लद्दाखकाे गाल्वान उपत्यकामा दुई देशका सैनिक बीचको झडपमा २० भारतीय सैनिकले ज्यान गुमाए।कर्नेलसहित १९ सैन्य जवानको मृत्यु भएको भारतीय सैनिक प्रवक्ताले पुष्टि गरिसकेका छन्। भारतीय सैनिक स्रोतले ४३ चिनियाँ सैनिकको पनि मृत्यु भएकाे बताए पनि आधिकारीक निकायले यसको पुष्टि गरेको छैन।
तनावग्रस्त बनेको लद्दाख क्षेत्रमा समस्या समाधान गर्न दुई देशबीच वार्ताका लागि प्रयास जारी रहेको बेला अचानक सोमबार राती गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिक ‘आमने–सामने’ हुँदा हिंसात्मक झडप भएकाे थियो।
यसअघि भारत–चीनबीच सन् १९६२ मा पहिलाे पल्ट युद्ध भएकाे थियाे। यसकाे ५ वर्षभित्र १९६७ मा चोला र नाथूला क्षेत्रमा पुन: दुई देशका सैनिक एकआपसमा भिडेका थिए।
त्यो बेला र अहिलेको आक्रमणमा कुनै फरक नभएको भारतीय सञ्चारमाध्यमले बताइरहेका छन्। त्यति बेला पनि विवाद बढेपछि वार्ता सुरु भइरहेकाे थियाे–एक्कासी युद्ध भयाे। भारत–चीन लडाई १० दिन चलेकाे थियाे। भारतीय सैनिक लडाईको तयारीमा थिएनन्। किनकी, वार्ता चलिरहेकाे थियो।
पूर्ण तयारी बिना लडाईमा उत्रिएको भारतीय सैनिककाे गोली सकिएपछि– गोर्खाली सेनाले युद्ध मैदानमा खुकुरीकाे भरमा लडेका थिए। गाेर्खालीहरु राजपूताना राइफल्स ग्रेनेडियर्ससँग मिलेर चिनियाँ सैनिकसँग युद्धमा समावेश भएका थिए।
खुकुरीको सहारामा लडेको गाेर्खाली सेनाले थ्रुपै चिनियाँ सैनिकलाई मारेकाे भारतीय अखबारहरुले लेखेका छन्। सन् १९६७ को त्यो युद्धमा तत्कालिन गोर्खा रेजिमेन्टका कृष्ण बहादुर र देवी प्रसाद राजपूताना रेजिमेन्टका मेजर जोशी, कर्नल राई सिंह, मेजर हरभजन सिंह र ग्रेनेडियर्सका सैनिकले अस्मरणीय युद्ध लडेको भारतीय रक्षा जानकार अहिले पनि बताउँछन्।
खुकुरीकाे दममा लडेकाे गाेर्खाली सेनाकाे अद्मय साहासका कारण ३४० चिनियाँ सेनाकाे ज्यान गएकाे थियाे। यति बेला भारततर्फ ८८ जवानले ज्यान गुमाए।
सन् १९६२ जस्तै याे युद्ध लामाे भएन। १९६२ मा एक महिना युद्ध लम्बिएकाे थियाे। त्यति बेला चिनियाँ सेना आसामकाे तेजपुरसम्मै आइपुगेका थिए। तर, १९६७ मा गाेर्खाली सेनाकाे सहासका कारण भारतीय शहरसम्म चिनियाँ सेना घुस्न पाएनन्।