घरघरै फलफुल रोपिँदै

रासस

महोत्तरी

महोत्तरीका गाउँ÷नगर बस्तीमा एक साताभित्रै २५ हजार फलफूलका बिरुवा रोपिएका छन्। 

गरिब किसानलाई लक्षित गरी डिभिजन वन कार्यालय महोत्तरीले उपलब्ध गराएका २५ हजार फलफुलका बिरुवा यही असार दोस्रो साताभित्रै रोपिएका हुन्। जिल्लामा फलफुलका बिरुवा व्यापक बढाउन कार्यालयले असार दोस्रो साताको प्रारम्भमै निःशुल्क बिरुवा वितरण थालेको हो। 

महोत्तरीमा ‘घरघरै फल फलाऔँ, फलमा आत्मनिर्भर बनौँ’ अभियान थालिएको छ। यस अभियानअन्तर्गत पहिलो चरणमा यो साता २५ हजार बिरुवा रोपिएको कार्यालयले जनाएको छ। थोरै जग्गा हुनेको करेसामा पनि कम से कम एउटा फलफुलको बिरुवा हुर्काउन अभिप्रेरित गरिँदै गरिब किसानलाई लक्षित गरी वितरण गरी रोपिएका हुन्। रोपिएका बिरुवामा आम्रपाली, बम्बई, दसहरि, मालदह र कलकतिया जातका आँप, अम्बा, लिची, कागती, अनार, मेवा, कटहर (रूखकटहर), अमला र बडहर जातिका फल रहेका डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए।

फलफुलका बिरुवा जिल्लाका माईस्थान (बर्दिवास), लक्ष्मीनियाँ (गौशाला), बेलगाछी खाल्टेबजार, थारूटोलबनरा (भङ्गाहा) र जलेश्वर केन्द्र बनाएर वितरण गरिएको थियो। सर्वसाधारणलाई फलफुल रोप्न, हुर्काउन र फलाउन अभिप्रेरित गरिने यस अभियानमा फलफुल बिरुवा दिइएका किसानलाई फलफुल खेतीबारे परामर्श सेवा र नियमित अनुगमन गरिने डिभिजन प्रमुख साहको भनाइ छ।

जिल्लामा यसपटक फलफुलसँगै काठ र घाँस आपूर्ति सहज बनाउन टिक, जामुन, टाँकी, बकाइनो र शिरिषका नौ लाख बिरुवा तयार गरिएका छन्। जारी असार महिनाभित्रै सर्वसाधारणको मागअनुसार यी बिरुवा वितरण र रोपण जारी रहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-27 18:36:29

प्रतिकृया दिनुहोस्