अमेरिकास्थित नेपाली दूतावास भन्छ, ‘अझै केही समय धैर्य गर्नुहोला, स्वदेश फर्काउने प्रक्रिया जारी छ’

अमेरिकास्थित नेपाली दूतावासले अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रियाका लागि प्रयास भइरहेकोले अझै केही दिन धैर्यधारण गर्न आग्रह गरेको छ।

आज शनिबार एक विज्ञप्ति जारी गर्दै नियमित हवाई सेवा बन्द भएका कारण समयमै स्वदेश फर्कन नपाई अमेरिकामा विभिन्न समस्या र अप्ठ्यारोमा रहन बाध्य भएका सम्पूर्ण नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सम्बन्धमा अथक प्रयास गरिरहेको दूतावासले जनाएको छ।

दूतावासको नेपालस्थित सम्बन्धित निकायबाट एयरलायन्सको व्यवस्था, हवाई भाडा दर निर्धारण हुन नसकेकोमा क्षमाप्राथि रहेको बताएको छ। 

खाडी मुलुकमा रहेका नेपालीहरुलाई स्वदेश लैजाने कार्य सूरु भइसकेकोले अब केही समयको लागि आफन्तलाई भेटघाट गर्न वा सरकारी वा निजी काम विशेषले अमेरिकामा आई समयमै नेपाल फर्कन नसकी अप्ठ्यारो अवस्थामा रहेका नेपाली नागरिकहरुलाई पनि स्वदेश फर्काउने कार्य सुरु हुने विश्वास दूतावासले लिएको छ।

नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निरन्तर सम्कर्पमै रही प्रयत्न गररिहेको भन्दै  दूतावासले नेपाली नागरिकहरुलाई अमेरिकाबाट पनि प्राथमिकताको आधारमा यथासक्य छिटो स्वदेश फर्किने व्यवस्था गर्ने जनाएको छ।

‘छिटो भन्दा छिटो सम्पूर्ण विषयको टुंगो लगाएर हवाई उडानको विशेष व्यवस्था मिलाई हवाई सेवा, विमानस्थल,कोभिड परीक्षण सम्बन्धी विषय टिकट बुकिङको लागि सम्पर्क गर्ने ठेगाना लगायतका विषयमा सबैलाई जानकारी गराइने भएकोले त्यतिञ्जेल सम्मका लागि धैर्यधारण गरि बसिदिन हुन राजदूतावास हार्दिक अनुरोध गर्दछ’, वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-06-13 10:45:32

प्रतिकृया दिनुहोस्