म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती बर्नलीमाथि फराकिलो जित दर्ता गरेको छ।
युवा मिडफिल्डर फिल फोडेनले उत्कृष्ट प्रदर्शन गरेपछि सिटीले ५–० गोल अन्तरको जित निकालेको हो।
सिटीको जितमा फोडेन र रियाद माहरेजले समान दुई गोल गरे भने डेविड सिल्भाले थप एक गोल थपे।
खेलको २२ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। डेविड सिल्भाको कर्नर पासमा फोडेनले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
४३ औं मिनेटमा माहरेजले अग्रता दोब्बर पारे। उनले फर्नान्डीन्होको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
इन्ज्युरी समयको तेस्रो मिनेटमा सर्जियो अगुएरोलाई बेन मीले फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। जसलाई माहरेजले गोलमा परिरण गरे।
५१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४–० ले अगाडी बढाए।
फोडेनले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित सुनिश्चित गरे।
जितसँगै सिटीले ३० खेलमा ६३ अंक जोड्दै लिभरपुलसँगको दुरी २० अंकमा झारेको छ। लिभरपुलको ३० खेलमा ८३ अंक रहेको छ। बर्नली भने ३० खेलमा ३९ अंकसहित ११ औं स्थानमा छ।