अदालतकाे आदेश: राष्ट्रपतिले मास्क नलगाए दैनिक ३८७ डलर जरिवाना तिराउनू

बिएल संवाददाता

रियाे दि जेनेरियाे

ब्राजिलका राष्ट्रपतिमा जायर बोल्सोनारोलाई उच्च अदालतले मास्क नलगाए जरिवाना तिराउन आदेश दिएको छ। 

संघीय न्यायाधीश रेनतो बोरेलीले मंगलबार राजनीतिक र्‍यालीहरुमा सहभागी भएको बेला दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारोले मास्क नलगाएको उल्लेख गर्दै उक्त आदेश दिएको हो। 

पछिल्लोपटक विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति बोल्सोनारोले मास्क प्रयोग गरेको देखिएको छैन। 

केही हप्ताअघिमात्र राजीनामा दिएका त्यहाँका शिक्षामन्त्रीलाई मास्क नलगाएको पाइएपछि ३८७ अमेरिकी डलर जरीवाना तिराइएको थियो। महामारी फैलिएपछि मे ११ बाट ब्राजिलमा मास्क लगाउनै पर्ने प्रावधान ल्याइएको हो।

न्यायाधीश बोरेलीले यदि राष्ट्रपति बोल्सोनारोले उक्त आदेश नमानेमा दैनिक ३८७ अमेरिकी डलर जरिवाना तिर्नुपर्ने बताइएको छ। 

कोरोना संक्रमणको सूचीमा ब्राजिल अमेरिकापछिको सबैभन्दा बढी संक्रमित देश हो। ११ लाख बढीमा संक्रमण फैलिँदा यहाँका ५१ हजार बढीको मृत्यु भइसकेको छ।

गत फेब्रुअरी २६ मा इटालीबाट फर्किएका साओ पाउलोका एक व्यक्तिमा पहिलोपटक संक्रमण देखा परेको थियो। त्यसको एक महिनामै ३ हजार संक्रमित पुगेका थिए भने ७७ जनाको मृत्यु भएको थियो। त्यतिबेला राष्ट्रपति बोल्सोनारोले सामान्य रुघाखोकी भन्दै ब्राजिलियनहरुमा प्रतिरोधी क्षमता भएको दाबी गरेका थिए।

ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति बोल्सोनारोको गम्भीर आलोचना हुँदै आएको छ।

साथै परीक्षण अति कम भएकाले संक्रमित हुनेको संख्या अहिले भनिए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन्।

ब्राजिलले अघिल्लो हप्ता कोरोना संक्रमित र मृत्यु हुनेको जानकारी दिन बन्द गर्दै स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकरिक वेभसाइटबाट संक्रमित र मृतकको विवरण हटाउँदै अब यसबारे जानकारी नदिने बताएको थियो। 

तर विश्व स्वास्थ्य संगठनले पनि ब्राजिलले कोरोना सम्बन्धी जानकारी पारदर्शी रुपमा दिन नचाहेको भन्दै यसमा पारदर्शी हुन आग्रह गरेको थियो।  

त्यसपछि त्यहाँको सर्वोच्च अदालतले हटाएको विवरण तत्काल राख्न र दैनिक संक्रमित र मृतकको विवरण पारदर्शी बनाउन आदेश दिएपछि पुनः विवरण दिन सुरू गरेको थियो।  विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने बताएका छन्। 

प्रकाशित मिति: : 2020-06-24 09:52:01

प्रतिकृया दिनुहोस्