काेराेनाका कारण लाखौँ दक्षिण एशियाली बालबालिका गरिबीमाः यूनिसेफ

संयुक्त राष्ट्रसंघ बाल अधिकार निकाय यूनिसेफले  कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको बताएकाे छ। 

मंगलबार सार्वजनिक ‘कोरोना भाइरसको दीर्घकालीन प्रभाव’ नामक रिपोर्टमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावसँगै यहाँका करोडौँ बालबालिकाको अवस्था गरिबीतर्फ धकेलिएको उल्लेख छ।

'एशियामा रहेका बालबालिकाहरू भाइरसमा मात्र कम संवेदनशील हुनसक्ने भएपनि महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावका कारण व्यापक असर परिरहेको छ,' यूनिसेफका दक्षिण एशिया क्षेत्रीय निर्देशक जाँ गोफले जारी विज्ञप्तिमा उल्लेख छ।

एशियाली आठ मुलुकहरू भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भूटान समावेश रहेको दक्षिण एशियामा करिब ६० करोड बालबालिका रहेकोमा झण्डै दुई करोड ४० लाख गरीबीका बीच बाँचिरहेका यूनिसेफले बताएको छ।

'बङ्गलादेशमा गरिएको सर्वेक्षणमा महामारीका कारण कतिपय परिवारले दैनिक तीन पटकको खानाको जोहो गर्न नसकिरहेको उल्लेख छ। त्यस्तै श्रीलङ्कामा करिब ३० प्रतिशत परिवारले आफ्नो खानपानमा कटौति गरेका छन्',युनिसेफले भनेकाे छ।

यस्तै उसले अब तत्काल सुधारको प्रयास नथालिएमा कोभिड–१९ ले प्रभावित सम्पूर्ण जनसङ्ख्याको आशा र भविष्यलाई बर्वादीतर्फ धकेल्नेछ जनाएकाे छ।  

'चिन्ता त यो छ कि विद्यालयको पहुँचबाट कोभिड–१९ पहिले नै बाहिर रहेका तीन करोड २० लाख बालबालिकाको सूचिमा महामारीका कारण थप ठूलो सङ्ख्या विद्यालयबाट टाढिएको छ। महामारीका कारण खोप, पोषण, तथा अन्य अतिआवश्यकीय स्वास्थ्य सेवाहरूलाई विस्तार गर्ने कुरामा समस्या भइरहेको छ,' विज्ञप्तिमा भनिएकाे छ। 

यसबाहेक बालबालिका, किशोरकिशोरी वा युवाहरू घरमा नै बस्नु पर्ने बाध्यताका कारण उनीहरूलाई घरेलु हिंसा, मानसिक स्वास्थ्य, डिप्रेसनलगायतका बिषयहरू अन्य प्रमुख जोखिमहरू हुन्।

उच्च जनघनत्व रहेको एशियाली आठ मुलुकहरू भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भूटान, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ, मा पछिल्ला दिनहरूमा संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनलाई नराम्रोसँग प्रभावित अर्थतन्त्र सुधारका लागि भनी खुकुलो पारिएको छ तर संक्रमण फैलिने क्रम रोकिएको छैन।

प्रकाशित मिति: : 2020-06-24 09:23:53

प्रतिकृया दिनुहोस्