बिहीबार थप ४३४ जनामा कोरोना पुष्टि, ११ हजार संक्रमित नाघे, थप दुई जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा ४३४  संक्रमित थपिएका हुन्। आज संक्रमित मध्ये ३८६ पुरुष र ४८ महिला छन्। हालसम्म रसुवाबाहेक देशका ७६ जिल्लामा संक्रमण भेटिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ। कुल संक्रमितमध्ये पुरुष १० हजार २० र महिला ११ सय ४२ छन् ।

त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ३१२ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार ६ सय ५० जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ।

असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियु कक्षमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो। 

निमोनिया र मधुमेह रोगबाट पीडित पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

त्यस्तै, बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका चितवनका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।

डा. गौतमका अनुसार विगत २४ घण्टामा ६,५४३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

प्रकाशित मिति: : 2020-06-25 16:26:20

प्रतिकृया दिनुहोस्