कैलालीमा क्वारेन्टाइनमा बसेकी एक युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन जनाविरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता गरिने भएको छ।
पीडित ३१ वर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीनै जना विरुद्ध ईलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
बलात्कार आरोपी तीनै जनालाई प्रहरीले आईतबार नै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिसकेको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ। यसमध्ये परियार स्वास्थ्यकर्मी हुन्।
दुई जना क्वारेन्टाइनमा स्वयसेवकको रूपमा खटिएका थिए।
यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जनकबहादुर बमले सामूहिक बलात्कारमा संलग्न भनिएका युवकहरू आफूखुसी काम गर्न क्वारेन्टाइनमा गएको दावी गरेका छन्।
वडाध्यक्ष बमले जारी गरेको विज्ञप्तीमा उक्त घटनाप्रती खेद समेत व्यक्त गर्दै उनीहरू आफूखुसी काम गर्न गएको जानकारी दिएका छन्। उनले दोषीलाई कारवाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन मागसमेत गरेका छन्।
लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीस्थित शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले स्वास्थ्यकर्मीले आफूमाथि बलात्कार गरेको आरोप लगाउकी थिइन्।
ती महिला यही जेठ २० गते गौरीफन्टा नाका हुँदै नेपाल आएर क्वारेन्टाइनमा बसेकी थिइन्। गएराति क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले सवा १२ बजेतिर आफूमाथि बलात्कार गरेको आरोप महिलाले लगाएकी छिन्।