‘७ बजिसक्यो हजुरलाई यसबेलासम्म सुत्न लाज लाग्दैन भन्या? होइन यो बेडमा कस्तो चुम्बक छ? मलाई चाहिं बिहानै छोड्ने हजुरलाई चाहिं समातेर राख्ने?’ बिहान अर्लामसँगै बज्ने आवाज यही हो जसले मेरो मिठो निन्द्रा र मिठो सपनालाई बिथोलीदिन्छ। यस्तै छे आकांक्षा मेरी श्रीमती जो कुरा कुरामा मेरो अपमान गर्न पछि पर्दिन। रातरातभरी पढेर बसेको त उसले कहाँ देख्छे र? प्रोफेसर परेँ, आफूले नपढी विद्यार्थीलाई पढाउन जाने कुरा पनि त भएन। फेरि यो विदेशको ठाउँमा कति दुःख गरेर आज यो स्थानमा पुगेको छु। यो कुरा त उसले कहाँ देख्छे र?

***

भर्खरै कलेजतिर पढाउन थालेको थिएँ। ३० वर्षको उमेर भए पनि जे कुरा पनि आर्कषक लाग्थ्यो मलाई। मन बच्चा जस्तै थियो। मान्छे पनि त्यति धेरै परिपक्क भईसकेको थिईन। अरू कुरा जेसुकै होस् तर एउटा कुरामा गर्व महसुस हुन्थ्यो। विद्यार्थीहरू मैले पढाएपछि पूरै मोहित हुन्थे। उनीहरु मसँग पढ्न बढी रूचाउँथे।

मैले नै पढाउने कक्षामा अति ट्यालेन्टेड विद्यार्थी थिई अंशु। थाहा छैन कहिले कोही केटी साथीसमेत नभएको मलाई अंशुको सुन्दरताले किन त्यती आर्कषित गर्थ्यो। उसको कक्षामा मैले जम्मा एउटा मात्रै विषय पढाउनुपर्ने भए पनि अनेक वाहनामा म त्यो कक्षा पुगिरहन्थे मात्रै उसलाई हेर्नको लागि। स्नातक दोस्रो वर्षमा पढ्दै गरेकी अंशु सबैकुराले भरिपूर्ण थिई।

मनभरी अंशुप्रति अपार माया छचल्किए पनि मुखले त्यो कुरा कहिल्यै व्यक्त गर्न सकेको थिइनँ। उसले स्नातक अन्तिम वर्षको परीक्षा सकेको केही दिनपछि मैले उसलाई फोन गरेर भेट्न बोलाएँ। पहिला त मेरो स्वर सुनेर ऊ अक्मकाई। उसको मनोभाव बुझेर मैले नै उसलाई भनिदिएँ ‘पिर नगर अंशु म यसपटक सर बनेर होइन साथी बनेर तिमीसँग भेट्न चाहन्छु,’ मैले यति भनेपछि उसले आउने बाचा गरेर फोन राखी।

मेरो मन त्यसै त्यसै रमायो। मैले दिएकै समयमा मैले भनेकै क्याफेमा अंशु आई। ऊ निकै डराए झैं देखिन्थी। मैले उसको लागि वातावरण सहज बनाईदिएँ। उसले अकमकाउँदै भनी ‘स..र किन बोलाउनुभएको मलाई? कतै मबाट केही गल्ती......’ उसको कुरालाई मैले बिचैमा रोक्दै भनेँ, ‘हैन हैन अंशु, तिमीबाट केही गल्ती भएको छैन। म त यति मात्र भन्न चाहन्छु कि ‘आई लभ यू’ रोक्दा रोक्दै मेरो मुखबाट यो शब्द फुस्किहाल्यो। मेरो कुरा सुनेर अंशुले एकटकले मलाई हेरिरही तर केही बोल्न सकिन। उसको अनुहारमा झल्किएको भाव पढ्दै मैले भनेँ, ‘यो मेरो मनमा चलेको कुरा मैले तिमीलाई भनेँ, बाँकी तिम्रो विचार।’

 मेरो कुरा सुनेर उसले एकछिनमा भनी ‘आई लभ यू टु सर  तर.....’ यो ‘तर’ भन्ने शब्दले मेरो भर्खरै मनमा पलाउँदै गरेको खुशीमा तुसारो लाग्यो।’ मैले अलि विरक्तिएर भनेँ ‘तर के?’ उसले अलि डराए झैं गरेर भनी, ‘मेरो ममी, ड्याडी अलि कडा हुनुहुन्छ अनि मलाई लाग्दैन कि उहाँहरुले आफ्नो छोरीको सम्बन्ध उसकै कलेजमा पढाउने उसको सरसँग रहेको कुरा स्वीकार्नु हुनेछ।’ मैले पूरै विश्वासका साथ भनेँ, ‘त्यसको जिम्मा तिमी मलाई छोडिदेऊ।’ मेरो कुरा सुनेर उसले राहत महसुस गरी।

यसरी त्यसपछिका दिनहरुमा अंशु र म नजिकदैं गयौ। करीव २ वर्षको सम्बन्धपछि एकदिन अंशुले उसको घरमा कुरा गर्न आउन मलाई आग्रह गरी। उसको ममी ड्याडीलाई मनाउन कठिन भए पनि असम्भव थिएन भन्ने कुरामा म विश्वस्त थिएँ। अनि मेरो ममी ड्याडीले त झन् मेरो कुनै कुरा नकार्नु भएको थिएन। एकदिन साँझ ड्याडी किताव पढेर बसिरहनुभएको बेलामा मैले गएर अंशुको बारेमा भनेँ। मेरो कुरा सुनेर ड्याडीले कड्किदैं भन्नुभयो, ‘तैंले कोही पाईनस विराज? आफ्नै कलेजमा पढ्ने विद्यार्थीलाई.....’

यसपटक ड्याडीको कुरा सुनेर मलाई पूरै आकाश मैमाथि खसे झैं लाग्यो। हरेक पटक मेरो सबैकुरा पूरा गरिदिने ड्याडीले मेरो कुरा यसरी अस्वीकार गर्नुभयो कि मलाई विश्वास लागिरहेको थिएन। त्यति मात्रै कहाँ हो र उहाँले त अंशुको चरित्रमा समेत औला उठाउनुभयो। यसपटक मैले सहन सकिनँ अनि अलि कराउँदै भनेँ, ‘अब चुप लाग्नुस् ड्याडी? अंशुसँग विवाह गर्ने निर्णय मेरो आफ्नै हो।’

अंशुले आफ्नो परिवारले हाम्रो सम्बन्ध स्वीकार्नु हुन्न भन्ने ठान्थी तर यहाँ अवस्था ठ्याक्कै विपरित निस्कियो। अंशुले मलाई उसको ममी ड्याडीले हाम्रो सम्बन्ध स्वीकार्नु भएको कुरा सुनाउन फोन गर्दा म ड्याडी र ममीले हाम्रो सम्बन्ध नस्विकारेकोमा क्षतविक्षत मन लिएर बसिरहेको थिएँ।

अंशुलाई म माया त धेरै नै गर्थेँ। तर परिवारको विरुद्धमा गएर अंशुसँग विवाह गर्ने कुरा मैले सोच्न सकिनँ। ममि ड्याडीको एक्लो सन्तान थिएँ म, अनि कसरी उहाँहरुको विरुद्धमा जान सक्थेँ र। यसरी म बिना कुनै जानकारी अंशुबाट टाढिदै गएँ। दिनमा पटकपटक फोन गर्थी अंशु। लामो म्यासेज गर्थी, आक्रोश पोख्थी। म चुपचाप बस्थेँ। अनि मनमनै भन्थेँ, ‘सायद तिमीले भन्दा बढी माया म तिमीलाई गर्छु तर पनि मैले तिमीलाई आफ्नो बनाउन सकिनँ।’

यसरी अंशुलाई कुनै खबर नै नगरी ड्याडी ममीको ईच्छा पूरा गर्न मैले आफ्नै खुशीको हत्या गरिदिएँ। अनि ड्याडी ममिकै रोजाईमा परेकी आकांक्षासँग मैले दुई चार पटक भेटेको भरमा विवाह गरेँ। विवाहपछि मलाई किनकिन नेपाल बस्नै ईच्छा हराएर जान थाल्यो।

त्यसदिन पत्रिका पढ्न हातमा लिँदा लिँदै मैले देखेँ फ्रन्ट पेजमा अंशुको फोटो छापिएको थियो जसको तल लेखिएको थियो, स्नातक परक्षामार्वोत्कृष्ट अंक ल्याएर पूरै नेपाल टप गर्ने अंशु रिजाललाई हार्दिक बधाई। लन्डन जाने तयारी गरिरहेको कारणले गर्दा मैले पढाउन छोडिसकेको थिएँ। त्यसैले कलेजको वातावरणसँग म पूरै अनभिज्ञ भईसकेको थिएँ। आज यत्रो समयपछि अंशुको फोटो पत्रिकामा देखेपछि उसलाई बधाई नदिई म बस्नै सकिनँ। मैले उसलाई फेसबुकमा म्योसेज पठाएँ, ‘बधाई छ अंशु’ उसले मेरो म्यासेज हेरी तर कुनै प्रतिक्रिया दिईन। यसपटक मेरो मन नराम्रोसँग कुडियो।

समयसँगै घाउहरु पुरिँदै जान्छन्। तर कहिलेकाहीँ पूरानो घाउ निको हुन नपाउँदै अर्को नयाँ घाउ पनि पलाउन सुरु गर्छ। मेरो जीवनमा त्यस्तै भयो। अंशुसँगको पूरानो सम्बन्ध बिर्सिदै आकांक्षासँग सम्बन्ध मजबुद बनाउन खोजेँ। तर उसको दिमागमा यति नकारात्मक कुरा भरिएको हुन्थ्यो कि म चाहे जतिसुकै कोशिश गरौं ऊ सकारात्मक हुनै सक्दिनँ थिई।

लण्डन जाने तयारी गर्दागर्दै अनि सबैको चित्त बुझाउँदा बुझाउँदै मैले अर्को दुई वर्ष कटाएँ। यस बिचमा मैले मास्टर्स सकेर पिएचडीको लागि लण्डनमा एप्लाई गरेँ। त्यसपछि नयाँ सम्बन्ध सुधार्ने आशामा पूरानो सम्बन्धलाई बिर्सिदै आकांक्षालाई लिएर लण्डन आएँ।

सुरूका दिनहरुमा निकै संर्घष गर्नुपर्‍यो। हुन त आकांक्षा मेरो साथमा थिई। तर ऊ भएर पनि म आफूलाई नितान्त एक्लो महसुस गर्थेँ। उसको र मेरो बिचमा सामान्य औपचारिक कुरा बाहेक केही पनि हुँदैनथ्यो। यो सबै हुनुको पछाडि मेरै ठूलो गल्ती थियो। उसलाई नबुझी विवाह गर्नु नै मेरो ठूलो भूल भयो। आज लण्डन आएको १० वर्ष भईसक्यो, साथमा एउटा छोरा र एउटी छोरी छन्। राम्रो जागिर छ। राम्रो कमाई छ। सबैकुराले भरिपूर्ण हुँदाहुदै पनि मलाई कसैको अभाव खड्किन्छ।

सुरूसुरूमा संर्घष गर्दा मलाई कहिल्यै कुनै कुराको याद आउँदैन थियो। तर आजभोलि साह्रै नेपालको याद आउन थालेको छ। बच्चाबच्चीको स्कूल पनि विदा छ। त्यसैले सबै परिवार नेपाल जानुपर्छ भन्ने सोच मनमा आयो। मैले आकांक्षालाई भनेँ, ‘अब हामी केही महिना नेपाल जाऊँ न है। ममि ड्याडीको पनि याद आईरहेको छ। केटाकेटी पनि फ्रेस हुन्छन्।’ मेरो कुरा सकिन नपाउँदै उसले आक्रोश व्यक्त गरी, ‘नेपाल जाँदा कति खर्च हुन्छ हजुरलाई थाहा छ नि? अनि खाली हात जाने कुरा भएन हजुरको ड्याडी ममिलाई पनि केही लग्दिन पर्‍यो।’ उसको अन्तिम वाक्यले मेरो मन नराम्ररी बिझ्यो मैले यसपटक असन्तुष्टी व्यक्त गर्दै भनेँ, ‘हजुरको? के मेरो ममि ड्याडी तिम्रो कोही हैन?’ उसले मेरो कुरालाई ध्यानै नदिई भनी, ‘ह्या हजुरसँग त कुरा गर्नु नै बेकार छ। हजुर जाने भए गईस्यो म त जाँदिनँ,’ उसले त्यति भनेपछि मैले आफ्नो लागि मात्रै नेपाल जाने फ्लाईटको टिकट लिएँ।

छोराछोरीले पनि नेपाल जाने ईच्छा देखानन्। ईच्छा देखाउन् पनि कसरी? त्यही फोनमा कहिले काहीँ कुरा गर्ने हो आफ्नो हजुरबुवा हजुरआमासँग उनीहरूले। मेरो चाहना थियो कि मेरा बच्चाहरू लन्डनमा हुर्केर बढे पनि उनीहरु नेपाली बनुन्, नेपाली बोलुन्। तर अह ! त्यस्तो केही भएन।  यी सबैकुराको तीव्र विरोध गर्थी आकांक्षा। छोराछोरीले अंग्रेजी बोल्दा मख्ख पर्थी। कहिलेकाहीं मलाई डर लाग्थ्यो कतै मेरा छोराछोरीले नेपाली संस्कार नै थाहा नपाउने पो हुन् कि? आकांक्षा त मलाई समेत रोक्न चाहन्थी नेपाल जानबाट तर मैले उसको यसपटक कुनै कुरा सुनिन।

म विचलित मन लिएर एक्लै नेपालको लागि उडेँ। मसँग प्लेनमा बस्ने महिलाको अनुहारमा मेरो आँखा गयो। म निकैबेर घोतलिएको चाल पाएर उसले पनि मलाई  हेरी।  उसको अनुहारको रंग उडेको थियो। कुनै चमक थिएन। हेर्दा त्यस्तै ३०/३५ वर्ष जस्तो देखिन्थी।

उसले मेरो नाम सोधी, घर परिवारको बारेमा सोधी विवाहित, अविवाहित सबै सोधी। मैले उसको सबै प्रश्नको झर्को नमानी जवाफ दिएँ। उसले मेरो आँखामा हेर्दै भनी ‘मेरो कथा सुन्नुहुन्छ?’ मलाई अचम्म लाग्यो। किन सुनाउन चाहन्छे उ मलाई कथा? भर्खर आधा घण्टा पनि भएको छैन भेट भएको। मैले अनौठो भावमा उसको अनुहारमा हेर्दै भनेँ। ‘कस्तो कथा सुनाउनु न?’ मेरो अनुमति पाएपछि उसले एकनासले बोल्न थाली। ‘मेरो विवाह मेरो ईच्छा विपरित एक जाना धनाढ्य व्यक्तिसँग भयो। सबैकुरा भरिपूर्ण त्यो घरमा म कहिल्यै खुशी हुन सकिनँ। मेरो लागि कोही थिएन। श्रीमानलाई त सधैं साथीहरूसँग घुमेरै फुर्सद हुन्थेन। मलाई कहिल्यै माया र सपोर्ट गर्नुहुन्थेन। काममा पनि कहिल्यै टिक्न सक्नुभएन। सधैं उहाँ आफूले काम गर्ने ठाउँ फेर्दै बस्नुहुन्थ्यो। उहाँको कुराले आजित भएर मैले नै उहाँलाई लण्डनसँगै आउन आग्रह गरेँ। मलाई लाग्थ्यो यहाँ आए पछि उहाँले आफ्नो करियर फोकस गर्न सक्नुहुन्छ। तर मैले सोचेजस्तो केही पनि भएन। उल्टै उहाँ आफूले मन लागेको गर्न थाल्नुभयो। कहिलेकाही मलाई हात पनि उठाउनुहुन्थ्यो।’

उसले यति भनेपछि म नबोली बस्न सकिनँ, ‘त्यति सबै गर्दा पनि कम्प्लेन गर्न सकेनौं तिमीले? यो ठूलो ईस्यू हो नि।’ उसले उदास हुँदै भनी, ‘कम्प्लेन गर्न त मन थियो नि तर एकदम प्रोसेस लामो रहेछ। त्यसैले गरिनँ।’ हेयरहोस्टेजले वियर ल्याई मैले ‘नो थ्यांक्स् भन्दै उसैलाई फर्काईदिएँ। मैले वियर फर्काएको देखेर उसले सोधी ‘डिंक्स् गर्नुहुन्न?’ मैले भनें, ‘अह! गर्दिनँ’ उसले फेरि अचम्म मानेर सोधी, ‘बियर नपिउने नि कोही हुन्छ र?’ मैले यसपटक अलि झिजो माने झैं गरेर भनें, ‘म छु देखेनौ र?’ त्यसपछि उ चुप भई। केहीबेर हामी बिच मौनता छायो। मैले फेरि मौनता तोड्दै भनेँ, ‘होलिडेमा जाँदैंछौ?’ उसले भनी, ‘हैन, सधैंको लागि फर्केर जाँदैछु। यो विदेशमा लथालिंग जीवन बाँच्न मन लागेन।’ अनि मैले फेरि तुरुन्तै सोधीहालेँ ‘अनि तिम्रो श्रीमान?’ उसले ठूलो आँखा पारेर भनी, ‘मैले सबै छोडेर हिँडेको। उ त अरु नै कोहीसँग लिभिङ रिलेसनसँग बस्छ।’ मलाई देख्दै नदेखेको त्यो पुरुषप्रति एक्कासी रिस उठ्यो। कहाँ मेरी आकांक्षा जो कुराकुरामा मेरो चित्त दुखाउँथी अनि कहाँ यो पीडित महिला।

यत्रोबेर कुरा भईसक्दा पनि मैले उसको नाम सोध्न बिर्सेछु। मैले केही सम्झेँ झै गरेर भनें, ‘तिम्रो नाम के हो?’ उसले आँखाभरी आँशु पार्दै मलाई हेरेर भनी, ‘म त्यही हुँ जसलाई तपाईँले मायाको आश्वासन देखाएर बिच बाटोमा छोडेर लण्डन आउनुभएको थियो।’ मेरो ओठ अन्यासै थरथरायो ‘अ.....अंशु।

प्रकाशित मिति: : 2020-06-20 22:10:00

प्रतिकृया दिनुहोस्