बलिउड अभिनेता सुशान्त सिंह राजपूतको दाहसंस्कार गरिएको छ। विले पार्लेस्थित पवन हंस शवदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो।
सुशान्तको आत्महत्या प्रकरण अहिलेसम्म अनुसन्धानमा छ। प्रहरीले यस सन्दर्भमा सुशान्तका घनिष्ठ मित्रहरू रिया चक्रवर्ती र महेश शेट्टीलाई सोधपुछ गर्ने छ।
यस्तै मुम्बई प्रहरीले परिवारका सदस्य र आफन्तसँग अनुसन्धानका लागि सोधपुछ गरिरहेको छ। आत्महत्या हो वा अरु केही षड्यन्त्र छ भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले सुशान्तकी बहिनीको पनि वयान लिएको छ।
बहिनीका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेशनमा थिए। पछिल्लो एक सातायता उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनी सुशान्तको घर आएर २ दिन बसेर गएकी थिइन्।
हालै औषधि लिन पनि छोडेका थिए। उनको भनाईअनुसार डिप्रेशनकै कारण सुशान्तले आत्महत्या गरेको देखिन्छ।
बहिनीले सुशान्त डिप्रेशनमा जानुको कारण आर्थिक समस्या नभएको पनि स्पष्ट पारेकी छिन्। तर प्रहरीले सुशान्तको बैंक डिटेल पनि प्राप्त गरेको छ। जसमा पछिल्लो कारोवारमा कुनै क्षति देखिँदैन।