कोरोना संक्रमणको जोखिमका बाबजुद साउदीले यस वर्ष पनि हज आयोजना गर्दै

कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ।

साउदी अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ। यसै सूचनामा यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने उल्लेख छ। 

कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै अन्य देशका हाजीलाई भने याे वर्ष अनुमति दिन नसकिएकाे साउदी सरकारले जनाएकाे छ।

साउदी अरबको मक्कामा हरेक वर्ष हज आयोजना हुन्छ। मक्का इस्लामका प्रवर्तक मोहम्मदको पवित्र जन्मस्थल हो भने मदिनामा उनको समाथिस्थल रहेको छ । यी दुवै स्थानको परिक्रमा गर्नु नै हज हो ।

मुस्लिम समुदायको पवित्र धार्मिक स्थान मक्कामदिनामा हज गर्न हरेक वर्ष २० लाखभन्दा धेरै मुसलमान हजका लागि साउदी अरबको मक्का पुग्छन्। हज गर्न नेपाली नागरिकहरुसमेत जाने गर्दछन्। 

यो वर्ष हजमा जानका लागि करिब १५ सय नेपाली मुसलमानले समितिमा रकम जम्मा गरेका थिए । गृह मन्त्रालयमातहत रहने समितिले हजमा जाने व्यक्तिहरुले जम्मा गरेको रकम टिकट, आवास, खानपिन, हज शुल्क, सवारी साधनलगायतका लागि खर्चिने गर्छ ।

समितिका सदस्य आशिक इलाहीका अनुसार पहिलो चरणमा एक जना हज यात्रीसँग एक लाख २५ हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो ।

यो पटक हज साउनमा परेको छ । हज इस्लामका ५ आधार स्तम्भमध्येको एक हो । इस्लाम धर्ममा सक्षमहरुलाई हज अनिवार्य गरिएको छ । हज गर्नाले विगतका पाप नष्ट हुने र पुण्यप्राप्ति हुने विश्वास छ । 

साउदी सरकारका अधिकारीहरुले यस वर्ष देशभित्रका नागरिकहरुलाई सामाजिक दुरी कायम गरी हज गर्ने व्यवस्था मिलाउने बताएका छन्। कोरोना संक्रमण रोक्नका लागि सुरक्षाका धेरै उपाय अपनाइने छ।

प्रकाशित मिति: : 2020-06-23 07:31:31

प्रतिकृया दिनुहोस्