विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (काेभिड–१९)को महामारी बढ्दै गइरहेको बताएकाे छ। संसारभर तिब्रगतिमा फैलिरहेकाे भाइरस नयाँ र खतरनाक चरणमा प्रवेश गरेको डब्ल्यूएचओका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले बताएका छन्।
उनका अनुसार गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको पहिलो हो।
वर्ल्डोमिटरको तथ्यांकअनुसार बिहान ५ बजेर ४५ मिनेट जाँदासम्म विश्वभर ८,७४६,७०३ जना संक्रमित भइसकेका छन् भने ४,६१,७७८ जनाको मृत्यु भइसकेको छ। संक्रमितहरुमध्ये ४,६१९,६५२ जना निको पनि भइसकेका छन्।
हाल सक्रिय संक्रमितहरु ३,६६५,२७४ जनामध्ये ९९ प्रतिशत अर्थात ३,६१०,४८३ जना को अवस्था सामान्य छ भने १ प्रतिशत अर्थात ५४,७५१ जनाको अवस्था गम्भीर छ।
काेरेना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने देशमा पहिलाेमा अमेरिका पर्छ। यहाँ १ लाख २१ हजार ४०२ जनाकाे मृत्यु भएकाे छ। यता दोस्रो नम्बरमा ब्राजिल छ। त्यहाँ ४९ हजार ९० जनाको मृत्यु भइसकेको छ।
तेस्राे नम्बरमा रुस छ। यहाँ ७,८४१ जनाको यही संक्रमणका कारण मृत्यु भइसकेको छ भने भारतमा मृत्यु हुनेहरुको संख्या १२,९७० पुगेको छ।
अत्यावश्यक सामग्रीहरुको ढुवानीका लागि आकस्मिक रकमको अभाव
विश्व खाद्य संगठनले महामारीका लागि अत्यावश्यक सामग्रीहरुको ढुवानीका लागि आकस्मिक रकमको अभाव हुँदै गइरहेको जनाएको छ।
संगठनका अपरेशन निर्देशक अमेर डावोडीले सो रकमको अभावमा विश्वका १३२ राष्ट्रहरुमा महामारी जियन्त्रण गर्न प्रयाेग हुने मास्क, ग्लोभ र अरु अतयावश्यक चिकित्सीय सामग्रीहरु आगामी जुनको तेस्रो हप्तासम्ममा पुर्याउन कठिन हुने बताए।
सन् २०२० मा सो प्रयोजनका लागि संगठनलाई ९६५ मिलियन अमेरिकी डलर आवश्यक पर्ने उनले बताएका छन्। तर अहिलेसम्म संगठनले १३२ मिलियन अमेरिकी डलर मात्रै जुटाउन सकेको उनकाे भनाइ छ।