुगेका दिनमा नगरपालिका, त्यहाँको शिक्षा विभाग र हामी सहभागीबीच छोटो शुभकामना मन्तव्यसहित कार्यक्रम उद्घाटन गरियो। लामो परिचय सहितका पट्टयारलाग्दो आसन ग्रहणका कार्यक्रम केही भएनन्। कोरियाली नागरिक परिश्रमी र लगनशील हुन्छन्। थोरै बोल्छन् तर काममा विश्वास गर्छन्।
कुनै बेला कोरिया पनि गरीब देशमा गनिन्थ्यो। सन् १९६३ देखि १९७९ सम्म तत्कालीन राष्ट्रपति पार्क चु हिको कुशल नेतृत्वमा स्यामउल उन्दुङ अभियान (नयाँ गाउँ अभियान) बाट कोरियाले काँचुली फेर्यो। स्यामउल उन्दुङ भनेको कडा परिश्रम गर्ने, आफ्नो काम आफैं गर्ने, अरूलाई सहयोग गर्ने अभियान। अर्थात् यो एउटा विकासको कोरियाली मोडल हो।
आज कोरियामा आर्थिक विकास तीव्र गतिमा भएको छ। त्यसैले यही अभियानअन्तर्गत विकासोन्मुख देशलाई उसले सहयोग गरिरहेको छ। नेपालमा सूचनाप्रविधि र इन्टरनेटका माध्यमबाट कसरी शैक्षिक सुधार ल्याउन सकिन्छ भनेर उसले हामीलाई निम्त्याएको थियो।
हामीलाई कङदङ प्राथमिक विद्यालयमा लगियो। जुन विद्यालय ज्यादै सुविधा सम्पन्न पाइयो। स्रोत र साधनको पर्याप्तता, सिकाइमा स्रोत साधनको अधिकतम प्रयोग, आफैं गरेर सिक्ने विद्यालय, शिक्षक चौबिसदेखि तीस वर्ष उमेरका। सिकाइमा उत्सुकता, मिहिनेती, राम्रो टिम वर्क, व्यवस्थित इनडोर र आउटडोर खेलकुद ग्राउण्ड, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र खेलकुदका सामान थियो।
हामी जाँदा विद्यार्थी कम्प्युटर ल्याबमा रोबोट र कम्प्युटरका विभिन्न प्रोग्राम बनाइरहेका थिए। ती ससाना बाबुनानीले हामीलाई रोबोट चलाउन सिकाए। विभिन्न कम्प्युटरका कार्यक्रम देखाए। सञ्चारप्रविधिलाई कक्षाकोठा तथा सिकाइमा कसरी प्रयोग गरिन्छ भन्ने नमूना बुझाए।
हामीलाई मन्टेश्वरी कक्षा, विज्ञान, गणित, भाषाको पढाइ भइरहेका कक्षा अवलोकन गर्ने अवसर दिइयो। शिक्षकले पर्याप्त शैक्षिक सामाग्री प्रयोग गरेर पावर पोइन्ट र इबोर्डबाट अन्तक्र्रियात्मक रूपमा पढाइरहेका पाइयो। तिनको अनुहारमा चमक, उत्सुकता, मेहनत, जागरुकपन देखिन्थ्यो। विद्यार्थी सक्रिय भएर समूहगत छलफल गर्थे। उनीहरू आफैं गरेर सिक्ने सिर्जनशील थिए।
पुस्तकालयमा विद्यार्थी तथा शिक्षकको गहन अध्ययन, विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्यमा व्यस्त, कक्षामा शिक्षक–विद्यार्थीको गहिरो अन्तरक्रिया हुँदो रहेछ। संगीत कक्षामा पर्याप्त बाजागाजा थिए। हामीलाई त्यहाँका शिक्षकले इन्डोर ग्राउण्डमा विभिन्न समूहमा खेल्ने कोरियाका खेल सिकाए। ती खेल मनोरञ्जनका साथै सामूहिक उद्देश्य प्राप्तिका लागि प्रभावकारी पायौं।
अर्को दिन हामीलाई उल्सान महानगरपालिकाको शिक्षा शाखामा अध्ययन गराइयो। हाम्रो देशका जुनुसकै शिक्षा कार्यालयमा खाली शिक्षकको अभिलेख राख्ने, तलबभत्ता खुवाउने, विद्यालय सञ्चालन गर्न स्रोत साधनका लागि सिफारिस गर्ने वा सहयोग उपलब्ध गराउने र अनुगमन गर्ने लगायतका काम मात्र गरिन्छ।
दक्षिण कोरियामा हाम्रोभन्दा फरक रहेछ। त्यहाँको शिक्षा कार्यालयमा सूचनाप्रविधिको ठूलो स्रोत केन्द्र हुँदोरहेछ। आइसिटीको छुट्टै शाखा छ। नगरका विद्यालयमा इन्टरनेट र शैक्षिक सामाग्री उपलब्ध गराउने दायित्व शिक्षा शाखाले गर्दो रहेछ। पावरफुल स्पिड भएको इन्टरनेट सुविधा त्यही शाखाले विद्यालयलाई उपलब्ध गराउँदो रहेछ। विद्यालयहरूले शिक्षणमा इन्टरनेट र प्रविधिको कसरी प्रयोग गरेका छन् भन्ने पनि उसैले अनुगमन गर्दो रहेछ।
शिक्षा शाखामै विज्ञान प्रयोगशाला छ। नगरका विद्यालयमा विज्ञान पढ्ने विद्यार्थीलाई त्यही विज्ञान अनुसन्धान केन्द्रमा अभिभावकसहित अध्ययन भ्रमण गराउने परम्परा छ। त्यस्तै शिक्षा शाखामा ठूलो कोठाभित्र सौर्य परिवारबारे जानकारी दिइन्छ।
समग्रमा भन्नुपर्दा महानगरपालिकाले शिक्षण सुधारमा प्रशासनिक, शैक्षिक व्यवस्थापनबाहेक सूचना, सञ्चार, आधुनिक प्रविधि, विज्ञान, अन्वेषण, अनुसन्धानमा धेरै लगानी गरेको रहेछ। त्यसबाट हाम्रो देशले पनि सिक्नुपर्छ।
हामीले कोरियाली शिक्षा र अनुसन्धान सूचना सेवा (केरिस)को पनि अवलोकन गर्यौं। यस संस्थाले कोरियाको प्राथमिक तहदेखि विश्वविद्यालयसम्म सूचनाप्रविधि प्रयोग गरी शिक्षण सिकाइ सुधारका लागि प्राज्ञिक अध्ययन तथा अनुसन्धानका साथै परियोजना सञ्चालन गरिरहेका छन्।
त्यस अनुसन्धान केन्द्रमा कोरियाको भविष्यको शैक्षिक संरचना सिकाइ सुधार गर्न नविनतम प्रविधिको प्रयोगशाला, अनुसन्धान, सिर्जनशील सहकार्य, अनुभव आदानप्रदान गर्ने सबै ठाउँ समेटिएको डिजिटल बोर्ड राखिएको छ।
यसबाट हामीले बुझ्नुपर्ने कुरा कोरिया सरकारले शिक्षा सुधारमा ठूलो धनराशि र स्रोत साधन परिचालन गरेको छ। यसै कारण कोरियाको शैक्षिकस्तर विश्वमै अगाडि छ।
यसरी तालीमको सिलसिलामा महानगरपालिका, शिक्षा विभाग र अन्य स्रोत व्यक्तिले हामीलाई कक्षा कोठामा प्रभावकारी शिक्षण गर्न सूचनाप्रविधि उपयोग गर्न सिकाए। शैक्षिक योजना तर्जुमा र समय व्यवस्थापनबारे बताए। हामीले मौजुदा स्रोतसाधनको ख्याल गर्दै कसरी आधुनिक शिक्षण विधि अपनाउन सक्छौं? कसरी शिक्षण सामाग्री जोहो गर्न सक्छौं? र शिक्षक तथा विद्यार्थीमा उत्सुकता कसरी बढाउने? अनुसन्धान, सामूहिक छलफल र सिर्जनशीलताबाट परम्परागत सिकाइलाई कसरी सुधार्ने? हामीले यी प्रश्नको जवाफ पायौं ।
कक्षामा डिजिटल कार्यक्रम बनाउने सीप, इन्टरनेटमा शैक्षिक सामाग्री खोजेर प्रदर्शन गर्ने विधि, ट्राभल ब्रोसर बनाउने तरीका, युट्युव सामाग्री उत्पादन गर्ने कला लगायतका कुरा सिक्यौं।
प्रयोगात्मक शिक्षामा शिक्षक र विद्यार्थी दुवै रमाउँछन्। पहिलापहिला कोरियाको शिक्षा पनि घोकन्ते र सैद्धान्तिक रहेछ। पछिल्लो समय मात्र उनीहरू सिर्जनात्मक बनेका रहेछन्।
त्यहाँ हामीले सुपर कम्प्युटरबारे पनि थाहा पायौं। यस्तो कम्प्युटर महिना दिन चलाउन अरबौं रुपैयाँ खर्च हुँदो रहेछ। यसबाट शिक्षाको संरचना बनाउन सकिन्छ। कोरियामा तीन वटा सुपर कम्प्युटर रहेको जानकारी प्रशिक्षक जङ सेवङ हाबाट थाहा पायौं। अमेरिका र चीनले सुपर कम्प्युटर बनाएका रहेछन्। अरू कम्प्युटरले चालिस वर्षमा गर्ने काम सुपर कम्प्युटरले चार सेकेण्डमै बनाउँदो रहेछ! फ्रान्समा विनाशिक्षक संचालित विद्यालय ‘ला पिस्ने इकोले ४२’ बारे पनि बताए जहाँबाट दिक्षित विद्यार्थीले संसारका प्रतिष्ठित संघसंस्था वा विश्वविद्यालयमा सजिलै काम पाउँछन् रे!
यसरी अन्य शैक्षिक अनुसन्धान गर्ने संस्था र शिक्षाविद्सँग हामीले साक्षात्कार गर्यौं।
अन्त्यमा, उल्सान महानगरपालिकामा अवस्थित सांस्कृतिक ग्राम, पार्क, गुम्बा, ऐतिहासिक ठाउँ र समुन्द्र पनि घुमफिर गर्यौं। अनि आफ्नो कर्म क्षेत्र सम्झँदै आफूले सिकेका सीप र बुझेको ज्ञान उपयोग गर्ने प्रतिबद्धतासहित हामी २०७६ साल कात्तिक १९ मा मातृभूमि फर्कियौं।
(हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश।)