सुदूरपश्चिमका ६८.५२ प्रतिशत युवामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ। कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन्। .

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लामा गरी सोमबारसम्म एक हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्षका छन्। सो उमेर समूहका ५२७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

त्यसैगरी ३० देखि ३९ वर्ष उमेर समूहका २५७, १० देखि १९ वर्ष उमेर समूहका १३८, ४० देखि ४९ वर्ष उमेर समूहका ९६, ५० देखि ५९ उमेर समूहका ४०, ६० देखि ६९ वर्ष उमेर समूहका ११ र ७० देखि ७९ वर्ष उमेर समूहका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार १८ जना सङ्क्रमितको उमेर समूह खुलेको छैन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले धेरै जसो सङ्क्रमण विदेश र त्यसमा पनि भारतबाट आएकामा देखिएकाले युवाको सङ्ख्या बढी भएको बताए।

‘बालबालिका र वृद्धवृद्धाहरुलाई सङ्क्रमण जोखिम भनिएपनि हामीकहाँ लाखौं युवाहरु रोजगारीका लागि भारत गएर फर्किएका छन्’, उनले थपे, ‘अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिइसकेको छैन।’ भारतबाट सुदूरपश्चिम प्रदेशमा जेठ महिनामा वैध नाकाबाट मात्रै एक लाख नागरिक स्वदेश फर्किएको सरकारी तथ्याङ्क छ।सङ्क्रमण पुष्टि भएका बिरामीहरु आइसोलेसन, क्वारिन्टन र होम क्वारिन्टनमा छन्। भारत लगायत अन्यत्रबाट आएका २९ हजार ९२८ जना यहाँका ८८ वटा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारिन्टनमा बसिरहेका छन्।

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालका कोभिड–१९ का सम्पर्क व्यक्ति डा. सरोज आचार्यले अस्पतालमा सङ्क्रमित आउने र निको भएर जाने क्रम चलिरहेको बताए।

सुदूरपश्चिमका कैलालीमा तीन र बाजुरामा एक गरी चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ। पीसीआर विधिबाट कोरोना परीक्षणका लागि १७ हजार ६११ जनाको स्वाब लिएकोमा ११ हजार पाँच जनाको परीक्षण गरिएको छ।

पीसीआर र आरडीटी गरी दुवै विधिबाट यहाँ कोरोना परीक्षण गरिँदा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ। सङ्क्रमितहरुको सङ्ख्या हेर्दा सुदूरपश्चिमको डडेल्धुरा दोस्रो स्थानमा छ। कोभिड–१९ डडेल्धुराका सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले डडेल्धुरामा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए। 

प्रकाशित मिति: : 2020-06-23 21:56:53

प्रतिकृया दिनुहोस्