दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत, चिनियाँ सेनामाथि बढ्याे खतरा

अमेरिकाले प्रशान्त महासागरमा ३ वटा युद्धपोत परिचालन गरेको छ। अमेरिकाले थिओडोर रुजवेल्ट, रोनाल्ड रेगन र निमित्ज र निमित्ज युद्धपोत तैनाथ गरेको हो।

अमेरिकी नौसेनाका अनुसार रेगन र रुजबेल्ट पश्चिमी प्रशान्त महासागरमा तैनाथ गरिएको छ भने निमित्ज युपोत पूर्वी चीन सागरमा तैनाथ गरिएको छ। 

३ वटा युद्धपोतको वजन १ लाख टन रहेको बताइएको छ भने ६० वटा लडाकू विमानहरु तैनाथ रहेका छन्। सन् २०१७ मा उत्तरकोरियासँगको विवाद चर्किएपछि पहिलोपटक यो क्षेत्रमा अमेरिकाले आफ्ना युद्धपोतहरु तैनाथ गर्न सुरु गरेको थियो।
 
चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार अमेरिकाको यो कदमबाट दक्षिण चीन सागरमा चिनियाँ सेनामाथि खतरा बढेको छ।

अमेरिकी युद्धपोतहरु तैनाथ भएलगत्तै चिनियाँ नौसेनाका विशेषज्ञ ली जीले भनेका छन्, ‘अमेरिका यो ढंगले प्रशान्त क्षेत्र लगायत सम्पूर्ण विश्वमा आफुलाई सबैभन्दा शक्तिशाली नौसेना शक्तिका रुपमा देखाउने कोसिस गरिरहेको छ। उनीहरु यति नजिक छन् कि जतिबेला पनि चीन सागरमा घुस्न सक्छन्।’

चिनियाँ नौसेना विशेषज्ञहरुका अनुसार प्रशान्त महासागरमा अमेरिकी युद्धपोतहरुको उपस्थितिले स्प्राटली र पारसल टापुमा रहेका चिनियाँ सेनामाथि खतरा देखिएको छ र ती टापुहरुमा जाने जहाजहरु पनि जोखिममा परेका छन्। 

तर अमेरिकाले युद्धपोत तैनाथ गर्नुमा कुनै राजनीतिक कारण नभएको बताएको छ।  

अमेरिकी नौसेनाका प्रवक्ता कमाण्डर रियन मोम्सेनले भने,‘अमेरिकी नौसेना प्रशान्त क्षेत्रमा हरेक दिन सक्रिय रहन्छ। यस क्षेत्रमा हामी आफ्ना मित्रहरुलाई सहयोग गर्न हामी उपस्थित भएको हौं। यो प्रशान्त महासागरमा सुरक्षा व्यवस्था र शान्ति कायम गर्ने हाम्रा धेरै तरिकाहरुमध्ये एक हो।’

उनले विगत ७५ वर्षदेखि अमेरिकी जहाजहरु नियमित रुपमा दक्षिण चीन सागर, पूर्वी चीन सागर र फिलिपिन्स सागरमा गस्ती गर्दै आएको पनि बताएका छन्।

दक्षिण चीन सागरमा अमेरिका र चीनबीच विगत देखिनै तनाव हुँदै आएको छ। सन् २०१८ मा अमेरिकी विमानले दक्षिण चीन सागरमा उडान भरेको थियो। यो उडानप्रति चीनले तत्काल आपत्ति जनाएको थियो।  

यो वर्ष अप्रिल ६ मा चीन र अमेरिकी युद्धपोतहरु १०० मिटरको दूरीमा आमने सामने भएका थिए। सन् २०१८ अक्टुबरमा पनि एक चिनियाँ युद्धपोत अमेरिकी युद्धपोतभन्दा ४१ मिटर नजिक पुगेको थियो।

दक्षिण चीन सागर एक विवादित समुद्री क्षेत्र हो। जुन क्षेत्रमा चीन, भियतनाम, फिलिपिन्स र ताइवाले आ–आफ्नो दावी गर्दै आइरहेका छन्। यद्यपि, यो अहिले चीनको कब्जामा रहेको छ।

प्रकाशित मिति: : 2020-06-19 06:23:40

प्रतिकृया दिनुहोस्