बेलायतमा मानिसमाथि कोरोना भ्याक्सिन परीक्षणको तयारी

बेलायतमा कोरोना भाइरसलाई निस्क्रिय पार्न भ्याक्सिन मानिसहरुमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ। 

बेलायतकाे राजधानी लण्डनमा रहेकाे इन्पेरियल कलेजमा स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन्। 

इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन्। जसमा ३ सय मानिसमाथि यो ट्रायल गरिने छ।

यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल रहेको बताइएकाे छ।  प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानवीय परीक्षण सुरु भएको हो।याे भ्याक्सिनले रोग प्रतिरोधी क्षमतालाई बढाउने विश्वास गरिएकाे छ। 

पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण आउँदो अक्टोबरमा सुरु हुनेछ। दोस्रो चरणको परीक्षणमा ६ हजार मानिस सहभागी हुने छन्।

अक्सफाोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भएको थियो। सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ।

इम्पेरियल कलेजका वैज्ञानिकहरुले अहिले परीक्षणमा रहेको खोप आउँदो वर्ष (सन् २०२१) को सुरुमा बेलायत तथा विश्वका अरु देशमा पनि वितरण गर्न सकिने बताएका छन्।

हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँदैछ। तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ। ती पनि बिभिन्न चरणमा परीक्षणकाे क्रमममा रहेका छन्। 

यी १३ स्थानमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायतमा छ। जबकी अष्ट्रेलिया, रुस र जर्मनीको एक/एक स्थानमा ट्रायल चलिरहेको छ।

प्रकाशित मिति: : 2020-06-25 06:38:03

प्रतिकृया दिनुहोस्