बालुवाटारबाट १० अर्बको खर्च सार्वजनिक, यस्ताे छ विवरण

देशब्यापी रूपमा सरकारबिरोधी आन्दोलन सुरु भएपछि प्रधानमन्त्री कार्यालयले कोरोना संकटका बेला गरिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत उक्त विवरण  शनिबार बिहान सार्वजनिक गरेका हुन्।

अहिलेसम्म संघीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयले जम्मा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि रक्षा मन्त्रालयमार्फत सबैभन्दा बढी २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ।

त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयमार्फत् ५ करोड २० लाख रुपैयाँ खर्च भएको छ।

त्यसैगरी सात वटै प्रदेशले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि एक अर्ब ३० करोड ४ लाख ९९ हजार खर्च भएको छ। प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको छ भने प्रदेश नम्बरमा ५ सबैभन्दा कम ७ करोड ७९ लाख ३० हजार खर्च भएको छ।

त्यसैगरी स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको सरकारले जनाएको छ।

त्यस्तै औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा एक अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइन व्यवस्थापनमा १३ करोड ५५ लाख ९८ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ निकासा भएको सरकारले जनाएको छ।

सरकारले यसअघि कोरोनासम्बन्धी कामकारवाहीमा १० अर्ब रुपैयाँ खर्च भइसकेको बताएपछि संसद र सडकमा समेत त्यसको विवरण माग गर्दै आवाज उठ्दै आएको छ। प्रदर्शनकारीहरुले सरकारले कोरोना संकटका नाममा ठूलो अनियमितता गरेको, सर्वसाधारणलाई पीसीआर बिधिबाट कोरोना परीक्षण नगरेको लगायत माग राखी प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-06-13 11:15:24

प्रतिकृया दिनुहोस्