चीनमा कोरोना संक्रमणको दोस्रो लहर: बेइजिङका स्कुल, खेल र मनोरन्जन स्थल बन्द

चीनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङको सुरक्षा व्यवस्था कडा पारिएको छ।

पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा राजधानी बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेपछि सावधानीका कडा उपाय उपनाउन थालिएको हो।

कोरोना भाइरस थप फैलिन नदिन बेइजिङका ठाउँ–ठाउँमा सुरक्षा चेक पोष्ट राखिएको छ। धेरैजसो जिल्लाका स्कुलहरु बन्द गरिएको छ। खेल र मनोरन्जन केन्द्र पनि बन्द गरिएको छ। 

सरकारले बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरेको छ। यता सुपरमार्केट र कार्यालयहरुमा प्रवेश गर्नेहरुको शरीरको तापक्रम जाँच्न थालिएको छ।

संक्रमणको प्रकोपलाई शहरको सबभन्दा ठूलो होलसेल बजारसँग जोडेर हेरिएको छ। ‘सिन्फाडी’ भनिने सो होलसेल मार्केटको जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ। सो मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ७९ जना संक्रमित फेला परेका थिए।

यो होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ। त्यसपछि उक्त बजार र वरिपरिका ११ वटा क्षेत्रमा लकडाउन गरिएको छ। 

अधिकारीहरूले पछिल्लो समयमा उक्त बजार पुगेकाहरू र वरिपरिको क्षेत्रका सबैको परीक्षण गर्न चाहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-06-16 06:57:55

प्रतिकृया दिनुहोस्