राष्ट्रियता कसैको एकलौटी होइन, प्रधानमन्त्रीज्यू, सबैको बन्नुस्, भूमि फिर्ता ल्याउनुस् : महतो

सांसद राजेन्द्र महतोले राष्ट्रियताको परिभाषामा मधेसीलाई समान व्यवहार नगरिएको भनेर शनिबारको संसद बैठकमा असन्तोष व्यक्त गरेका छन्।

नेपालको संविधान दोस्रो संसोधनको विषयमाथि संसदमा बोल्दै नेता महतोले आफू अघिका वक्तालाई समय नतोकिएको र आफ्ना लागि समय तोकिएको विषयलाई जोडेर मधेसलाई हेप्ने परम्परा कायम राखेको भन्दै आक्रोश पोखेका थिए।

संविधान सबैको हुन नसकेको भन्दै नेता महतोले भने, ‘यो संविधान जनजातिको हुन सकेन, मधेसीको हुन सकेन, उत्पीडितको हुन सकेन।’

राष्ट्रियताको परिभाषामा मधेसीलाई जहिल्यै विभेद गर्ने गरिएको भन्दै आफूले उठाएका सवाललाई पनि सँगै प्याकेजमा ल्याइदिन गरेको प्रस्ताव सरकारले वेवास्ता गरेको धारणा उनले राखे । उनले भने, ‘राष्ट्रियता भूमि मात्रै होइन, जनता पनि राष्ट्रियताको परिभाषाभित्र पर्नुपर्छ ।’

‘सबै असन्तुष्टिका बाबजुद पनि राष्ट्रियता र भूमिको सवालमा ल्याइएको संविधान संशोधन प्रस्तावलाई जनता समाजवादी पार्टीले समर्थन गर्दछ,’ उनले भने, ‘प्रत्येक मधेसी जनता सीमाको रक्षामा जुटेका छन्। तर मधेसीलाई अहिले पनि राष्ट्रवादी देखिँदैन । हामी कतिपटक अग्नि परीक्षामा रहने हो । प्रधानमन्त्रीज्यू, अन्याय नगर्नुस् । सबैको बन्नुस् । भूमिमात्रै होइन, जनतालाई पनि हेर्नुस् । अब नक्सामात्रै होइन । भूमि पनि ल्याउनुस्।’

उनले संविधानलाई गीता वा बाइबल बनाएर नागरिकका अधिकारलाई कुण्ठीत नगरिदिन आग्रह गरे ।

उनले संविधान संसोधन सर्वदलीय बैठकमा नै आफूले समर्थन जनाइसकेको स्मरण गर्दै जनता समाजवादी पार्टीले यहाँ पनि एक मतले समर्थन गरेको बताए ।

उनले यसरी देश नचल्ने र सम्पूर्ण नेपाली नागरिकलाई अपनत्व महसुस हुने गरी व्यवहार गरिदिन आग्रह गरे ।

महतोले नेपाली सेना सीमामा नभए पनि मधेसी जनताले आफ्नो देशको सीमाको रक्षाका लागि ज्यान गुमाइरहेको स्मरण गराए।

उनले भने महाकाली सन्धी गर्ने को हो भनेर चर्को स्वरले प्रश्न गरे । उनले राष्ट्रियताको विषयमा मधेसी जनताको पटकपटक अग्निपरीक्षा नलिन आग्रह गरे।

महतोले हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील रहेको बताए।

राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भूभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन’, उनले भने, ‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्।’

प्रकाशित मिति: : 2020-06-13 14:46:20

प्रतिकृया दिनुहोस्