बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा ट्रम्प प्रशासन

अमेरिकाको न्याय विभागले ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तक प्रकाशन रोक्नका अन्तिम प्रयासमा लागि परेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावको मुखमा अति समस्यामा पार्ने देखिएपछि पुस्तक प्रकाशन हुनबाट रोक्ने लागेको हो। 

‘द रुम ह्वेयर इट ह्यापेन्ड’ नाम गरेको बोल्टनको पुस्तक जुन २३ अर्थात आउँदो मंगलबार प्रकाशित हुँदैछ।

बोल्टन सन् २०१८ को अप्रिलमा ह्वाइट हाउसमा सुरक्षा सल्लाहकारका रुपमा जिम्मेवारी सम्हालेका थिए। उनी सन् २०१९ को सेप्टेम्बरमा जिम्मेवारीबाट बाहिरिएका थिए।

उनले ह्वाइट हाउसमा कार्यरत रहँदाको अनुभव समेटेर लेखेको पुस्तक प्रकाशनको तयारी गरेपछि न्याय विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो। पुस्तकमा अति गोप्य वर्गिकृत जानकारी रहेको भन्दै ट्रम्प प्रशासनको दाबी छ।

बोल्टनले पुस्तकमा ट्रम्पमाथि लगाएका धेरै आरोप मध्ये यो वर्ष नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफूलाई निर्वाचित गराउनका लागि चीनका राष्ट्रपति सीसँग सहयोग मागेको भन्ने एक हो।

यता बोल्टनको पुस्तकमा ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर त्यहाँका राष्ट्रपतिलाई जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न दबाब दिएको कुरा विस्तृतमा उल्लेख गरहेको पनि दाबी गरिन्छ।

सोही कार्यका लागि ट्रम्पले सदनमा महाअभियोगको सामना गर्नु परेको थियो। महाअभियोगको अनुसन्धान युक्रेनबाट अरुतर्फ पनि गएको भए नतिजा अर्कै आउन सक्ने बोल्टनको भनाई छ। यसको अर्थ उनले चीनसँग ट्रम्पले प्राप्त गर्न खोजेको सहयोग तर्फ इंगिद गरेका हुन्।

न्याय विभागले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर सो पुस्तक प्रकाशन तत्काल रोक्न माग गरेर मुद्दा दायर गरेको छ। गैरसरकारी संस्था अमेरिकन सिभिल लिबर्टिज युनियनले बोल्टनको पुस्तक प्रकाशन हुनबाट रोक्ने ट्रम्प प्रशासनको कुनै पनि प्रयास सफल नहुने बताएको छ।

यस्तै अमेरिकी सञ्चारमाध्यमहरुले बोल्टनको पुस्तकको केही अंशहरुमा रहेका कुरा प्रकाशित गरिसकेका छन्।

गएको जनवरीमा राष्ट्रपति कार्यालयले बोल्टनको पुस्तकमा अति गोप्य जानकारीको विस्तृतमा उल्लेख रहेको भन्दै सो कुरा पुस्तकबाट हटाइनु पर्ने बताएको थियो। तर बोल्टनले सो कुरा अस्वीकार गरेका थिए।

यता राष्ट्रपति ट्रम्पले बुधबार हालै प्रकाशित किताबमा लगाइएका आरोपहरूलाई ‘शुद्ध कथा’ भएको टिप्पणी गरेका छन्। 

राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत जारी सन्देशमा पूर्व राष्ट्रिय सुरक्षा अधिकारी बोल्टनलाई ‘सिक पपी’ भन्दै उनको कृतिलाई राष्ट्रपतिलाई खराब सावित गर्न ‘झूट तथा बनाइएका कथाहरूको सङ्कलन’ बताएका छन्। 

‘पुस्तकमा मेरोबारेमा लेखिएका धेरैजसो भनाइहरू मलाई कहिल्यै कसैले नलगाएका कपोलकल्पित आरोप, शुद्ध कथाहरू छन्,’ उनले भने।

ह्वाइट हाउसले गलत कामहरूलाई रोक्ने पहल गरेको विवरणहरूलाई बोल्टनले तोडमोड गर्दै ‘ट्रम्प राष्ट्रपतिका रूपमा योग्य नभएको’ प्रमाण भएको बताएका छन्। 

प्रकाशित मिति: : 2020-06-19 06:06:20

प्रतिकृया दिनुहोस्