चन्द्रागिरि नगरपालिकाले सामाजिक तथा भौतिक दूरी कायम गरी पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने बताएको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा सोमबार बसेको सुरक्षा निकायसहित ६ वटै विषयगत समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर पेशा, व्यापार, व्यवसाय र कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले असार १ देखि सामाजिक, भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेर पेशा व्यवसायलगायत आवश्यक कार्यालय खोल्ने सरकारको निर्णयअनुसार सोही निर्णयलाई पालना गर्नुपर्ने बताए।
चन्द्रागिरिले कोरोना सङ्क्रमणको जोखिम पालना नगरे जुनसुकै बेला सूचना जारी गरी उपयुक्त कदम चाल्न सक्ने जनाएको छ । चन्द्रागिरी नगरपालिका काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्धारमा रहेको नगरपालिकासमेत भएकाले जोखिम बढ्नसक्ने भन्दै विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।
प्रवक्ता महर्जनले नगरपालिकाभित्र सञ्चालन हुने निर्माण, सेवा, पेशा, व्यवसाय सञ्चालन गर्दा सामाजिक तथा भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्नका लागि सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्ने बताए ।