दुई करोडभन्दा बढी अमेरिकीमा कोरोना संक्रमण हुने आशंका

अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुने आशंका गरिएको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका गरेको हो।

सीडीसीका अनुसार यस महामारीको चपेटामा धेरैजसो युवाहरु पर्ने छन्। यद्यपि यसको फाइदा के हुनेछ भने युवाहरुको रोग प्रतिरोधक क्षमता बढी हुने भएकाले मृत्यु दरमा कमी आउने छ।

सीडीसीको संक्रामक रोग विशेषज्ञ डा. जोय बटलरका अनुसार युवाहरु बढी संक्रमित हुनुको कारण उनीहरुले प्रौढहरुले भन्दा कम सुरक्षाका उपाय अपनाउनु हो।

अमेरिकी सिडिसीले युवामा यसबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्नेबारे विचार गरिरहेको  जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडहोनम ग्याब्रिएसियोसले आउँदो सातासम्म विश्वमा कोरोनाको १ करोडभन्दा बढी संक्रमित देखिने बताएका छन्। 

‘पछिल्लो डेटाहरूको अध्ययन गर्दा आउँदो साता संक्रमितको संख्या १ करोड माथि पुग्ने सम्भावना छ,’ उनले भने।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितहरुको संख्या २४ लाख ५२ हजार बढी छ। यस्तै मृत्यु हुनेहरुको संख्या १ लाख २५ हजारभन्दा बढी पुगेको छ।

प्रकाशित मिति: : 2020-06-26 07:08:45

प्रतिकृया दिनुहोस्