गुल्मीका कोरोना भाइरस संक्रमित युवकको मृत्यु

गुल्मीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका ४ जैसिथोकका ३६ वर्षिय पुरुषको मृत्यु भएको हो।

जेठ २ गते भारतबाट आएर उनी धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका थिए।

जेठ १२ गते संक्रमण पुष्टि भएका उनलाई थप उपचारका लागि जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याइएको थियो। उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको रोगी रहेको तम्घास अस्पतालका डा. कविराज भुसालले जानकारी दिए।

उनका अनुसार नेपाली सेनाले राति नै मृतकको शव धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित एक जंगलमा व्यवस्थापन गरेको छ।

यो सँगै गुल्मीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ। यसभन्दा पहिले मदाने गाउँपालिकाका ४१ बर्षिया पुरुषको रूपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो।
 

प्रकाशित मिति: : 2020-06-14 08:21:15

प्रतिकृया दिनुहोस्