चिनियाँ सेनाको हमलामा जुन ठाउँमा सोमबार तीन भारतीय सैनिकले ज्यान गुमाएका थिए, त्यो ठाउँमा पहिले गोर्खाली सेनाको चेक पोस्ट थियो। घटना भएको गाल्वान उपत्यका चीन र भारतबीचको रणनीतिक क्षेत्र हो।
गाल्वान उपत्यका ‘लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी)’सँग टाँसिएको छ। यहाँबाट गाल्वान नदी पनि बगेको छ। यो भारत–चीनबीचको विवादास्पद ‘अक्साई चीन’ को क्षेत्र हो, जसलाई भारतले आफ्नो मान्दै आइरहेको छ भने यहाँ चीनको कब्जा छ।
गाल्वान नदी काराकोरम सतहबाट पूर्वतर्फ समाङलिङतर्फ निस्किन्छ र पश्चिमबाट बगेर स्योक नदीमा झर्ने गर्छ। सन् १९६२ मा भारत–चीन युद्ध भएपछि भारतीय सेनाले गाल्वान नदीबाट नियमित गस्ती पनि गर्ने गरेको छ। सन् १९६२ मा गाल्वान क्षेत्र युद्धको चपेटामा परिसकेको छ।
तत्कालिन प्रधानमन्त्री जवहारलाल नेहरूको ‘फरवार्ड पोलिसी’ अन्तर्गत ४ जुलाई १९६२ मा भारतमा कार्यरत गोर्खा सैनिकले गाल्वान उपत्यकामा प्रवेश गर्न एउटा चेक पोस्ट बनाएको थियो।
यो पोस्टले त्यति बेला समाङलिङस्थित एउटा चिनियाँ पोस्टको कम्युनिकेशन नेटवर्कलाई ध्वस्त पारेको थियो। जसलाई चीनले आफूमाथि भएको हमलाको रूपमा अथ्र्यायो र गोर्खा पोस्टलाई सय गजको दुरीमा घेरेको थियो।
१९६२ को युद्धमा भारतीय सरकारले ४ महिनासम्म यो पोस्टमा हेलिकोप्टरबाट खाध्यान्न झारेको थियो। भारत–चीन युद्ध २० अक्टुबरमा सुरु भएपछि चिनियाँ सेनाको एउटा बटालियनले हमला गरेको थियो। यसपछि चीनले ‘अक्साई चीन’ वरिपरिको सबै क्षेत्र आफ्नो भएको दावी गरेको थियो।
यो क्षेत्रको नाम गुलाम रसुल गाल्वानको नामबाट राखिएको हो। रसुल गाल्वान लद्धाखको लेहका स्थानीय भएको भारतले दावी गर्दै आइरहेको छ। उनले नै यो नदीको पहिचान गरेका थिए, त्यसैले यो क्षेत्रको नाम नै उनीबाट राखिएको हो। उनले १८९९ मा नदी पत्ता लगाएका थिए।