दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित थप सामग्री

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् ।

देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल ३ हजार ५ सय ८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।  

इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको ३ हजार ३ सय शैयाको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

सङ्क्रमित भएका स्वास्थ्यकर्मीमध्ये १ हजार ९ सय ९३ जना भने सङ्क्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको पनि स्वास्थ्य मन्त्रीले जानकारी दिए । पछिल्लो विवरण अनुसार देशभरी १ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने १ हजार ९सय ९१ जनाको मृत्यु भएको छ । 

सङ्क्रमित हुने र मृत्यु हुनेहरुको संख्या बढ्दै गइरहेकाले सङ्क्रमितको उपचारमा अझ धेरै स्वास्थ्यकर्मीहरुको आवश्यकता रहेको स्वास्थ्य मन्त्रीको भनाई छ ।  

आवश्यकता पूर्तिका लागि सरकारले नयाँ स्वास्थ्यकर्मीलाई सरकारी सेवामा लगाउने प्रयास एकातर्फ गरिरहेका छ भने अर्कोतर्फ हालै अवकासप्राप्त स्वास्थ्यकर्मीलाई पनि सेवामा सहभागी हुन आह्वान गरेको छ । 

त्यसैगरी,अन्य स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाविरुद्धको लडाईमा आआफ्नो तरिकाले लाग्न पनि सरकारले आग्रह गरेको छ । 

प्रकाशित मिति: : 2020-06-24 16:15:48

प्रतिकृया दिनुहोस्