त्वमेव माता च पिता त्वमेव
त्वमेव रक्षक च सखा त्वमेव
त्वमेव कवचम् कुण्डलम् त्वमेव
त्वमेव सर्वं मम जीवन देवदेव।।
मास्क मेरो रक्षाकवचका रूपमा आएको छ। कोरोनाको प्रकोपसँगसँगै यही नै मेरो मातापिता, रक्षक र कवच कुण्डलका रूपमा रहेको छ। मेरो मात्र होइन, अमेरिका र नेपाल मात्र पनि होइन, विश्वका धेरै मानिसका लागि कर्णको रक्षाकवच वा कुण्डल झै शरीरमा आश्रित भएर झुण्डिएको छ।
कोरोनाको प्रकोपअघि नेपालमा धूलो र मैलाबाट रोक्नका लागि थोरै संख्यामा मानिसहरुले मास्क लगाउने गर्थे। र, अमेरिकामा चाहिँ मास्कको प्रयोग विरलै हुने गर्दथ्यो। कोरोनाका प्रकोपसँगै मुखबाहिर बेरिएको मास्क वा मुखौडाको कारण मैले समस्यै समस्याको खानी व्यहोर्नुपरेको छ। मुख कैद भएकोले मैले जतिखेर चाह्यो त्यतिखेर खान पनि पाएको छैन। पिउन पनि पाएको छैन। यहाँसम्म कि ठूलो स्वरले खोक्न, बोल्न, हाँस्न र थुक्न समेत पाएको छैन। चोरी औँला नाकभित्र छिराएर अन्तरकुन्तरमा रहेका पाप्राहरु निकाल्न पनि पाएको छैन। औँलाले कानेगुजी खोतल्न पाएको छैन। मैले काम गर्ने ठाउँमा आउने धेरैजसो ग्राहक भन्ने गर्थे तिम्रो हाँसो मीठो छ, तिमी सधैँ हँसिलो देखिन्छौ। तर अहँ आजकल के सोच्दा हुन् तिनीहरु? न तिनीहरु हाँसेको देख्छु न म हाँसेको उनीहरु देख्छन्। आँखाको इसारा पनि देखिन्न, न रोएका हुन्, न हाँसेका वा रिसाएका? पत्तै पाउन्न। शायद म रिसाएको पनि उनीहरु देख्दैनन्। यो कोरोनाको कारण हाँस्नै पनि बिर्सिएला जस्तो पो भइरहेको छ। वास्तवमा हाँस्ने पनि अरूलाई देखाउनकै लागि पो हो कि कसो?
करीव तीन महिनादेखि म यस्तै वातावरणमा भिजेको छु। बाटोघाटोमा मलाई मास्क नलगाएका मानिसहरू देख्दा खल्लो लाग्छ, नमज्जा पनि लाग्छ। आफू कतै सरसामान किनमेल गर्न जाँदा लाइनमा मास्क नलगाएका व्यक्ति देख्दा यो त तिम्रा लागि विशेष हो, अरूका लागि पनि हो भनेर कसैकसैसँग त अनुरोध पनि गर्छु। कोही कोही त रिसाउँछन्। कोही भने आइ नो, आइ नो ....भनेर विभिन्न वहाना बनाएर उम्किन्छन्।
केही हप्ता अघि मिचिगनको डलर स्टोरमा पस्न लागेको व्यक्तिलाई त्यहाँको सुरक्षा गार्डले मास्क लगाउन अनुरोध गरेको के थियो, त्यसको बदलामा त्यो ग्राहकले गोली हान्यो। कन्चटमा गोली लागेका ती व्यक्तिको दुई दिनपछि मृत्यु भयो। ओहो......कस्तो डरलाग्दो। कोलोराडोको एउटा फाष्टफुड पसलको कुकले ग्राहकलाई मास्क लगाउन अनुरोध गरेको थियो तर त्यसको बदलामा त्यो व्यक्तिले पनि गोली हान्यो। छाति र पेटमा गोली लागेको त्यो व्यक्ति भाग्यवस बाँच्न सफल भयो।
कोरोनाको कारण मानिसमा वैचैनी र आक्रोस बढिरहेको छ। जीवन अत्यासमय बन्दैछ। त्यसैको परिणाम त होला यस्तो समान्य कुरामा पनि यस्तो भयानक त्रासद कार्य गर्न सकेको। त्यसैले कहिलेकाँही ह्या होस् जे सुकै गरोस् भन्ने पनि लाग्छ, तर जब सार्वजनिक स्थानमा कोही मान्छे विना मास्क निस्फिक्री हिँड्छ भने त्यसबेला त भनौँ भनौँ लागिहाल्छ। अमेरिकाका अधिकाँश राज्य तथा स्थानीय इलाकाले मास्क लगाएर मात्र बाहिर हिँड्डुल गर्न र सार्वजनिक स्थानमा जान आव्हान गरेको परिप्रेक्ष्यमा ती आदेशहरु मान्य हुन्छन्। कतिपय स्थानमा त जरिवाना पनि तोकिएको छ। म काम गर्ने इलाकामा मास्क नलगाएर त्यसरी छाडा भएर हिँड्ने मान्छेलाई प्रहरीले तीन सय डलरसम्म जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ।
म मात्र होइन, हरेक व्यक्तिका लागि मास्क जीवनदायिनी अंगका रुपमा रहेको छ। त्यसैले आजकल मैले मास्कलाई भगवानको कोठामा राख्ने गरेको छु। भगवानलाई अर्पण गरेको धूपबत्तीको सुगन्धले यसलाई परिस्कृत र पहिरिन योग्य बनाउँछ र अर्को दिन त्यसैगरी पहिरिन्छु। जहाँ जाँदा पनि यसलाई आफ्नो मुखौडामा धारण गर्ने गरेको छु।
मास्क नभएको भए के हुन्थ्यो होला? कसरी जीवन सहज हुन्थ्यो होला? यो दुनियाँमा ट्रम्प मात्र एक्ला त्यस्ता व्यक्ति हुन् जसले जानीजानी मास्कलाई हेँला गरेका छन्। नत्र त धर्तिका सबै मानिस राजादेखि रंकसम्मले यसलाई गर्वका साथ आफ्नो अनुहार छोप्ने र संक्रमणबाट बच्ने साधनका रुपमा आफ्नो जीवनको अभिन्न अंगका रुपमा राखेका छन्। बरु दाल, भात नखाने तर मास्क नलगाइ नहुने परिस्थिति सृजना हुनु आफैंमा एक रोमाञ्चक क्रियाकलाप हो। कोरोनाका संक्रमितको उपचारमा दिनरात डट्ने अग्रपंक्तिका मानिसहरुका लागि अपुग भएकोले सुरुवाती दिनमा त मास्कले कुनै रोकथाम नगर्ने भन्ने प्रचार प्रसार पनि भयो तर आजकल भने यसको भाउ र उपादेयता आकाशिएको छ।
बाहिर हिँड्दा बरु सेलफोन बिर्सन सकिन्छ, पर्स बिर्सन सकिन्छ, मोजा लगाउन बिर्सेला तर मास्क लगाउन नबिर्सने बानी हुन थालेको छ। मैले लगाएको एन ९५ मास्क हालसम्म उपलब्ध मास्कमध्ये सर्वाधिक भरपर्दो मानिएको छ। कपडाका मास्क पनि देखिन्छन्। डाक्टरहरुले उपयोग गर्ने खालका मास्क पनि बजारमा छ्याप्छ्याप्ती छन्। कसैले पछ्यौराको, कसैले लाखु टोपीको, कसैले टिसर्टको मास्क लगाउँदा यसले रोगको रोकथामका लागि कत्तिको सहायता गरेको छ, त्यो त थाहा छैन तर पनि यसले स्वान्तसुखाय र स्वान्तआत्मबल उजागर गर्न सफल चाहिँ पक्कै भएको छ। मसँग मास्क छ, मैले मास्क उपयोग गरेको छु, यसले मलाई मात्र होइन अरुलाई पनि कोरोनाको महाव्याधीबाट जोगाउँछ भन्ने स्वअनुभूति गरेको छु। शायद मास्क लगाउने सबैले यही कुरा सोचेर आत्मबललाई उँचो बनाएका होलान्। जुन स्वाभाविक पनि छ।
अमेरिकामा एकथरी मानिसहरु मास्क लगाउनु व्यक्तिको स्वतन्त्रतामाथिको हस्तक्षेप हो भनेर वकालत गरिरहेका छन्। उनीहरुको भनाइ छ, अनुहार मेरो व्यक्तिगत स्थान हो। यसलाई म जसरी उपयोग गर्न चाहन्छु, त्यसरी नै उपयोग गर्छु। लगाउन चाहे लगाउँछु, लगाउन नचाहे लगाउन्न। त्यसैले कसैले मलाई मास्क लगाउन अनुरोध वा जवर्जस्ती गर्न सक्दैन भनेर जुलुस निकालिएको पनि हामीले देखेकै छौँ।
वास्तवमा यस्ता पाखण्डीहरुबाटै अमेरिकामा यो रोगले केन्द्रविन्दु बनाएको हो भनेर ठोकेुवा गर्न सकिन्छ। चिनियाँ भाइरस भनेर हेँला नगरी उसबेलै सचेतना अपनाएको भए यो महाव्याधिले अमेरिकामा यस किसिमको विद्रूपता व्यहोर्न पर्ने थिएन। एकजना लहडी शासकले राष्ट्रलाई कतिसम्म निरिह र लाचार बनाउन सक्दोरहेछ भन्ने प्रमाण खोज्न अन्त जानैपर्दैन, अमेरिका र व्राजिललाई हेरे मात्र हुन्छ। तथापि मानिसहरुका मुखमुखमा यसले आफ्नो स्थान जमाएको देख्दा मोतीराम भट्टको गजलका यी हरफलाई सापटी लिएर यसरी पुनर्लेख गर्न चाहन्छु।
यता हेर्यो यतै मेरा नजर्मा मास्क देखिन्छन्
उता हेर्यो उतै मेरो नजर्मा मास्क देखिन्छन्।
यसो भन्छौ त बजार्मा उसो भन्छौ त गाउँमा
जता हेर्यो उतै नजर्मा मास्कै मास्क देखिन्छन्।