रूकुम पूर्वको भूमे गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ५१ करोड २६ लाख ८४ हजार ८ सय रकम बराबरको बजेट प्रस्तुत गरेको छ।
बुधबार गाउँपालिकाले सार्वजनिक गरेको कुल विनियोजनमध्ये चालुतर्फ ३० करोड ६८ लाख ४१ हजार अर्थात ५९ दशमलव ८५ प्रतिशत र पूँजीगत तर्फ २० करोड ५८ लाख ३३ हजार आठ सय अर्थात ४० दशमलव १४ प्रतिशत रहेको छ।
पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेका कृषि, जलविद्युत्, पर्यटन र शिक्षासहित स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको छ।
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजश्वबाट ४६ लाख ३० हजार, राजस्व बाँडफाँड बाट ८ करोड ४ लाख ७
हजार तथा गत वर्षको अनुमानित मौज्दात ६ करोड गरी आन्तरिक आयबाट जम्मा १४ करोड ५० लाख ३७ हजार अर्थात २८ दशमलव २८ प्रतिशत, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५६ लाख एक हजार अर्थात् २२ दशमलव ५४ प्रतिशत, सःशर्त अनुदानबाट १९ करोड १४ लाख ५० हजार अर्थात् ३७ दशमलव ३४ प्रतिशत र स्थानीय जनसहभागिताबाट ५० लाख ३६ हजार आठ सय अर्थात् शून्य दश ९८ प्रतिशत स्रोत व्यहोरिने पालिकाले नाएको छ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड तथा आन्तरिक आय परिचालन गर्दा पनि नपुग हुने रकम ५० लाख आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ।
पालिकाले आर्थिक वर्ष २०७७।०७८ को बजेटका प्राथमिकताहरुमा स्वास्थ्य क्षेत्रको स्तरोन्नति र विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई लगायतका क्षेत्र छन्।
त्यस्तै कृषि, पर्यटन, उद्योग तथा भौतिक तथा मानव संशाधनको क्षेत्रमा जोड दिएको छ। कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकरणका साथै घरेलु तथा साना उद्योग प्रवर्द्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि र बजारीकरणमा जोड दिएको छ। पर्यटन पूर्वाधारको विकास तथा प्रवर्द्धन, जलविद्युत उत्पादन, उद्योग स्थापना लगायतका क्षेत्रमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानि आकर्षण तथा रोजगारी प्रवर्द्धनमा पनि यस आर्थिक वर्षको बजेटमा राखिएको छ ।
विपद् व्यवस्थापन, वन तथा भू–संरक्षण, जलवायु परिवर्तन अनुकूलनमा पनि बजेट छुट्टाएको छ।
त्यसैगरी संस्थागत विकास तथा शासकीय सुधारमार्फत विधिको शासन, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता र विकासमा नागरिकको जनसहभागिता सहितको सुशासनमा जोड दिएको छ ।
बजेटको पूर्ण पाठ