हमरी हालत खराव छ ‘क्वैलाई भण्डु हो, गाँउल्यानले दिइवरी चाउचाउ खान्लारीउँ ! (भिडियो)

देवकी विष्ट

काठमाडौं

कसरी मर्छन् क्वारेन्टाइनमा बसेका मानिसहरू?, कसरी हुन्छन् क्वारेन्टाइनमा बसेका महिला बलात्कृत?, कस्तो छ क्वारेन्टाइनको अवस्था? के खान्छन् क्वारेन्टाइनमा बस्ने नेपाली जनता?, यी विषय धेरैका लागि चासोको विषय हो। हामीलाई लाग्छ, ‘क्वारेन्टाइनमा बस्ने व्यक्ति व्यवस्थित भएर बसेका होलान्, हात धुन सावुन पानी होला, नुहाउन राम्रो बाथरूम होला, शौचालयको व्यवस्था होला, ठाँउ–ठाँउमा स्यानिटाईजर होला,’ तर यो कल्पनाबाट तपाईँ मुक्त हुनुस्। ठूलालाई चैन, सानालाई ऐन भने झै यहाँ भारतबाट फर्केका नेपालीका लागि  क्वारेन्टाइन मृत्युको घर जस्तै दयनीय अवस्थामा छ। यूरोप, अमेरिकालगायतका मुलुकबाट ठूला जहाज चढेर फर्कने नेपालीको लागि सुविधा सम्पन्न होटल र पार्टी प्यालेसमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ।

अधिकांश स्थानीय निकायले विद्यालयलाई क्वारेन्टाइन  बनाएको छ। न्यूनतम् सेवा र सुविधासमेत नभएका स्कुलका पुराना भवनका क्वारेन्टाइनमा बेन्चमा सुत्नुपर्ने, पानीको धारा सार्वजनिक, सार्वजनिक शौचालय हुन्छ। जसलाई क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्नुपर्ने हुन्छ।

हिजोआज क्वारेन्टाइनमै महिला बलात्कृत हुनु, गर्भवती महिलाको स्वास्थ्यमा लापवाही हुनु, बालबालिकाको खानपिनमा हेलचेक्रयाई हुनु जस्ता घटनाहरू सामान्य भइसकेका छन्।

नेपालका अधिकांश क्वारेन्टाइनको अवस्था कस्तो छ भनेर कञ्चनपुरको सुखासाल-१० स्थित सिद्धनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सर्वसाधारणले यसलाई क्वारेन्टाइन होइन, मरणटाइन भएको दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसदम गराएको जानकारी अनुसार १० अर्ब भन्दा बढी रकम के यस्तै क्वारेन्टाइन बनाउन खर्च गरेका हुन् त?

भारतको नयाँ दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका प्रकाशलाई यहाँ बस्दा रोग नलाग्ने होइन झन लाग्ने डर लागिरहेको छ। उनीहरू आएको यत्रो समय भइसक्दा पनि न कोही स्वास्थ्य स्थिति बुझ्न आएका छन्। न त खान बस्नको नै राम्रो प्रवन्ध गरिएको छ। ‘हाम्रो अवस्था कसलाई भन्ने? कसले हाम्रो प्रश्नको जवाफ दिने केही थाहा छैन’, उनले भने।

अहिले पनि विद्यालयको क्वारेन्टाइनमा सय जनाभन्दा बढी मानिसहरू बसिरहेका छन्। केही व्यक्तिले बिचमै छोडेर पनि घर गईसकेका छन्।  क्वारेन्टाइनमा थपिने क्रम जारी छ।

गर्मी समय सुरू भएसँगै तराईमा लामखुट्टेको विगविगी छ। कोरोनाको महामारीसँगै डेंगु, मलेरियाजस्तो रोगहरूको समेत खतरा बढेको छ।

दिल्ली सदर बजारबाट नेपाल फर्किएकी राधिका कुनाल (३०) ६ महिनाकी गर्भवती हुन्। उनी पनि सय जनाको हुलसँगै विद्यालयको क्वारेन्टाइनमा बसेकी छन्।

राधिकाले क्वारेन्टाइनमा महिला, पुरूषको छुट्टै शौचालयसमेत छैन भने अरू के आशा राख्नु भन्दै उल्टै प्रश्न गरिन्।

कोरोनाको महामारीभन्दा पनि भोकको महामारी र अव्यवस्थीत व्यवस्थापनले क्वारेन्टाइनमा नेपालीहरू मर्ने सम्भावना बढेको छ। भारतबाट सुदूर पश्चिम र मध्यपश्चिममा आउने नेपालीको अवस्था निकै दयनीय छ। भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बसेका धेरै जसो नेपालीलाई त आफ्नो घरजाने बाटो समेत थाहा छैन।

‘टिप्परमा ल्याएर स्थानीय निकायका प्रतिनिधिले विद्यालयमा छोड्यो’, पवन सुनारले भने, ‘भारतको गड्वालबाट आफ्नो जन्मभूमी फर्किए। तर घर जाने बाटोसमेत मलाई थाहा छैन।

२५ दिनसम्म कहिले पानी, कहिले चाउचाउ गर्दै भोकभोकै नेपाल पुगेका उनले २ हजार भाडा लाग्ने ठाँउमा ६० हजार तिरेर बनवास नाकासम्म आएका उनी गौरीफन्टाबाट नेपाल भित्रिएका हुन्।

राहुल पनि उनीसँगै सिद्धनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेको १० दिन भइसक्यो। राहुल बनवासा नाकाहुँदै मुम्बईबाट ४० हजार तिरेर नेपाल आएका हुन्।

‘बाँच्ने आशा लिएर नेपाल आइपुगेँ। तर स्थानीय निकायले व्यवस्थापन गरेको क्वारेन्टाइनमै मरिन्छ कि भन्ने डरले सताईरहन्छ’, राहुलले भने, ‘हामीलाई वडा अध्यक्षले पनि हेपे। नेपाल पुगेको दिन आफूहरूलाई तपाईँहरुको खाएको खर्च व्यवहोर्नु हुन्छ भने सदरमुकाम नजिकै राख्छौं र खर्च व्यवहोर्नु हुँदैन भने टाढा राख्छौ भनेर विद्यालयमा राखेका हुन्।’

वडाध्यक्ष परमानन्द जोशी क्वारेन्टाइनको गेटमा आएर तपाईँहरुका लागि राम्रो व्यवस्था गर्छु भने पनि त्यहाँबाट भित्र नछिरेको क्वारेन्टाइनमा बसेकाको गुनासो छ।

‘तिमीहरुले मलाई भोट त दिएनौं। के व्यवस्था गर्नू’ भनेर वडाध्यक्षले समेत भन्ने गरेको क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गरेका छन्।

अधिकांश ठाउँमा शौचालय नभएकाले क्वारेन्टाइनमा बस्नेहरू नजिकैको खोलानाला र झाडामा शौचालय जानुपर्ने बाध्यता छ।

यी त नेपाल प्रवेश गरेपछि जिवित रहेका सर्वसाधारणको गुनासो भयो। तर हप्तौदेखि भारतबाट कोही हिँडेर सीमानाका पुगे भने कोही भोक र प्याससहित बसमा पुगे।

धेरै नेपाली बाटोमै संक्रमीत भए। कतिले नेपाली भूमी नपुग्दै ज्यान गुमाए भने कति जना क्वारेन्टाइनमा कोरोनाले भन्दा पनि अरू व्याथाले ज्यान गुमाए। धेरै नेपालीले आफ्नो बाटोको गुनासो नसुनाउँदै मृत्युवरण गर्नुपर्‍यो।

पछिल्लो समय सरकारले समेत आफ्ना नागरिकमा भेदभाव गरेको आरोप लागेको छ।

भारतबाट फर्कने धेरै नेपाली हिड्दा हिड्दै प्राण जाने अवस्थामा पुगे भने यूरोप, अमेरिकालगायतका बिभिन्न देशबाट जहाजमा फर्किनेका लागि सरकारले एयरपोर्टबाटै  सुविधा सम्पन्न गाडीको व्यवस्था गरेर व्यवस्थित क्वारेन्टाइनमा राखेको छ। सरकारको मापदण्ड अनुसार व्यवस्था गरिएका क्वारेन्टाइनमा नेपाली सेनाले रेखदेख गरिरहेका छन्।

यदि भारतबाट फर्कने नेपालीका लागि पनि सरकारले समयमै होस पुर्‍याएको भए आज नेपालमा महामारीले २२ औं जनाको ज्यान लिँदैनथ्यो होला। र सुदूरपश्चिम र मध्यपश्चिमको क्वारेन्टाइन गोठ जस्ता हुँदैनथे।

जेठ ७ गते यता कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका भएर एक लाख भन्दा बढी नेपाली स्वदेश फर्किएको तथ्याङ्क सरकारसँग छ। अझै कयौं नेपाली स्वदेश फर्कने तरखरमा छन्।

असुरक्षित क्वारेन्टाइनमा धेरैको ज्यान पनि गयो। कति आमाका गर्भपतन भए। अझै जनावरको जस्तै खाना खुवाउँदै छ। कुनै रोग नलागेको ब्यक्ति क्वारेन्टाइनमा बस्दा अनेकौं रोग लगेर घर फर्किन बाध्य छन्।

अझै सरकार भन्छ, कोरोनाको नाममा १० अर्ब खर्च भयो। यी गरिबलाई २० दिनसम्म पाल्न नसकेको सरकारका नेता तथा कार्यकर्ताले बिसौँ वर्षदेखि पालिरहेका छन्। नेपालको अर्थतन्त्रलाई बलिया बनाउन भारतमा श्रम बगाइरहेका छन्। भारतबाट आएका नेपालीमाथि आफ्नै देशमा शरणार्थी जस्तै ब्यवहार नहोस्।

प्रकाशित मिति: : 2020-06-18 19:27:00

प्रतिकृया दिनुहोस्