जेठ चार गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तुलनात्मक रुपमा जोखिम मानिएका पत्रकार र स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्न बोलायो। स्वाब दिन गएको बेला प्रतिष्ठानमा युवा स्वयमसेवी समूहले रक्तदान कार्यक्रम आयोजना गरेको देखेँ। काम गर्दा दुरी कायम गरेकोले म रक्तदान गर्न उत्साहित भएँ। हाम्रो रिपोर्ट नेगेटिभ आइसकेको छ।
रक्तदान पश्चात आयोजकले जुस खुवाउन अस्पताल अगाडिको क्यान्टिनमा लिएर गयो। त्यहीँ देखेको थिएँ, चन्दननाथ नगरपालिका –९ श्रीढुस्काका राम खत्रीलाई।
वरिपरी प्लेट, चम्चा, गिलास, कप लगायत साना ठूला भाँडा। भान्साबाट आइरहेको मिठो बासनैले मन परेको नास्ता मगाएर खाइहालौंमन हुने ठाउँनेर। खुल्लै हुनाले कलकल बगिरहेको धाराको पानीमा बेलाबेलामा भाँडा राखेर आउने आवाज कुनै सफल संगीतकारले भरेको संगीत जस्तो थियो। त्यही भाकामा रमाएर भाँडा धोइरहेका थिए, उनी।
गोरो अनुहार। चिम्सा आँखा। आँखानेर निचोरेको कपडा जस्तै मुजा परेको चाउरी। चुच्चे नाक। पातला आँखि भौं। अनिकालमा बीउ छरेजस्ता पातला बुर्के दारी, जुँगा। फराकिलो निधार, त्यसैलाई छोप्न लगाइएको पाल्पाली ढाँकाको टोपीवाल राम त्रेता युगका जस्ता अयोध्याका राजा थिएनन्। उनी त्यही क्यान्टिनको सबैभन्दा तल्लो स्तरका कामदार थिए। भाँडा माझ्नु उनको दैनिकी।
संसारभरका होटलहरुमा उनी जस्तै भाँडा माझ्ने पेसा अंगालेका लाखौं कामदार होलान्। उनीहरु सबैका आफ्ना कथा, व्यथा होलान्। कतिलाई हामी देखौंला, भेटौंला। कति कथा लेखौंला पनि। कतिका रहर होलान्, यसरी काम गर्नु। कति उमेर नपुगेकाहरु बाध्यताले काम गरिरहेका होलान्। अनेक व्यथा र परिबन्धहरु होलान्। ती मध्येमा आफूले देखेका रामको ‘राम कहानी’ यहाँ प्रस्तुत छ।
उनी एक खुट्टामा हिँडिरहेका थिए। साहरा बैसाकी थिएन। उनको दाँया खुट्टा घुँडा भन्दा माथिबाट काटिएको छ। बाँकी एउटा मात्र खुट्टाको भरमा दैनिकी चलाइरहेका उनलाई देखेपछि क्यान्टिनका संचालक गोविन्द खत्रीसँग एक छिन काम रोक्न अनुरोध गरी हामीले कुराकानी सुरु गर्यौं। गोविन्दले सजिलै ओके गरे। हामी उनको काहानी सुन्न थाल्यौं।
‘नौ वर्ष भयो मेरो खुट्टो काटेको। घरको आर्थिक अवस्था कमजोर थियो। पैसा कमाउन भनेर भारतको उत्तर काँसी गएको थिएँ। काम भइरहेको थियो। पैसा अलिअलि कमाइ भए पनि बचत भएको थिएन। खानपिन सँधै भनेको समयमा नहुने। हटारूहरुको समूहको खाना उस्तै त हो। निको गट्टो गरी खानुपर्ने। कहिले आधा पेट त कहिले भोको पेट। यस्तैमा कहिले चाहिने भन्दा बढी पनि खान पाइन्थ्यो। यस्तो भएपछि पेट रिसाउँछ भन्छन्। मेरो पेट पनि रिसायो। अलिकति होइन बेस्मारी रिसाएछ। पेट आवेगमा आएपछि पखाला चल्यो। पेट रिसाएपछि के हुने रहेछ जिन्दगी भरी याद आइरहने भयो।
पखालाले जिउ साह्रै गलाएको थियो। गलाउने मात्रै के भन्नु हजुर आधा मरे जस्तो थिएँ। जिउ लताडी लताडी हिँडिरहेको थिए। बाँच्दिनँकि सोचेको थिएँ। सास छउन्जेल आश हुन्छ भन्छन्। सकेसम्म तंग्रिने प्रयास गरिरहेको थिएँ। काम गर्ने ठाउँमा शौचालय थिएन। रोड पार गरी पारीपट्टी जानुपर्ने। उत्तरकाँसीका सडकमा च्याउँच्याँउ गर्ने गाडी। त्यही बेला बेहोसीमा हाम हालेँ। गाडीले किचिदियो। यो (आफ्नो काटिएको खुट्टा देखाउँदै) खुट्टो धुलिपिठी भएछ।
म बेहोस भएछु। भाइ र सँगै काम गर्ने साथीले अस्पताल लिएछन्। उपचार भएन। देहराधुन लिएछन्। त्यहाँ पनि पैसा नपुगेर उपचार हुन सकेन। घर लिएर आए। खुट्टो पाक्यो। मासु कुहिएछ। आइएनएफ संस्थाले सहयोग गर्यो। जुम्ला अस्पतालमा खुट्टा काट्यौं। पछि आइएनएफले खर्च व्यहोरेर पोखरा लिएर गयो। नक्कली खुट्टा पनि हालिदियो। कहिलेकाहीँ बाहिर जानेबेला लाउँछु। घरमा काम गर्ने बेला लाउन्न।’
गोरो, उज्यालो अनुहारका उनले मसिनो स्वरमा साउते गरी आफ्नो दुःखद कहानी सुनाउने बेला अनुहारमा बादल लागेको थियो। अँध्यारा उनी विगत सम्झदा भावुक भए। सायद त्यहीँबाट सुरु भयो जिन्दगीको आगोमा दुःखको घ्यु थपिन।
त्यसपछि उनमा चरम निराशाले राज गर्यो। उनी एक्लै टोलाउन थाले। एकदम कम बोल्न थाले। खाना घट्दै गयो। शरीर दुब्लाउँदै गयो। आफन्तले सम्झाए। बिस्तारै सम्हालीदै गए। बाँच्नुपर्छ भन्ने सोच भयो। निराशाको शरीरलाई पन्छाउँदै बसन्तलाई निमन्त्रणा गरे। जिन्दगी हराभरा नभए पनि पालुवा पलाउन थाल्यो। ‘सिंगो शरीरमा नभएको एउटा खुट्टा मात्र त हो। मुखमा माड पसाल्ने दुइ हात छँदैछन्,’ भनी उनी काममा लागे।
आजभोलि उनलाई खासै चिन्ता लाग्दैन। उनले आफू जस्ता थुप्रै मान्छेलाई देखेका छन्। आफू जस्तै मान्छेले गरेको देखेर भोलि अपांङ्ग हुने मान्छे पनि निराश नभइ काममा लाग्नेछ। अस्पताल नजिकै भएको हुनाले त्यस्ता धेरै मान्छे देखेर चित्त बुझाउने गरेको बताए। ‘एक जना मान्छे अस्पताल भर्ना भएको छ। करेन्ट लागेको मान्छे। उसका दुबै हात काट्नु पर्ने भएको छ। ऊ पनि भोको मर्दैन। केही गरी त पक्कै खान्छ,’ उनले भने। उनको कुरा सुन्दा जुम्लामा प्रचलित एउटा उखान याद आउँछ, ‘मान्छे भोको मर्दैन, चरो लोटी(लडेर) मर्दैन।’
‘बाँच्नु ठूलो कुरा रहेछ,’ उनले भने, ‘सुख दुःख त चौतारी हो जिन्दगीको। आशावादी हुनुपर्ने रहेछ।’
घर बाहिर खासै काम गर्ने सोचेका थिएनन्। गाउँ नजिकै पाइएका काम गर्ने कोसिश गरे। त्यसबेला रोड बनाउने काम चलिरहेको थियो। नयाँ डिजाइनका (ढलानवाला) घर बनाउने चलन आएको थियो। उनी गिट्टी कुट्न थाले। भाइबुहारी ढुंगा बोकिदिन्थिन्। बेचेपछि राम्रै पैसा आउन थाल्यो। जिन्दगीमा बाँचेपछि केही गर्न सकिने रहेछ भन्ने उनले त्यहीबाट सिके।
उनको बाल्यकाल सुखद छैन। हुर्कदै अरुको काम गर्न जानुपर्यो। ‘आर्थिक अभाव भएपछि। जिउ पाल्न जहाँ पनि जानुपर्ने रहेछ। कहिले फूपुको घरमा त कहिले मामाको घरमा, इष्ट कुटमुम्बका घरमा गाई भैंसी चराउँदै बालाजोवन गयो,’ उनले आफ्नो बाल्यकाल यसरी सम्झिए, ‘घरबार जोड्न पाइनँ। उहिले बिहे गर्न पाइनँ। अब के को बिहे हुनू। तर बिहे गरेको भए हुने रहेछ जस्तो लाग्छ। श्रीमती भएको भए यस्तो किन हुँदो हो?’
उनी क्यान्टिनमा काम गर्न थालेको एक वर्ष तीन दिन भएको दिनमा हाम्रो भेट भएको थियो। अरु काम भन्दा तुलनात्मक रुपमा सजिलो हुने भाँडा माझ्ने काम पाए। मन लाएर लागिरहका छन्। उनलाई पेट पाल्न यस्ता काम गर्नुपर्ने लाग्छ। ‘दिन यस्तै आए। आज अपांग छु। यति भनेर केही नगरी हुने पनि केही होइन,’ उनले भने।
उनको काम राम्रो छ। काममा प्रतिवद्ध भएकोले सकुन्जेल काममै लगाउने सोच रहेको क्यान्टिन सञ्चालक गाविन्द खत्रीले बताए। ‘काम राम्रो छ। मान्छे मेसिला छन्। इमान्दार पनि छन्। कहिलेकाँही बिदा मागेर घर जान्छन्,’ उनले भने, ‘एक दिन जति बसेर फर्किहाल्छन्। सुरुको लकडाउनका क्यान्टिन बन्द भयो। सबै घर गए उनी यतै बसे।’
घरको जग्गाले भाइबुहारी र छोरा छोरीलाई पाल्न पुग्दैन। त्यही भएर काम धन्दा गर्नुपर्छ। घरमा उनका भाइबुहारी र भाइका छोरा छोरी छन्। कसैले घर कसैले पर गरेर पुगेको छ।
उनी महिनाको १० हजार कमाउँछन्। क्यान्टिनमा खान बस्न समस्या छैन। त्यसैले कमाएको सबै पैसा भाइ बुहारीलाई नै दिन्छन्। ‘अहिले कमाउन सक्ने छु र उनीहरुलाई दिन्छु,’ भन्छन्, ‘पछि नसकिने भयो भने उनीहरुकै भर पर्नुपर्ला।’
त्यसका अतिरिक्त उनी मासिक छ सय रुपियाँ अपाङ्ग भत्ता पनि पाउँछन्। सुरूमा भत्ता तीन सय थियो। पछि बढेको हो। उनको चाहना बुढेसकालमा अलिकति भत्ता बढाइदिएको भए हुन्थ्यो जस्तो लाग्छ। तर सरकारले त्यही भत्ता पनि कटौति गर्ने योजना बनाउँदैछ भन्ने हल्ला चलिरहेको छ। ‘कम्युनिष्ट आफैंले ल्याएको बहुचर्चित र लोकप्रिय कार्यक्रम काट्दैछन्,’ विज्ञहरु भन्दैछन्, ‘अब कम्युनिष्टको बेचिखाने नारा के होला?’
राज्य एकातिर लोककल्याणकारी बनाउने भनेर नेताहरु चिल्ला भाषण छाँट्दैछन्। अर्कोतिर संकटमा सरकार आफ्नो चरित्र भुल्दैछ। सरकारले छेपारो झैं फेर्दै गएको रंगका कारण बुढेसकालमा राम जस्ता थुप्रै मान्छेले दुःख पाउने पो हुन कि!