पुस्तक परिचर्चाको कथा
चीनको वुहानमा विस्फोट भएर विश्वव्यापी रुपममा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहेन। यसले सिङ्गो मानवीय जीवनलाई आनका तान परिवर्तन गरिदियो। यसबाट सुरक्षित रहन सकिने स्थान भनिएको घर नै बाहिरी वातावरणको लागि पर्दा बन्यो।
तर इतिहासले भन्छ ‘मानवीय जीवन विकल्परहित छैन।’ अनेक कठिनाइहरुका बीचबाट जीवन जिउने विकल्पहरु निस्कन्छन्। जीवनको अन्तिम क्षणमा पनि विकल्पहरुको खोजी हुन्छ। जसरी अँध्यारोमा उज्यालोको खोजी हुन्छ। चरम निराशाको बीचमा पनि आशाको दियो बाल्ने प्रयत्न हुन्छ। त्यसरी नै कोरोना माहामारीबाट मान्छे कहाँ भागेको छ र! बरु हरदम विकल्पको खोजिमै छ।
यसै पनि मानव विकासको इतिहासमा न यो माहामारी पहिलो हो न त अन्तिम नै। त्यसैले हरेक चुनैतीका पहाडहरु छिचोल्दै मानवीय जीवन अगाडि बढ्नमा अभ्यस्त बनिसकेको छ।
नेपालमा कोरोना दोस्रो संक्रमित फेला पर्दै गर्दा नेपाल सरकारको सातो गइसेकेको थियो। त्यसको लागि पूर्व तयारी गर्ने, आफ्ना नागरिक सुरक्षित राख्ने, भारत वा तेस्रो मुलुकबाट स्वदेश आउनेको उचित व्यवस्थापन लगायत पक्षहरुमा सावधानी अपनाउन नसके पछि सरकारले लकडाउन उपयुक्त विकल्प देख्यो। तोकिएका पसल बाहेक अरु सबै बन्द भए।
तथापी संक्रमितको संख्या ६ हजार नाघिसक्दा भने सरकार लकडाउन खुकुलो गर्ने अवस्थामा आइपुगेको छ।
लकडाउनमा पुस्तक पसल सरकारले तोकेको अत्यावश्यक सेवा भित्र परेन। यस्तो अवस्थामा पाठकहरु नयाँ तथा पुराना किताबको पहुँचमा हुने कुरा भएन। तर पनि यत्तिले त अध्ययनको बाटो बन्द गराउँदैनथ्यो। ज्ञानको दैलो बन्द पनि हुँदैन थियो। यस कुरालाई कुब्लखाँले बेबिलोनको पुस्तकालयमा आगो लगाउँदाको घटना र नेपालमै राणाहरुले विद्यालय नखोल्दा पनि ज्ञान नमरेको कुराले पुष्टि गर्दछ।
त्यसैले लकडाउनमा पुस्तक पसल अत्यावश्यक सेवा भित्र नपरे पनि वैकल्पिक बाटो रोकिएको थिएन। यही बीचमा मान्छेले वैकल्पिक उपायको खोजी गरे। कहिल्यै नसुनेको जुम देखियो। भर्चुअल संसारको नयाँ स्वाद मान्छेले यतिबेलै चाख्यो।
नेपालमा भर्चुअल दुनियाँ मार्फत ज्ञानको दायारा फराकिलो बनाउने अगुवाइ यसै समयमा कर्णालीले गर्यो। कर्णाली रिडर्स सोसाइटी नामको फेसबुक पेजले गर्यो।
‘कोरोनाको विषयलाई लिएर जब नेपाल सरकारले २०७६ चैत्र ११ देखि लकडाउन घोषणा गर्यो तब म सुर्खेत देखि कैलाली (घर) केही थान पुस्तकहरु सहित आइपुगेको थिए। सुर्खेतमै हुँदा गनेश पौडेलको (पैताला) पढेर आधा पढेको थिएँ। कैलाली आएपछि त्यसैलाई सके। पुस्तकले निकै छोएको थियो। अनि मनमा कोही न कोहीलाई त सुनाउनै पर्छ भन्ने लागिरह्यो।
पढेर सकेकै दिन दिउँसो भर्चुअल पुस्तक चर्चाको आइडिया दिमागमा फुर्यो। मैले क्रमशः हरि उपाध्याय, दिव्यराज खड्का, पहल असीम थापा र विनोद शाहीलाई आइडिया शेयर गरे। उहाँहरु पनि यो कुरामा सहमत हुनुभयो। त्यसैबाट कर्णाली रिडर्स सोसाइटी नामक फेसबुक पेजबो जन्म भयोे,’ कर्णाली रिडर्स सोसाइटीको जन्मकथाबारे सचिन तिमिल्सेनाले बिएल नेपाली सेवालाई भने। उनी पेज संचालन गर्ने र पुस्तक परिचर्चा गर्नेसँग सम्पर्क गर्छन्।
‘अध्ययन गरांै, ज्ञान बाढौं’ भन्ने नाराका साथ चैत्र १६ देखि भर्चुअल पुस्तक परिचर्चा अभियान सुरु भयो। अभियानको उद्घाटन दिव्यराज खड्काले ‘द बुक थिप’ नामको पुस्तक चर्चा गरेर गरे।
यसरी सुरु भएको अभियानले कर्णालीका मात्र नभई देश, विदेशमा रहेका पाठकहरुको मन जित्दै गयो। सिमारहित ज्ञानको विस्तार भएझैं यो अभियान फैलियो।
कर्णाली रिडर्स सोसाइटी नामको भर्चुअल प्लेटफार्मबाट कुनै एउटा विधामा रहेर मात्र परिचर्चा भएन। स्वदेशी तथा विदेशी लेखकहरुद्वारा लिखित आख्यान र गैर आख्यान माथि सबै उमेरका पाठकहरुले परिचर्चा गरे। लाइभ हेरिरहेका दर्शकहरुले सबै विधाको स्वाद लिए।
कर्णाली रिडर्स सोसाइटीलाई निहालिरहेका कवि तथा उपन्यासकार भूपिन बताउछन्, ‘लकडाउनको समयमा आफूले भेटेको सबैभन्दा बौद्धिक विमर्शको भर्चुअल दुनियाँ कर्णाली रिडर्स सोसाइटी भयो। यसमा प्रायः अपरिचित मित्रहरूले विभिन्न पुस्तकमाथि गर्नु भएका गम्भीर विमर्शले मलाई पनि प्रसस्त लाभ मिलेको छ। यसलाई मैले केन्द्रिकृत विचारको कोपभाजनमा परेको कर्णालीले देखाएको बौद्धिक ताकतको रुपमा बुझेको छु। आयोजक साथिहरुलाई धन्यवाद।’ कार्यक्रममा उनको उपन्यास ‘मैदारो’ माथि चर्चा भइसको छ।
नेपालको भर्चुअल दुनियाँमा कर्णालीले अगुवाइ गरेको छ। व्यवस्थित रुपमा पुस्तकमाथिको विमर्श यति लामो समयसम्म कर्णाली रिडर्स सोसाइटीले नै गर्यो। त्यपछि यस्ता कार्यक्रम अरु पनि सुरु भए।
यसरी भर्चुअल दुनियामा अगुवाई गरेको कर्णाली रिडर्स सोसाइटीले अपार माया पायो। पेज संचालन गरिरहेको टिमका अर्का सदस्य हरि उपाध्यायलाई विरेन्द्रनगरमा सामुदायिक पुस्तकालय स्थापना अभियान संचालन गर्दै गर्दा प्रत्यक्ष रुपमा ‘पुस्तक विमर्श’ भनेर गरेको अनुभवले समेत यति धेरै उत्साहित हुन नसकेको लाग्छ।
उनी भन्छन्, ‘भचुअल पुस्तक परिचर्चा अभियानले एक खालको उचाइ प्राप्त गरेको पाउँदा कहिले त विश्वासै लाग्दैन। तर यो सत्य हो। यो कुनै मेला र उत्सव भन्दा कम छैन। महामारीको विषम परिस्थितिमा पनि अध्यनशिल साथिहरु जोडिनु भयो। यसले अध्ययन गर्नेहरुको फराकिलो सर्कल निर्माणमा सघाउ पुग्यो।’
कर्णाली रिडर्स सोसाइटीलाई पुल बनाएर अध्ययन संस्कृतिलाई बढाउन अभियान निकै सान्दर्भिक भएको छ। अध्ययन गर्नेहरुमा प्रतिस्पर्धी भावनाको विकास भएको छ। आफूले नसुनेका र आफ्नो पहुँच नपुगेका पुस्तकहरुको बारेमा गनह खालको चर्चा हुँदा अध्ययनमा रुचि भएका पाठकहरु उत्साहित भएका छन्।
उपाध्याय थप्छन्, ‘यसले कर्णालीमा सामुदायिक पुस्तकालय “कर्णाली ज्ञान उधान” (प्रस्तावित) स्थापना अभियानलाई पुनर्जागरण गर्न उत्प्रेरणा प्रदान गरेको छ। अहिले हामीले अनलाइन सर्वे पनि गरेका छौं।’
यसै विषयलाई लिएर बुटवलका शंकर भण्डारी भन्छन्, ‘भर्चुअल संसारबाट अरूलाई आफ्ना कुरा सुनाउने र अरूका कुरा आफूले सुन्ने काम प्रशस्त अभ्यास गरिसकेको विषय होइन। कर्णाली रिडर्स सोसाइटीको प्लेटफार्मले धेरै हदसम्म यी चिजहरूसँग कसरी अभ्यस्त हुने भन्ने कुरा पनि सिकाएको छ भने विभिन्न पुस्ताका मान्छेहरुलाई एकै ठाउँमा जोडेर पुस्तान्तरणको ग्यापलाई कम गर्ने कोशिस गर्नु रमाइलो पक्ष हो।’ उनले कामुको ‘आउटसाइडर’ मा चर्चा गरेका थिए।
‘मलाई यो प्लेटफार्म अत्यन्त सान्दर्भिक र उपयोगी लाग्यो। यसले बनदाबन्दीको समयमा पनि कसरी रचनात्मक काम गर्न सकिन्छ भन्ने सिकाएको छ। यस प्लेटफार्म मार्फत एकैपटक एउटै समयमा धेरै जनाले सिक्ने अवसर पाएका छन्,’ उनले थपे, ‘पढ्नु आफैमा गाह्रो काम हो र पढेर आफूले बुझेका कुराहरू अरूसामु राख्नु झन् गाह्रो। यसले यहि गाह्रो कामलाई सजिलो बनाइदिएको छ। सारमा यसले हाम्रो समाजमा झण्डै हराइसकेको पठन संस्कृतिलाई नयाँ जीवन दिने काम गरेको छ। पुस्तकको विविधताले यो प्लेटफार्मबाट पाठकले पुस्तकका फरक फरक स्वाद लिन पाइरहेका छन्। यसको निरन्तरताको शुभकामना छ।’
अभियानले कल्पना गरेभन्दा राम्रो सफलता हात पार्यो। नाम चलेका लेखकहरुले चासोका साथ हेरे। समिक्षकहरुले पनि चासो राखे। विभिन्न पत्रपत्रिकाले रिपोर्ट बनाए। लाइभमा हेर्ने र पछि पेजमा भिडियो हेर्नेहरुको संख्याले पनि अभियान सोचेभन्दा राम्रो र सफल भएको टिमका अर्का सदस्य विनोद शाहीलाई लाग्छ।
‘सुरुवातमा हामीले जे सोचेका थियौ त्यो भन्दा राम्रो रह्यो। सहभागिता र प्राप्त प्रतिक्रिया दुबै हिसाबले। कर्णालीका पाठकहरुबीच पुस्तक चर्चा र विमर्शको एउटा मञ्च बनाउ भनेर सुरु गरिएको भए पनि यसले देश–विदेश समेट्यो,’ उनले भने, ‘कर्णाली बाहिरका अन्य धेरै जिल्लाहरुबाट पनि पुस्तक चर्चामा सहभागिता रह्यो। विदेशमा रहनुभएकाहरु पनि जोडिनुभयो। यो एउटा उत्सवकै रुपमा स्थापित भयो भन्दा फरक पर्दैन।’
दैनिक रुपमा यसरी पुस्तक विमर्श सायदै हुन्छन्। यसले पुस्तकहरुको चर्चा परिचर्चा मात्रै नभएर पठन संस्कारको विकासमा अलिकति भए पनि पक्कै सघाउ पुर्याएकोमा उनीहरु खुसी छन्।
कर्णाली रिडर्स सोसाइटीको फेसबुक पेजबाट हालसम्म ७८ वटा पुुस्तकहरुमाथि परिचर्चा भएको छ। जुन आफैमा ऐतिहासिक काम हो। जर्मनी, अष्ट्रेलिया र अमेरिकाका पाठकहरु पनि जोडिए। यसले लकडाउनको समय व्यवस्थापन गर्न सहयोगीको भूमिका निर्वाह गर्यो।
लकडाउन थोरै खकुलो हुन थालेपछि अभियानलाई निरन्तरता दिन हप्ताको एक दिन पुस्तक परिचर्चा गर्ने गरी तयारी भइसकेको उनीहरुले बताए।