कोराना भाइरसका कारण सरकारले चैत ११ देखि आह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि अधिकांश किसान चिन्तित छन्। ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री नभएर बारीमै कुहिन थालेको हो। स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूको गुनासो छ। यता उपभोक्ताले महङ्गो मूल्यमा बासी तरकारी किन्न बाध्य छन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका जगडोलमा ६ रोपनी जग्गा भाडामा लिएर व्यवसायीक तरकारी खेती गरेका सोलुखुम्बुका शुक्र बहादुर तामाङलाई बजारको कहिल्यै अभाव थिएन।
बिहानदेखि बेलुकासम्म बारीका तरकारी गोडमेल र मलजलमा व्यस्त रहने तामाङको अचेल दैनिकी केही परिवर्तन भएको छ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि तामाङलाई तरकारीको समस्याले पिरोलेको छ। उनको बारीमा टमाटर, काउली, धनियाँ, बन्दा, सिमी, बोडी, काँक्रालगायत तरकारी पर्याप्त छन्। तर, बिक्री गर्ने ठाउँ छैन। तरकारी बिक्री नभएपछि पशुलाई खुवाउन बाध्य भएको उनको गुनासो छ।
‘बिक्रीका लागि बजारसम्म ढुवानी गर्ने अवस्था छैन। तरकारी खाने मान्छे पनि यहाँ छैनन्,’ उनले बिएल नेपाली सेवासँग भने, ‘खेतमा यत्तिकै राख्नु भएन, त्यसैले घरमा पालेका बाख्रालाई खुवाउनु परेको छ।’
विगत पन्ध्र वर्ष अगाडि कामको खोजीमा काठमाडौं आएका तामाङले सुरूका दिनमा होटेल र किराना पसल चलाए। त्यसबाट परिवार पाल्न गाह्रो भएपछि उनी तरकारी खेती गर्न थालेका हुन्।
विगत २ वर्षदेखि गोलभेडासहितका अन्य तरकारी उत्पादन गर्दै आएका उनी आफ्नो कर्मबाट दंग थिए। तरकारी खेतीमै रमाएका उनी आफ्नो पेशामा निक्कै सन्तुष्ट थिए। सोहि पेशा गरेर उनले कुखुरा, बाख्रा, गाईसमेत पालन गरेका छन्।
यो व्यवसायबाट साहुलाई वार्षिक ३ लाख भाडा बुझाएर परिवारको गर्जो राम्ररी टार्दै आएका थिए। तर बन्दाबन्दीका कारण उनले ठूलो क्षति नै खेप्नुपरेको छ।
खेतमा उत्पादन हुने गोलभेडालगायतका तरकारीले उचित बजार नपाउँदा भाडा तिर्नै समस्या परिरहेको उनले बिएल नेपाली सेवाको संवादमा बताए।
विगतका दिनमा यति बेला १२० रूपैया प्रतिकेजी बिक्री हुने टमाटर अचेल २० रूपैया प्रति केजीमा दिँदा पनि बिक्री हुन्न’, उनले भने, ‘आफूले तरकारीमा गरेको मलजलको दामको त कुरै छोडौं। ज्यालासमेत उठ्न सकेको छैन्। घाटा खाएर बेच्नुपरेको छ।’
बन्दाबन्दीका कारण तरकारी किन्न आउने ग्राहकको संख्खासमेत घटेको बताउदैं उनले भने, 'तरकारी किन्न कोहि आएनन्। सबै तरकारी कुहिएर गाई/बाख्रालाई दिनुपर्यो। अहिले भने केहि सहज भएको छ, धेरै थोरै बिक्रि हुदैछ,’ उनले भने, ‘बन्दाबन्दी हुनुअघि दिनमा २५ केजीसम्म बिक्रि हुने गोलभेडा अहिले ५ केजीसमेत बिक्रि हुन् मुश्किल परेको छ।’
जारी बन्दाबन्दीका कारण उब्जाउ गरेको तरकारीका लागि औषधि किन्न समेत नपाएको उनको गुनासो छ। सरकारले गरेको बन्दाबन्दीका कारण सबै भन्दा बढी मर्कामा किसान परेको बताउदैं उनी भन्छन्, 'किसानले मिहिनेत गरे अनुसार फल प्राप्त गर्न सकेका छैनन्।'
सरकारले बन्दाबन्दीका समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भन्ने उद्धेश्यका साथ बाडेको राहत आफूले नपाएको उनको गुनासो छ। ‘आफूले एउटा चकलेटसमेत पाएको छैन्,’ उनले भने, ‘सरकारले कृषिमा चासो देखाएको छैन। सबैभन्दा बढी चासो कृषिमा दिनु आवश्यक छ।’
कृषिमा नै चासो नदिए कोहि पनि बाँच्न नसक्ने उनको दाबी छ।
‘जतिसुक्कै शक्तिशाली कुर्सीमा बस्ने मान्छे पनि भोकै बस्न सक्दैन्। बाँच्नका लागि खान जरूरि छ,’ उनले भने। सरकारले कृषिका लागि बजेट छुट्टाउनुपर्ने बताउदैं उनले किसानलाई कृषि गर्ने सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे।
किसानले बारीको तरकारी हेरेर मन दुखाउनु बाहेक अरु केही गर्न नसकिने उल्लेख गर्दै सरकारले राहतको व्यवस्था गरिदिए आफूहरुको मेहिनेत खेर नजाने र गुजारा चलाउन पनि सहज हुने बताए ।