भक्तपुरमा सडकमा भेटिएका छ जना बालकको उद्धार गरिएको छ।
राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट पाँच जना र ठिमीबाट एक जना गरी छ जना बालकको उद्धार गरेको हो।
परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालका अनुसार उद्धार गरेलगत्तै उनीहरुको पुनःस्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो।
बन्दाबन्दीको समयमा भक्तपुरमा पनि सडकमा बालकहरु बेवारिसे अवस्थामा भेटिएको खबर आउने वित्तिकै मन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको उद्धार गरी व्यवस्थापन गर्न परिषद्लाई निर्देशन दिएका थिए।
त्यसलगत्तै सडकमा भेटिएका ती बालकको असार १ गते अपराह्न उद्धार गरी संरक्षणका लागि आवश्यक व्यवस्था परिषद्ले मिलाएको हो।
लकडाउनको यस अवधिमा काठमाडौँ उपत्यकाभित्र ४१ जना र उपत्यका बाहिर ३२ जना गरी जम्मा ७३ जना सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ।
यसैबीच मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाइन सेवा ‘१०४’ मा तत्काल खबर गर्न सबैलाई पुनःआग्रह गरेका छन्।