चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस केही दिनमै विश्वभर बालकदेखि वृद्धसम्म र धनीदेखि गरिबसम्मलाई आफ्नो खतरनाक अंगालोमा हालेर प्राणशोषक म्वाइ खान थाल्यो।
जसका कारण आजसम्म ४ लाख ५६ हजारको ज्यान लिइसक्यो भने करीब ८६ लाख मानिसहरू संक्रमित भइसकेका छन्। यसमध्ये ४५ लाख मानिसले रोगमाथि विजय प्राप्त गरिसकेका छन्।
यो कोरोना संक्रमणको भयंकर महामारीको रूप थियो। अझै पनि नित्यशः संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दो छ। साथै भाइरसमाथि विजय पाउनेको संख्यामा उल्लेख्य सुधार भइरहेको छ।
संक्रमितहरुको मृत्यु हुनेमा प्रायः ह्दयरोगी, डायबिटिज, यकृत रोगी, अस्थमेटिक रोगी तथा देश काल अनुसार उमेर नाघेका रोगप्रतिरोधात्मक क्षमता गुमाएका वृद्ध मानिसहरुको संख्या अधिक छ। यद्यपी पाँच वर्ष मुनिका नवजात शिशुहरू जसको रोग प्रतिरोधात्मक क्षमता विकसित नहुँदा उनीहरू कोरोना भाइरसबाट संक्रमित भइरहेका छन्।
ती पुराना रोगीहरुले निश्चयतः सो रोगका लागि आवश्यक चिकित्सिकीय सल्लाह बोजिम रोग प्रतिरोधात्मक औषधिको नियमित सेवन गर्ने गरेका हुन्छन्। उनीहरुको रोग प्रतिरोधात्मक क्षमता दिनानुदिन न्यून हुँदै गइरहेको हुन्छ। यस्तो अवस्थामा यस प्रकारको भयंकर भाइरसले आक्रमण गरेपछि सोत्तर हुनुपर्ने अवस्था अवश्य नै आइपर्छ।
चिन्तनीय तथा अग्रसोचनीय कुरा के छ भने विश्वभरिमा किशोर, नवयौवन प्राप्त तथा जवान वर्गका जनमानसले यस कोरोना भाइरसमाथि विजय–सवारी नै गरेको तथ्य सर्व उजागर छ। यस भाइरसबाट विश्व समुदायले यति साह्रो त्रसित हुनुपर्ने वास्तवमा प्रासङ्गिक भने थिएन। तर भेंड़चाल झै सम्पूर्ण विश्वभरिका चिन्तक, चिकित्सक, नीतिज्ञ तथा जनसाधारणले यसबाट अत्याधिक आतंकको सृजना गर्दै सरकारलाई संक्रमणबाट बच्ने उपाय देखाउनुभन्दा ‘लकडाउन’ गर्न बाध्य पारे।
आवश्यक घर धन्दाको लागि घरबाट बाहिर निस्कने बेला कान समातेर उठ–बस गराउने तथा ढाड़माथि डण्डा हिर्काउने अत्याचार समेत गरे। अत्यावश्यक कामको लागि घरबाट बाहिर निस्कनु कुनै सार्वजनिक अपराध होइन। नुन, तेल, खाद्य सामग्रीको लागि चेष्टा गर्नु भनेको कुनै सामाजिक अपराध पनि होइन। दैनिक जीवन यापन गर्न तथा आफन्तको प्राण रक्षाका लागि हातको नङ्ग्रा खियाउन जानु कुनै शरम पनि होइन। तर निमुखा जनसाधारणको यो क्रियाकलाप सरकारमा निर्वाचित अदूरदर्शी नेताका लागि दण्डजन्य अपराध महसुश भयो। फलस्वरूप उनीहरुले आ–आफ्नो देशमा लकडाउनको घोषणा गरे।
संसारको कुनै पनि दण्ड संहितामा उल्लेख न भएको कानुन प्रयोग गरि यस्ता निमूखा जनताको ढाड़मा अमानवीय तवरले डण्डा वर्साउन आदेश दिए। यद्यपी यसको सकारात्मक कुनै परिणाम निस्किएन।
झन यसको प्रसार भयावह रूपमा देखियो, भोगियो। यो सरकारको समस्या पक्कै नभइ जनसाधारणको स्वप्राण–रक्षा गर्ने आफ्नो रितिथिति र सामाजिक मान्यता अनुसार समाधान गर्नुपर्ने समस्या थियो।
डण्डाको भरमा लकडाउन लागू गर्नुको सट्टा जनसाधारणलाई यसप्रति इमान्दारिता देखाउन उत्प्रेरित गरेर हौसला बढ़ाउनुपर्ने आवश्यक थियो।
हो, कोरोना भाइरस मानवबाट मानवमा सर्ने सरूवा रोग हो। यो रोगको भाइरस मौसमी रूघा–खोकी, उच्च ज्वरो आउनु, जिउ कट्कट् खानु, दुख्नु, दुबै प्रकारको खोकी लाग्नु (सुक्खा र शुष्क), कोभिड–१९, एच.आइ.भी. आदि प्रसारजन्य रोगहरु आर.एन.ए. परिवारकै सदस्य हुन्।
यी भाइरसको विस्तार विश्वभरिमै बढ़दै जादा प्रसार क्षमता आफ से आफ कम्ति हुँदै जाने प्रवृति हो। सो प्रकृया जारी छ, जो अहिले विश्वभरिमै देखिदो छ। यस रोगबाट मुक्त हुन तथा भविष्यमा यो रोगको संक्रमण फैलिन न पाउने कुनै टिकाको अविष्कार भइसकेको छैन। यस्तो अवस्थामा पनि भाइरसमुक्त भएर मानिसहरू पूर्ववत स्वस्थ्य र सुखी जीवनतिर फर्कदै गरेका रोगीहरुको संख्या आशालाग्दा तथा सुखद छ।
कोरोना संक्रमण भएको सुरूवाती दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस रोगबाट मृत्यु हुनेहरुको संख्या आउँदा महिनामा दुई लाख नाघ्नेछ भने लख काटेका थिए, उनको अनुमान लगभग मिल्न गएको छ। उनले त्यो अनुमान कसरी लगाएका थिए, विचारणीय छ।
त्यस्तै छिमेकी राष्ट्र भारतका दिल्ली प्रदेशका उप मुख्य मन्त्रीले आगामी जुलाई महिनासम्ममा कोरोना भाइरस संक्रमित हुनेको संख्या पाँच लाखसम्म पुग्नेछ भने लख काटेका थिए।
यस्ता महान राजनीतिज्ञले यस प्रकार गरेको अनुमान अर्थपूर्ण छ। यस प्रकारका अनुमान गरिरहेकै बेला पूर्व घोषित लकडाउन खुकुलो पारिदै छ। यसको अर्थ के हो त भन्दा स्वास्थ्यविद्हरुको भनाइ अनुसार अब उप्रान्त कोरोना भाइरस हाम्रो समाज र वातावरणमा आफ्ना अन्य निकट सम्बन्धिहरु झैं (आर. एन. ए. परिवारका अन्य सदस्य भाइरसहरु झैं) हामी सँगै रहनेछन्।
यस रोगबाट भयाक्रान्त हुनु आवश्यक छैन। हो, यसको संक्रमणबाट जोगिन पूर्ण सजगता भन्ने आवश्यक रहनेछ। सामाजिक दूरी, विशेष सर–सफाइ तथा स्वस्थ्यकर आचरण इमान्दारीपूर्वक पुरा गर्न अनिवार्य छ। अझै विशेष गरि भाइरसको प्रकोपबाट बच्न प्रत्येक व्यक्तिमा स्वप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्छ। यसका लागि नियमित व्यायाम, सन्तुलीत भोजन तथा भिटामिन र मिनिरलको प्रयोग अत्यावश्यक छ।
कोरोना भाइरस अब हामीसँगै रहने भएपछि ऋग्वेदको ऋचाको सम्झना आउँछ–कोरोना–संगच्छध्वं...!(कोरोना सङ्गै हिँड़...!)