युवाका परिभाषा आ–आफ्नै खालका भए पनि एउटा सर्व सत्य के हो भने हरेक परिवर्तनको संवाहक नै युवा हो। शारीरिक र मानसिक उर्जाका हिसाबले जीवन कै उच्च सम्भाव्यता भएको अवस्था नै युवा अवस्था हो। यसलाई उमेरसँग जोडेर परिभाषित गर्ने आधिकारिक अभ्यास विश्वमा चलिआएको छ र हरेक देशले युवाको आ–आफ्नै खालको परिभाषा दिएका छन्।
नेपालमा राष्ट्रिय युवा नीति २०७२ अनुसार १६–४० वर्ष उमेर समूहलाई युवाको परिभाषा भित्र राखिएको छ। २०६८ को जनगणनामा नेपालमा कुल जनसंख्याको ४०.३४५ प्रतिशत युवा छन्। जहाँ युवाको संख्या धेरै छ, त्यसलाई राष्ट्र विकासको लागि राम्रो सुचांकका रुपमा लिइन्छ। यसलाई स्वर्णिम समय मानिन्छ। यसरी युवाको संकुचित परिभाषा दिई युवाको महŒव विषयान्तर गर्ने क्रम नेपालमा पनि जारी छ। युवा निश्चित समूहको घेरा मात्र नभई आत्मविश्वास हो। युवा मानसिकता हो। युवा चेतनशिलता र परिवर्तनको सम्वाहक हो।
तर विडम्बना नेपालमा युवालाई रेमिटान्सको उद्योग बनाइयो। युवालाई पार्टी र अभियानहरुका विवेकहिन कार्यकर्ता र अभियान्ता हुन बाध्य पारियो। तिनै युवा कार्यकर्ताहरु सँधै सबै राजनीतिक परिवर्तनको अग्रमोर्चामा रहँदै आए पनि परिवर्तन भएपछि भूमिकाबिहिन भएका छन्। यो युवाको क्षमता प्रतिको अविश्वास मान्न सकिन्छ।
जति युवामा जोस, जाँगर र इच्छाशक्तिको अवसर हुन्छ त्यतिकै मात्रामा क्षणिक लाभ, अपरिपक्कता र अहंकारको चुनौति पनि हुन्छ। यदि नेतृत्वले यी चुनौतीलाई व्यवस्थापन गर्ने कुशल र रचनात्मक उपायहरु अवलम्बन गर्न सकेनन् भने त्यो युवा जनशक्ति केवल साधन बन्छ स्रोत हैन जसलाई आवश्यकता अनुरुप सबैले प्रयोग गर्छन्। सरकारले ल्याएका युवा लक्षित कार्यक्रमहरुमा पनि केही निश्चित युवा जसमा भिडतन्त्र निकै हावी छ। त्यस्ताले मात्रै लाभ लिएको देख्न सकिन्छ।
भिडतन्त्रले युवामा पारेको प्रभाव
देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ। यो व्यवस्था ल्याउन पनि अग्रणी भूमिका युवा कै रहेको थियो। २०४७ साल देखि यता केही कार्यकर्ताहरु शक्ति केन्द्र धाउने र आफ्नो क्षमता बिर्सिदै गएको पाइन्छ। क्षमतावान युवाहरुले नै ल्याएको व्यवस्थामा भिडतन्त्र हावी हुनुले युवाहरु आफू–आफू तर्क र वितर्कमा व्यस्त छन्। सदन देखि सडकसम्म केवल टेवल ठोक्ने र विरोधका अग्रमोर्चामा उभिएर चर्को नारा लगाउन मै सिमित छन्। सदनमा एक अर्कालाई आरोप प्रत्यारोप गर्दैमा समय पुग्दैन। कसैले पनि विकल्प दिन सकिरहेका छैनन्।
यता समाजमा भने आफू र आफ्नो पार्टी प्रति विमत्ति राख्नेलाई देश भरिका कार्यकर्ता मिलेर त्रासको अवस्था सिर्जना गर्नु बाहेक स्वविवेक प्रयोग गरेर बहसको बाटो रोज्नै चाहँदैनन्। सबै पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो पार्टी प्रति असहमती जनाउने जो कोहिलाई विकास विरोधी देख्नुले नै भिडतन्त्र हावी भएको मानिन्छ। यसरी स्वतन्त्र युवा, कार्यकर्तामा परिणत हुन्छ।
भिडतन्त्र हावी भएकाहरु नै किन राजनीतिमा ?
विश्व महामारीले आक्रान्त छ। यस्तो विषम परिस्थितिमा पनि पार्टी र नेता भन्दै कुर्लने युवा कार्यकर्ताले आफ्नो नेताहरुबाट आफू अनुकुलको बजेट पाउने भए किन नलाग्ने राजनितीमा? अन्त केही पनि गर्न नसक्ने न कुनै पेशा व्यवसाय नै छ। त्यस्तो केही पनि नगर्नुपर्ने, दुईचारको टाउको फुटाउन सक्ने योग्यता, जेल बसेको अनुभव भएकाहरु धेरैका लागि राजनीति, रोजिरोटी भएको प्रसस्तै उदाहरणहरु समाजमा छन्। तिनीहरुको मुल ध्येय जसरी पनि आफ्नो पार्टीका नेताहरुमा प्रभाव पार्ने मात्रै छ।
आफ्नो पार्टी र नेताले मुर्खतापूर्ण कार्य गर्दा पनि स्वविवेक प्रयोग नगरी भिडबाट आएको आवाज अनुसारको तर्क गर्न मै व्यस्त छन्। उसो त राष्ट्रपति कार्यलयमा भएका कार्पेट काण्ड लगाएतका कार्यहरुमा प्रश्न उठ्दा राष्ट्रपति माथीको प्रहार गणतन्त्र विरोधि साजिस हो भनेर बचाउ गर्ने प्रधानमन्त्रीले उक्त पदमा नरहँदा उनीबाट प्रशिक्षित कार्यकर्ताहरुले उनको सिको गर्नु अनौठो मान्नुपर्ने कुरै होइन। कार्यकर्ताले गलत गर्दा नेताले खुलेर प्रशंसा गरेर बचाउ गर्नु र नेताले गलत गर्दा कार्यकर्ताले कुतर्क गरेरै भए पनि बचाउ गर्ने शृङ्खला जारी छ। यिनीहरुको यस्तै कार्यहरुले राजनीति जहाँबाट राज्य सुरक्षित महशुस गर्छ, राज्यले स्तरउन्नती गर्छ, त्यस्तो माध्यमलाई फोहरी खेल बनाएका छन्। यस्तो अवस्थामा थुप्रै राजनीति गर्न चाहने युवाहरुमा पनि वितृष्णा जागेको छ।
फेरि पनि कोहि विवेकहीन नेता कार्यकर्ताहरुको रोजिरोटी नै राजनीति बन्न पुगेको छ। स्थानीय, प्रदेश र संघले विकास निर्माणका कार्यहरुका लागि छुट्याएको बजेट उपभोक्ता समिति निर्माण गर्दा यो त कार्यकर्ता भरणपोषणका लागि दिएको हो। म पनि यसको भागिदार हुनुपर्छ भनेर हानथाप गरेको उदाहरण यता अचेल थुप्रै पाइन्छन्। यसरी केही अबुज युवा कार्यकर्ताहरुले विकास निर्माणका कार्यहरुका लागि आउने बजेटमा आशातित भएर, अरु केही गर्न नसक्नेहरुका लागि राजनीति रोजिरोटी बनेको पाइन्छ।
विकल्प सहित निष्कर्ष
माटो, झण्डा, युवा, श्रम, स्रोतसाधन र समग्र राष्ट्र नै अत्यन्त कठिन अवस्थामा रहेका बेला राजनीती र अर्थतन्त्रको फ्युजन भित्र बौद्धिक बहसको केन्द्र बनाइनुपर्ने पार्टीहरु, कार्यकर्ता भर्ति केन्द्र भएका छन्। यस्ता पार्टीहरुमा भर्ती भएका कार्यकर्ताहरु राजनीति शक्ति कब्जा गर्न र नेताको विश्वाशिलो पात्र बन्न प्रयत्नशील छन्। राजनीति त राज्य निर्माण गर्न, कुशलतापुर्वक सरकार चलाउन, जनतालाई आर्थिक सामाजिक र राजनीतिक संस्कार पैदा गरेर आधारभूत परिवर्तन गर्ने गरिनु पथ्र्यो। विडम्बना जानिजानि गुणात्मक नेतृत्व निर्माण गरेर पुस्तौं पुस्तालाई पुग्ने सम्पत्ति थुपार्ने प्रशिक्षण दिइन्छ।
नेपाली जनता, प्रगती र उत्कर्षका चिल्ला आश्वासन बाँढ्ने कुनै पनि पार्टीका कार्यकर्ताहरुसँग महŒवपूर्ण समयमा जिम्मेवारी बहन गर्ने र चुनौतीहरुको सामना गर्ने क्षमता छ भनेर पत्याउँदैन। नपत्याउनुको कारण उनीहरुका विगतका गतिविधिहरुले निर्धारण गरेको हो।
भुटानमा स्नातक नगरि सांसद हुन पाइँदैन। त्यहाँ मन्त्री, प्रधानमन्त्रीहरु पेशागत विज्ञ हुन्छन्। जर्मनीका राष्ट्राध्यक्ष एन्जेला मर्केलले विद्यावारिधि गरेकी छिन्। त्यहाँ विज्ञताको सम्मान हुन्छ। विमत्ती सुन्ने धैर्यता देखाइन्छ। अभिव्यक्तिमा पानीका फोहोरा र लाठी प्रहार गरिदैन। कोरोनाको यस्तो महामारीमा आफै ज्ञान बाँढेर बस्दिनन् विज्ञहरुलाई अघि सार्छिन्। त्यहाँ ग्रुन पार्टीले वातावरणलाई महत्व दिन्छ।
एफडेपेले व्यापार, एसपेडेले श्रमिकका मुद्दाहरु उठाउँछ। यसरी फरक फरक पार्टीले प्रस्तुत गरेका विज्ञताको सम्मान हुन्छ। हाम्रो देशका पार्टीहरु झैं नलुटेकै कारण आज उदाहरण बनेका छन्। त्यस्ता देशका कार्यकर्ता निकै अध्ययनशिल र सचेत हुने गरेको पाइन्छ।
हाम्रो जस्तो देशका युवा कार्यकर्तामा पनि त्यो किसिमको चेतनामा वृद्धि गर्न आवश्यक विकल्पहरु निम्नानुसार पनि हुनसक्छन्।
१. युवा कार्यकर्ताहरुलाई राष्ट्रप्रति जिम्मेवारी बहन गर्न र चुनौतीहरुको सामना गर्न प्रशिक्षणात्मक कार्यहरु हुन जरुरी देखिन्छ।
२. नेतृत्वमा पुगेकाहरुले आफ्नो घोषणापत्रबाट विमुख नभई कुशलतापुर्वक सरकार संचालन गर्नु पर्दछ।
३. मन्त्रालयमा जिमखाना होइन युवा कार्यकर्तालाई रिसर्च गर्न प्रेरित गरि रिसर्च ल्याबहरुको स्थापना गरिनुपर्छ। साथै समाजका विभिन्न क्षेत्रमा संघर्ष गर्दै गरेका युवाहरुको रचनात्मक र समालोचनात्मक सम्बाद र सहकार्यको वातावरण निर्माणका लागि संरचनागत व्यवस्थापन हुन जरुरी छ।
४. युवा कार्यकर्ताहरुले आपतकालिन परिस्थितिको दृढताका साथ सामना गरि आवश्यक कदम चाल्नुपर्ने र प्रोलोभन पछि लाग्न छोड्नुपर्छ।
५. युवा कार्यकर्ताहरुले यथार्थपरक र व्यवहारिक हुन आफू समर्पित भई जनताको हितमा आफ्नो शक्ति प्रयोग गरेर सार्वजनिक विश्वास कमाउनु पर्दछ।
६. नेतृत्वले पनि कार्यकर्ता र जनतालाई भोट बैंक मात्रै नसम्झी प्रजातन्त्र, निष्पक्षता, प्रतिस्पर्धा र चयनात्मकताका सिद्धान्तहरुको पालना गर्नुपर्दछ। यसरी प्रगतिशील सोछ, उत्कृष्ट प्रदर्शन, उच्च नैतिक अडान राख्ने कार्यकर्तालाई सम्मान स्वरुप अघि सार्दै लैजानुपर्छ।
७. युवाहरुलाई व्यवहारिक शिक्षा प्रदान गरि उत्पादनमुलक क्षेत्रमा खटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्दछ।
यी केही उदाहरणका प्रतिनिधि विकल्पहरु हुन। आफू सम्यमित भइ अध्ययन संस्कृतिको विकास संगै संस्कार सहितको राजनितीमा लाग्नु युवाको दायित्व हुन्छ।
जोन अफ क्यान्डेको भनाइ “संसाका सबै राजनितज्ञहरु कवि भैदिएको भए, सबै कविहरु राजनितज्ञ भैदिएको भए यो संसार झन बस्नलायक हुने थियो।“ कविहरुले क्षमता विकास गर्ने कि राजनितिज्ञले?