योग्यता (मेरिट) को सही अर्थ के हो ? जनमतबाट निर्वाचित हुनेहरूले आफ्ना राजनीतिक इच्छा लागू गर्न सार्वजनिक सेवामा विश्वास प्राप्त अनुचरहरूबाट भर्न किन नपाउने ? राजनीति र प्रशासनका पण्डितहरूका लागि बौद्धिक बहसको विषय भइरहेको छ। योग्यतातन्त्र (मेरिटोक्रेसी) लाई व्यापक र संकुचित अर्थमा परिभाषित गरिएको पाइन्छ। बृहत्तर अर्थमा योग्यताका आधारमा छनोट गरिएका व्यक्तिहरूबाट शासन गरिने समाजलाई नै योग्यतातन्त्र भनिन्छ। सरकार वा शक्ति र अधिकारप्राप्त व्यक्तिहरू योग्यताका आधारमा छानिन्छन् भने ‘योग्यतातन्त्र’ छ भन्ने गरिन्छ। अमत्र्य सेनले सटिक परिभाषा दिएका छन्, ‘योग्यता एउटा यस्तो प्रोत्साहन प्रणाली हो, जसले समाजले महत्व दिएको कार्यहरूलाई परिष्कृत गर्छ।’ संकुचित अर्थमा भने यसले योग्यतामा आधारित कर्मचारी व्यवस्थापन प्रणालीलाई बुझाउँछ। प्रशासनविद् ओ. ग्लेनस्टलले ‘योग्यता प्रणाली यस्तो कर्मचारीसम्बन्धी पद्धति हो, जहाँ तुलनात्मक योग्यता र उपलब्धिका आधारमा सेवामा छनोट र प्रगति हुन्छ’ भनेर परिभाषा दिएका छन्।
योग्यतातन्त्रका नाममा सीमित प्रतिस्पर्धा वा सीमित ‘पुल’ बाट गरिने छनोटले अझ विकृतिको जन्म दिन्छ। सही योग्यता प्रणाली भनेको ‘खुला योग्यता (ओपन मेरिट)’ हो, जहाँ योग्यता पुगेका सबैलाई प्रतिस्पर्धा गर्ने छुट हुन्छ। ‘विशिष्ट योग्यता (एक्सक्लुसिभ मेरिट)’ मा कुनै विशेष वर्गलाई मात्र प्रवेश गराइन्छ। बेलायतको ‘सिभिल सर्भिस कमिसन’ ले अक्सफोर्ड र क्याम्ब्रिजलक्ष्यित परीक्षा लामो समयसम्म कायम राख्यो भन्ने आरोप लाग्ने गर्छ। कम्युनिस्ट मुलुकहरूमा यस दलका कार्यकर्तालाई मात्र सार्वजनिक सेवामा भर्ना गरिन्छ। रूसको ‘नोमेन्क्लाटुरा’ यस्तै उदाहरण हो। योग्यता निर्धारण गर्ने अधिकारको अवस्थिति (लोकेसन आफ अथोरिटी) भने निर्वाचित अधिकारीहरूका लागि मतदाता र नियुक्त हुनेहरूका लागि योग्यता परीक्षण गर्ने विभिन्न निकायहरूमा हुने गर्छ। राजनीतिक नेतृत्वमा एउटा अवगुण के हुन्छ भने उसले सदैव आसेपासे र दलका ‘क्रोनिज’ हरूलाई सार्वजनिक पदमा राख्न चाहन्छ। यसरी नियुक्त हुनेहरूमा न त अहिलेको सार्वजनिक व्यवस्थापनको जटिलतामा काम गर्ने क्षमता हुन्छ न त सार्वजनिक सेवा प्रवाहमा यिनीहरू निष्पक्ष नै हुन सक्छन्। त्यसैले ‘सर्वोकृष्टले मात्र राज्यको सेवा गर्नेछ (वन्ली द वेस्ट साल सर्भ द स्टेट्)’ भन्ने नारा नै चल्न पुग्यो, जसले योग्यतातन्त्र अवलम्बन गर्न प्रेरित गरेको थियो।