प्रा.डा. प्रेम शर्मा
कोभिड–१९ को महामारीले विश्वव्यापार र भूमण्डलीय पर्यटन गतिविधिमा नराम्रो असर पार्यो । यसको असर सन् १९३० को दशकको आर्थिक मन्दी बराबर हुने देखिएको छ । यो महामारीबाट पश्चिमा धनी मुलुकको तुलनामा पूर्वीय मुलुक कम प्रभावित छन्।
रेमिटेन्समा निर्भर हाम्रो मुलुकले निकट भविष्यमा आय आर्जन तथा रोजगारीको माध्यम परिवर्तन गर्नुपर्ने हुन्छ । युवा जनशक्ति देशभित्रै रहेपछि अबको वैदेशिक रोजगार, शहर केन्द्रित पर्यटन र उपेक्षित एवं गुजारामुखी मात्रै बनेको कृषि व्यवसायमा आमूल परिवर्तन हुनसक्छ।
वैदेशिक रोजगारीमा गएका एक तिहाइ नेपाल फर्कने अनुमान छ । त्यसैले यी युवाशक्तिसँग भएको अनुभव, सीप र ज्ञानलाई गाउँठाउँमै व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम बनाउनुपर्छ । यसले स्थानीय स्तरमा रोजगार सिर्जना र गुणस्तरीय उत्पादनको बजार प्रवद्र्धन गर्छ। आन्तरिक पर्यटन उठाउन पनि साथ दिन्छ।
कृषि उत्पादनलाई वृद्धि गर्दै जान सकियो भने आयातमुखी अर्थतन्त्रमा खाद्यान्नको हिस्सा कम गर्न सकिन्छ । हाम्रो भूमि विश्वका जुनसुकै मुलुकमा उत्पादन हुनसक्ने प्रायः कृषिजन्य सामग्री उत्पादन हुने खालको छ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटनको योगदान ३.७ प्रतिशत छ । तर यो योगदान अब केही समय थाती राख्नुपर्ने भएको छ । अहिले ठप्प रहेको पर्यटन क्षेत्र अझ केही समय चलायमान हुन सक्दैन।