अमेरिकासँग गरेको हरेक वाचा चीनले तोड्यो: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चीनमाथि खनिएका छन्। उनले अमेरिका हरहालतमा चीनसँग राम्रो सम्बन्ध चाहेपनि चिनियाँ सरकारले आफ्ना प्रतिज्ञाहरूलाई तोड्दै गएको बताए। 

ट्रम्पले चीनले अमेरिकासँग मात्र नभएर अन्य धेरै देशहरूसँग गरेको वाचा पनि तोडेको बताए।

अमेरिकी विदेश विभागले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भनेको छ,‘अमेरिका चीनसँग खुला र रचनात्मक सम्बन्ध चाहान्छ। तर ती सम्बन्धहरू प्राप्त गर्न हामीले हाम्रो राष्ट्रिय हितलाई जोडले जोगाउनु आवश्यक छ। चीनको कम्युनिष्ट सरकारले हामी र अन्य धेरै देशहरूसँग लगातार वाचा तोड्यो।’

ट्रम्पले चीनलाई कोरोना भाइरसको भूमिकाको बारेमा बारम्बार प्रश्न गरेका छन्। उनले भर्खरै भने,‘कोरोना भाइरस चीनलाई दिएको एकदम नराम्रो उपहार हो। चीनले चाहेमा यसलाई रोक्न सक्थ्यो। वुहान एकदम खराब अवस्थामा रहेको थियो र कोरोनालाई सारा संसारमा फैलाउनु भन्दा पहिले यो चीनको अरु कुनै भागमा फैलिएन।’

यता अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले चिनियाँ कम्युनिष्ट पार्टीले  हंङकङका जनताको स्वतन्त्रतालाई खलबल गर्ने काम गरेको आरोप लगाएका छन्। उनले चीनले अरुको बौद्धिक सम्पत्ती चोर्न कोशिश गरिरहेको पनि दाबी गरे।

‘चीन दक्षिण चीन सागरमा आफ्नो शक्ति बढाउन चाहान्छ। यी दुबै कामले सम्पूर्ण विश्वमा प्रभाव पार्नेछ,’उनले भने।

प्रकाशित मिति: : 2020-06-16 06:01:06

प्रतिकृया दिनुहोस्