भारत सामान्य अवस्थामा फर्किँदैछ : भारतीय प्रधानमन्त्री मोदी

बिएल संवाददाता

नयाँ दिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फेरि सामान्य अवस्थामा फर्किँदै गरेको बताएका छन्।

बिहीबार उनले विभिन्न बस्तु तथा सेवाहरुको उपभोग तथा माग बढ्दै गएकाले जनजीवन सामान्य हुँदै गएको बताएका हुन्।

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकोले असामान्य बनेको जनजीवन अहिले सामान्य बन्न लागेको उनको भनाइ छ। 

उनले व्यापारिक तथा आर्थिक गतिविधिहरु पनि तीब्र गतिमा बढ्दै गइरहेको बताए। लकडाउनका कारण उत्पादन, बिक्री, माग र उपभोग पनि घटेकोमा अहिले फेरि बढ्न थालेको उनले जानकारी दिए। 

व्यवसायीक कोइला उद्योगको उद्घाटन गर्दै उनले भने, 'पछिल्लो समयमा फेरि पनि उपभोग र माग बढ्दै गएको छ भने आर्थिक गतिविधि र जनजीवन पनि सामान्य हुँदै गएको छ।'

कोरोनाका कारण सिर्जित लकडाउनभन्दा पहिलाको जस्तै अवस्थामा पुग्न लागिसकेको पनि उनले दावी गरे।   

प्रधानमन्त्री मोदीले श्रोतहरुलाई उद्धृत गर्दै बताए अनुसार विद्युत तथा पेट्रोलियम पदार्थको माग पनि पहिला जस्तै हुन थालिसकेको छ।

'यी संकेतहरुले के प्रष्ट पार्दछन् भने आर्थिक गतिविधि तथा जनजीवन पहिलाको जस्तै हुन लागिसकेको छ, हामी पहिलाकै अवस्थामा फर्किदैछौँ,' उनले भने।

कोरोनाका कारण लकडाउन लगाउनु परेको र विगत केही समय ठूलो भारतको अर्थतन्त्रमा समस्या देखिएको तर वर्तमान सामान्य हुँदै गएको उनको भनाइ थियो। 

भारतको प्रगति र बृद्धि सुनिश्चित भएको दावी गर्दै उनले भारतलाई आत्मनिर्भर बनाउने बताए।

'केही हप्तापछि हामीले एन ९५ मास्क, कोरोना टेष्ट किट्स, पिपिई, भेन्टीलेटरलगायतका सामग्रीहरु निर्यात गर्नेछौँ,' प्रधानमन्त्री मोदीले भने।

प्रकाशित मिति: : 2020-06-18 21:25:42

प्रतिकृया दिनुहोस्