कुटनीतिक संवादले पनि कम भएन भारत–चीनको सीमा विवाद

भारत र चीनबीच सीमा विवादलाई लिएर भएको तीन चरणको सैन्य वार्ता तथा बुधबार भएको विदेश मन्त्रीस्तरीय कुटनीतिक वार्ताले पनि तनाव कम गर्न मद्दत गरेन।

अन्तर्राष्ट्रिय न्यूज एजेन्सी एएफपीले बताएअनुसार जुन १५ मा झगडा भएको पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेना पूर्णरूपमा हटेका छैनन्। तीन चरणको कमाण्डरस्तरीय वार्तापछि दुबै देशका सेनाहरू पुरानो पोजिशनमा फर्किन राजी भएको बताइएको थियो। 

तर, भारतीय सेनाको श्रोतलाई उधृत गर्दै एएफपीले चिनियाँ सेना अझै गलवान उपत्यकाको वरिपरि रहेको बताएको छ। भारतीय सेनाले जुन १५ मा जुन पेट्रोलिङ प्वाइन्ट–१४ बाट चिनियाँ सेनाको टेन्ट हटाएका थिए, त्यही ठाउँमा पुरानै ढाचा पुनः देखिएको छ। 

भारतीय वायुसेनाले अबेरसम्म फाइटर जेटबाट त्यो क्षेत्रको जानकारी लिएको बताइएको छ। चिनियाँ सेनासँगको झडपमा २० भारतीय सेनाको निधन भएपछि भारतले अहिले त्यो स्थानमा सेनाको बन्दोबस्ती बढाएको छ। 

लेहका स्थानीय नागरिकले बाटोमा सेनाको ट्रकको लामो लाइन देखिएको बताएका छन्। भारतीय सेनाका अधिकारीले पनि यसको पुष्टी गरेका छन्। 

भारतीय न्युज एजेन्सी एएनआईले पूर्वी लद्दाखमा चीनले लगातार पूर्वाधार निर्माण गरिरहेको र सेनाको उपस्थिति पनि बढाइरहेको बताएको छ। चिनियाँ सेना पेगोङ झील, जसलाई फिङ्गर क्षेत्र पनि भनिन्छ, त्यो ठाउँमा निर्माण कार्यलाई तिब्रता दिइरहेको बताइएको छ। यो क्षेत्रमा चीनले ४ मेदेखि नै निर्माणको काम सुरु गरेको थियो। यो स्थानमा हाल १० हजारभन्दा बढी चिनियाँ सेना तैनाथ छन्।

प्रकाशित मिति: : 2020-06-24 23:14:04

प्रतिकृया दिनुहोस्