कर्णाली प्रदेशमा बजेटमाथिको छलफल जारी

कर्णाली प्रदेश सरकारको आगामी आव ०७७/०७८ को बजेटमाथि बुधबारबाट शुरु भएको छलफल बिहीबार पनि जारी रहेको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको बिहीबार बसेको १५औँ बैठकका छलफलमा भाग लिँदै नेकपा कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलाबजङ्ग शाहले जनता सडक कार्यक्रम यो वर्ष शहीद भएको टिप्पणी गरे । 

पालमुनि बसेका बाढीपीडितको घर निर्माण र स्थानीय तहका जनप्रतिनिधिको मर्का सम्बोधन गर्नतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । त्यस्तै, सचेतक सीताकुमारी नेपालीले महामारी, भोकमारी र रोजगारीका लागि बजेट पर्याप्त देखिएको यद्यपि अङ्क नतोक्दा आशङ्का पैदा हुने टिप्पणी गरिन् ।

यता प्रदेशसभा सदस्य दानसिंह परियारले बजेटले दलितलाई मूलप्रवाहीकरण गर्न सक्ने वा नसक्ने भन्ने कुरामा प्रश्न गरे । बजेट बुर्जुवा प्रकृतिको भएको टिप्पणी गर्दै सदस्य परियारले दलित र विपन्न वर्ग लाभान्वित हुने गरी कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरे । 

बजेटमाथि छलफलमा प्रदेशसभा सदस्य धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, कृष्णा शाह, राजु नेपाली, दिनबन्धु श्रेष्ठ, यज्ञ बिसी, झोवा विक, पद्मा खड्का, अमृता शाही, सोशिला शाही, बीरबहादुर शाहीलगायतले आफ्ना धारणा राखेका थिए ।  बजेटमाथिको छलफल आज पनि जारी रहने सभामुख राजबहादुर शाहीले जानकारी दिए । रासस

प्रकाशित मिति: : 2020-06-19 07:31:35

प्रतिकृया दिनुहोस्