कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिमका विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।
डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन्। यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि आइतबारै डिस्चार्ज गरिएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अस्पतालको आइसोलेसनमा रहेका कैलालीका ११ र डोटीका चार जनालाई डिस्चार्ज गरिएको बताए।
उनका अनुसार डिस्चार्ज हुनेमा गौरीगंगा नगरपालिका २ का सात पुरुष पुरुष, वडा नम्बर ४ का एक पुरुष, धनगढी उपमहानगरपालिका १० का एक पुरुष, जानकी गाउँपालिका १ का एक पुरुष, बर्दगोरीया गाउँपालिका ५ का एक पुरुष रहेका छन्।
यस्तै डोटीको केआईसिंह गाउँपालिका ३ घर भई सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई महिला र दुई पुरुषलाई पनि आइतबारै डिस्चार्ज गरिएको सूचना अधिकारी श्रेष्ठले बताए।
यस्तै महाकाली अस्पतालबाट काठमाडौंका दुई, कञ्चनपुर भीमदत्त नगरपालिकाका एक र महाकाली नगरपालिकाका एक गरी चारजना पुरुषलाई डिस्चार्ज गरिएको छ।
डोटी जिल्ला अस्पतालमा उपचार गराई रहेका पूर्वीचौकी गाउँपालिकाका दुई र पूर्वीचौकी गाउँपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा उपचार भइरहेका तीन गरी पाँचजनालाई डिस्चार्ज गरिएको छ।
यस्तै अछाम जिल्ला अस्पतालमा उपचाररत मंगलसेन नगरपालिकाका एक र सोकट गाउँपालिकाका एक गरी दुई जनालाई घर पठाइएको छ।
१४ दिन आइसोलेसनमा बिताएका र उनीहरुमा कुनै पनि प्रकारको लक्षण नदेखिएकोले नयाँ निर्देशिका अनुसार सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।