मुस्कान उदाएको अनुहार

दुबई आईपुगेको पनि निकै वर्ष भयो। वैदेशिक रोजगारीको लागि दुबईमा पाईला टेकेको यत्रो समय भईसक्दा पनि नेपाल पटक्कै बिर्सन सकेको छैन। म जस्तै बाध्यतामा विदेशिने कति छन् होलान्? पहिलोपटक म दुबई आउँदा छोरी भर्खरै जन्मेकी थिई। काखमा लिएर छोरीलाई खेलाउने रहर हुँदाहुदै पनि म विदेशिन पर्‍यो। हो म पनि त्यसैगरी विदेशिएको थिएँ जसरी लाखौं नेपाली आफ्नो अमूल्य सपना पूरा गर्न विदेशिन्छन्।

मथिंगलमा यस्तै यस्तै कुरा नाँचिरहेको बेला फोनको घण्टी बज्यो। ममिले गर्नुभएको रहेछ, ‘बाबु हामीले भाइको विवाह पक्का गर्‍यौ अब तिमी पनि अलि छिटै बिदा मिलाएर आउनुपर्‍यो,’ केहीबेरको भलाकुसारी पछि ममिले फेरि भन्नुभयो, ‘बाबु बरु पैसाको खाँचो परेको थियो मिल्छ भने .......’ बोल्दा बोल्दै ममि रोकिनुभयो। मैले ममिको मनाशाय बुझेर भनिहालेँ, ‘ठीक छ ममि म पैसा पठाईहाल्छु, तपाई पिर नर्गनुस् बरू भाइको विवाहको तयारी राम्रोसँग गर्नुस्। म पनि छिट्टै बिदा मिलाएर आउँछु।’

त्यति भनेर फोन त राखेँ तर पैसा जति मैले भर्खरै रसिलालाई पठाईदिएको थिएँ। मसँग पैसा बचेको थिएन। मेरो नराम्रो बानी नै त्यही थियो, जति पनि पैसा कमाउँथे सबै रसिलालाई मात्रै पठाउँथेँ।  मैले तत्काल सुनितालाई फोन गरेँ। उसँग पैसा मागेँ। उसले तुरुन्तै मेरो लागि पैसाको व्यवस्था गरिदिई।

सुनिता.... जो दुबईको विमानस्थलमा मसँगै काम गर्छे। म भन्दा लगभग सात/आठ वर्षले कान्छी सुनिता म विवाहित हुँ भन्ने थाहा हुँदाहुँदैं पनि मेरो पछि लागिरहन्छे। त्यतिमात्रै होइन उसलाई मेरो हरेक कुराको ख्याल हुन्छ। धेरैपटक उसले काममा आउँदा मेरो लागि खाजा समेत बोकेर आएकी छे। ‘मैले एकपटक भन्नासाथ मेरो लागि पैसा जुटाईदिएकोमा म उप्रति ऋणि भएँ। पैसा पाउनासाथ भाइको विवाहको लागि नेपालमा पठाईदिई हालेँ।

धेरैदिनदेखि भाइको विवाहको कुरा त चलिरहेकै थियो तर भाइको रोजाईमा कोही पर्न सकेको थिएन। मैले मनमनै सोचेँ, ‘को होली त्यो भाग्यमानी केटी जसलाई भाइले मन परायो। साच्चै साह्रै ज्ञानी छ मेरो भाइ। जन्मेर यो उमेर भईसक्दा पनि उसँग मेरो कहिल्यै झगडा र मनमुटाव भन्ने कुरा भएन। विवाह पक्का भएको सुन्नासाथ पखेटा भईदिए पनि उडेर नेपाल जान्थेँ जस्तो लाग्यो। काममा सबै चाँजोपाजो मिलाएर एक महिनाको छुट्टी लिएर म नेपालको लागि उडेँ।

***

गाउँमा घर भए पनि छोरीले राम्रो शिक्षा दिक्षा हासिल गरोस् भन्ने उदेश्यले रसिला र छोरी रोहिनी काठमाडौंमै बस्थे। दुबई गएर आफ्नो सपना कति पूरा गर्न सकेँ र कति सकिनँ भन्ने त थाहा छैन। तर रसिलाको काठमाडौंमै घर बनाएर बस्ने उसको ईच्छालाई मैले पूरा गरिदिएको थिएँ। साथमा छोरीलाई राम्रो स्कूलमा भर्ना गरिदिने ईच्छा पनि। म काठमाडौं पुगेँ। मेरो आगमनमा सधैं खुशी हुन्छे रसिला र यसपटक पनि त्यस्तै खुशी देखिई। आफ्नो माईती र घर सँगै भए पनि रसिला खासै गाउँमा जान रूचाउँदिन। त्यसैले पनि म उसलाई दशैंमा बाहेक अन्य दिनमा कहिल्यै घर हिड्न अनुरोध गर्दिनँ। के गर्ने कहिलेकाहीं त लाग्छ यो छोरा मान्छे भएर जन्मिन पनि कति गाह्रो। श्रीमतीको कुरा मात्रै सुनौं भने समाजले ‘जोईटिंग्रे’ को उपनाम दिन्छ अनि आमाको मात्रै कुरा सुनौं भनें श्रीमतीले ‘मम्माज् ब्वाय’ को अंग्रेजी उपनाम दिन्छे। जे होस् आजको दिनसम्म मैले सबैकुरा व्यवस्थित गर्दै लगिरहेको छु।

यसपटक गाउँ जान परेकोमा उसको कुनै गुनासो थिएन। हामी गाउँ पुग्यौं। धमाधम भाइको विवाहको तयारी सुरु भयो। आफ्नो हुनेवाला बुहारीलाई मैले देखेको त थिइनँ तर बुवा र ममीको मुखबाट तारिफ सुन्दा यस्तो लाग्थ्यो कि ऊ साक्ष्यात् लक्ष्मीको स्वरुप हो। भाइको विवाहमा जन्ती गयौं खुब रमाईलो गर्‍यौं सबै जनाले। कान्छो छोराको विवाहमा ममी बुवा निकै खुशी देखिनुभयो।

साच्चै ममी बुवाले तारिफ गरे झै राम्री थिई बुहारी। नयाँ बुहारी घरमा आएदेखि रसिलाको मुख अध्याँरो देखिन थाल्यो। विवाहमा त ऊ खुशी नै देखिन्थी। फेरि उसलाई के भयो एक्कासी? विवाह सकिएको एक हप्तापछि रसिला ‘माईती जान्छु’ भनेर जिद्दी गर्न थाली। घरबाट उसको माईती नजिकै भएको कारणले मैले उसलाई जाने अनुमति दिएँ। रसिला माईती गएको भोलिपल्ट मेरी बुहारी अन्जुलाले संकोच मान्दै भनीन्, ‘दादा हजुरसँग एउटा कुरा गर्नु छ।’ भर्खरै विवाह गरेर घर आएकी बुहारीलाई त्यस्तो के कुरा हुनसक्छ मसँग गर्नुपर्ने ? मैले अपत्यारिलो भावमा भनेँ, ‘के कुरा हो अन्जुला भन न।’ उसले कुरालाई निरन्तरता दिदैं भनी ‘थाहा छैन मैले हजुरलाई यो कुरा भन्न हुन्छ कि हुँदैंन। तर म चाहन्छु कि यो घरमा लागेको आगोको धुवाँ बाहिर नजाओस्।’ जति दिमाग लगाउँदा पनि उसको कुरा मैले फिटिक्कै बुझिनँ। मैले अलि कडा स्वरमा भनें, ‘के कुरा हो स्पस्ट भन। मलाई कुरा चपाएर गरेको मन पर्दैन।’ उसले फेरि मलाई बुझाउँदै भनी, ‘कुरा के भने नि दादा हजुरको भाइ अर्थात् मेरो श्रीमानको र हजुरकी श्रीमतीको अफयेर चलिरहेको छ।’

उसको कुराले झनक्क रिस उठ्यो मलाई। अस्ती भर्खरै आएकी केटीले मेरो त्यस्तो सोझो भाइ र मलाई त्यति माया गर्ने श्रीमतीको बारेमा कसरी त्यस्तो कुरा गर्न सक्छे?  मेरो आवाज ठूलो भयो, ‘होसमा त छौ तिमी?’ यसपटक उसले आँखाभरी आँशु पार्दै भनी, ‘बेहोसीमा त अहिलेसम्म थिएँ दादा। तर हिजो राति उहाँको म्यासेन्जरमा दिज्जूको म्यासेज देखेपछि मेरो होस आएको छ। उसको कुराले नराम्रोसँग बिझ्यो मलाई जब उसले भाइ र रसिलाको म्यासेजको ‘स्क्रिन सट’ देखाई। म टाउको समातेर थचक्क भूईँमा बसेँ। यतिन्जेल मैले अन्जुलाको कुरा मिथ्या मानिरहेको थिएँ तर अब विश्वस्त भएँ।

के गरौं र कसो गरौं भईरहेको थियो। भाइ ठ्याक्कै आयो। हिजोसम्म मायालु लागेको भाईप्रति एक्कासी घृणा जागेर आयो। असारको महिना, पानी परेर आकाश खुलेको थियो तर अन्जुलाले देखाएको त्यो म्यासेजको ‘स्क्रिन सट’ ले मेरो मनमा बादल लागेको थियो कहिल्यै नउघ्रिने गरेर। अबको बाटो के हो मेरो?

मेरो विवाह गर्ने ईच्छा नहुँदा नहुँदै पनि मेरो पछिपछि लागेर मलाई आफूप्रति मोहित बनाएर विवाह गरेकी थिई रसिलाले मसँग। फेरि त्यो बेला उसले मलाई मात्रै हैन मेरो ममिको पनि मन जितिसकेकी थिई। त्यसैले त ममिको आग्रहमा मैले उसँग विवाह गरेको थिएँ। बल्ल म थाहा पाउँदै छु उसले किन अचानक माईती जान जिद्दी गरी। यत्रो वर्षदेखि ऊ मसँग यस्तो खेल खेलीरहेकी थिई जसलाई मैले केही बुझ्न सकिनँ। मलाई पुगेको चोटभन्दा कयौं गुना बढी चोट त उसलाई पुगेको होला जो सुखद दाम्पत्य जीवनको कल्पना गर्दै यस घरमा भित्रिएकी थिई।

त्यस रात रसिलाले निकैपटक फोन गरी। मैले उठाउन चाहिनँ। मनमा अनेकौं सोचहरुले कुस्ती खेल्न थाले। के कमी थियो ममा? पढेलेखेको थिएँ, पैसा टन्न कमाउँथे। रसिलाको हरेक ईच्छा पूरा गरिदिएको थिएँ तै पनि आखिर के कुराले उसलाई मेरो भाइप्रति आर्कषित गर्‍यो? धन्न महान् छे अन्जुला, जसले विवाह गरेको हप्ता दिनमै आफ्नो श्रीमानको बारेमा सबैकुरा थाहा पाएर पनि सहेर बसेकी छे। मेरो त के छ र? म केही दिनको लागि नेपाल आएको थिएँ। चाहे भने भोलि नै दुबई फर्किन सक्छु। तर अन्जुला? कहाँ छ उसको जाने ठाउँ? कहाँ गएर पोख्छे उसले मनको बह? भर्खरै विवाह गरेको गएकी छोरीको यस्तो दुःख कुन चाहिं बुवाआमाले सहन सक्छन्?

रसिला मलाई खबर नै नगरी घर आईपुगी माइतीबाट। मामाघरबाट आईपुगेकी छोरीले मलाई हेर्दै भनी, ‘बाबा, मलाई कस्तो मामाघर बस्न मन थियो, तर काकाले मामुलाई फोन गरेर बोलाएको बोलाई गरेपछि मामुसँग म पनि आउनुपर्‍यो।’ छोरीको कुरा सुनेर पिँढीमा बसेर चामल केलाउँदै गरेकी अन्जुलाले पुलुक्क म तिर हेरी। रसिलाको अनुहारको खुशी एकाएक पुछियो। म केही नबोली कोठाभित्र पसेँ। त्यसरात म रसिलासँग एक शब्द पनि बोलिनँ। एउटै कोखबाट जन्मेको भाइ र सात जन्म सँगै बिताउने श्रीमतीले मसँग यस्तो घात गर्लान् भनेर मैले सपनामा पनि चिताएको थिईनँ।

यो बिचमा मैले रसिला र भाइको सम्बन्धको बारेमा प्रमाण जुटाउन कोशिश गरेँ। यसमा मलाई अन्जुलाले ठूलो साथ दिई। म राति निदाएको जस्तो नाटक गर्थेँ। म निदाईसकेँ भन्ने ठानेर रसिला मेरो भाइलाई भ्वाईस म्यासेज गर्थी। एउटै ओछ्यानमा सुतेर पनि रसिला र मैले एक अर्कासँग मौन रहेर धेरै रात कटायौं। उसले केही नभएजसो गरेर मसँग सोध्थी, ‘हजुरलाई के भो, म माईतीबाट आएदेखि मसँग राम्रोसँग बोल्नुभएको छैन।’ उसको प्रश्नको उत्तरमा ‘मलाई सन्चो छैन’ भनेर टारिदिन्थेँ। एकदिन राति सबैजना खाना खाईसकेर गफ गरेर बसिरहेको बेला मैले भाइ र रसिलाको बिच भएको ‘भ्वाईस म्यासेज’ सबैको अगाडि सुनाईदिएँ। भाइ उठेर जान लाग्या थियो। अचानक मेरो हातले उसलाई रोक्यो अनि अर्को हातले उसको गालामा एक झापड हान्यो।

यो कस्तो दिन आयो, जुन भाइसँग अहिलेसम्म मैले ठूलो स्वरमा समेत कुरा गरेको थिईनँ आज त्यही भाइलाई मैले झापड हान्न बाध्य भएँ। ‘दादा’ ऊ अकमकायो। मैले उसलाई रोक्दै भनें, ‘के हो यो राजेश! अब यति सबै भईसक्दा पनि मैले तिम्रो सफाई सुन्नु जरूरी छ? हेर! अस्ती भर्खरै तिमीले विवाह गरेर ल्याएको अन्जुलाको गति। के अलिकति पनि सोचेनौं यो सबको बारेमा।’

रसिला र राजेशको बारेमा यो सबैकुरा थाहा पाएर ममी बुवाले पनि आफ्नो रिस खप्न सक्नुभएन। ‘पहिला जेठो छोरालाई आफैंले मन पराएर यस घरमा विवाह गरेर आई अनि अहिले फेरि विवाह गरिसकेको मेरो कान्छो छोरासँग....... हे भगवान् के दिन देख्नुपर्‍यो?,’ ममी बोल्दाबोल्दै सुकसुकाउन थाल्नुभयो।

ममीको मात्र के कुरा? बुवा र अन्जुलाको पनि आँखा ओभानो रहेनन्।

अन्जुलाले यसपटक बडो साहस बटुलेर भनी, ‘जे भयो राम्रो भयो। ठिकै भयो यो सत्य छिट्टै हामीलाई थाहा भयो। नत्र हाम्रो सम्बन्ध धेरै अगाडि बढिसकेपछि यस्तो भएको भए कसरी सम्हाल्थेँ मैले आफूलाई? अब म यो घरको सदस्य बनेर बस्न सक्दिनँ,’ मैले उसलाई रोक्न खोज्दै भनेँ, ‘यो रातमा तिमी एक्लै कहाँ जान्छौ? कसरी जान्छौ?’ उसले रूदैं भनी, ‘यो जीवनमा यति धेरै अन्धकार छाईसक्यो कि बाहिरको अन्धकारले मलाई केही फरक पर्दैन दादा। मलाई नरोक्नुस्।’

ममि, बुवा र म मिलेर पनि उसलाई रोक्न सकेनौं। ऊ सरासर निस्केर गई।

भोलिपल्ट सूर्यको प्रकाशले उज्यालो छर्नु अगाडि नै हल्ला गाउँभरी फिजिएको थियो कि अन्जुलाले अघिल्लो रात घरबाट निस्किनासाथ खोलामा हाम फालेर आत्महत्या गरी। मलाई असह्य भयो। भाइको आँखामा पनि आँशु देखियो। मैले उसको आँखामा टिल्पिलाईरहेको आँशुलाई हेर्दै भनेँ, ‘भयो भाइ अब गोहीको आँशु नझार।’

रूदैं, भित्रभित्रै पिल्सिदैं तड्पिदै मैले घरमा दश दिन बिताएँ। केही समयपछि सबैकुरा त्यतिकै छोडेर बुढा भएका ममी बुवाको मुस्कान पुछिएको अनुहार र भर्खरै फूल्दै गरेकी कोपिला जस्ती छोरीलाई समेत बेवास्ता गरेर म बिदा सकिनुभन्दा अगाडि नै दुबईको लागि उडेँ।

दुबई फर्केर काम गर्न थालेपछि पनि मैले विगत बिर्सन सकिनँ। मेरो यो अवस्था देखेरै सुनिताले फेरि एकपटक मलाई प्रेम प्रस्ताव राखी। मैले धेरै सोचेर उसलाई सोधेँ, ‘के भोलि म दुबई छोडेर आफ्नो गाउँ गएर बसेँ भने तिमी पनि त्यतै बस्न सक्छौ? के घाँस दाउरा गर्न सक्छौ ?,’ मेरो कुरा सुनेर मुहारमा हल्का प्रशन्नता ल्याउँदै उसले भनी, ‘यत्रो वर्षदेखि तिमीलाई माया गरिरहेकी छु। तिमी संसारको जुनसुकै कुनामा जाउ म छायाँ जसरी तिम्रो साथ दिईरहनेछु।’ उसको कुराले मेरो मन भक्कानियो।

मैले मिल्ने साथीलाई गाउँमा फोन गरेँ ऊ भन्दै गयो, ‘के भन्नु रोशन! राजेश र रसिला सँगै गाउँ छोडेर गए। सम्बन्ध अझै पनि उस्तै छ। विवाह गर्ने भनेर योजना बनाएका छन् रे’ ‘अनि छोरी?’ मेरो मुखबाट फुत्कियो। ‘छोरी त मामाघरमै छोडेकी छे तेरो श्रीमतीले।’

कति नराम्रो प्रभाव पर्‍यो होला त्यो बच्चीमा? के सोच्दो हो उसको बाल मस्तिष्कले? नारीहरु पनि यति क्रुर कसरी हुन सक्छन् ? मैले त सुनेको थिएँ नारी देवीको रुप हुन्छन्। तर सबै नारीमा एउटै गुण नहुने रहेछ। बुवा ममी पनि पिरले थलिन लाग्नुभएको छ भन्ने थाहा पाएर मलाई एकपल पनि दुबई बस्न मन लागेन। मैले सुनितासँग कुरा गरेँ। ऊ तत्कालै राजी भई मसँग सदाको लागि नेपाल जान।

नेपाल पुग्नासाथ सुनिता र मैले सबैभन्दा पहिले कोर्ट म्यारिज गर्‍यौं। त्यसपछि गाउँमा पुगेर छोरीको मामाघर गएँ उसलाई लिन। सासु, ससुरा केही बोल्न सकेनन् मलाई देखेर। बोलुन् पनि कसरी? दाइको लागि कन्यादान गरेर दिएको छोरी भाइसँग गएर सम्पर्कविहिन भएकी थिई। मैले नमस्कार गरेँ, उनीहरुले फर्काए। बस् त्यति भयो। छोरी मलाई देख्नासाथ सुँक्क सुँक्क गर्दै रून थाली। उसलाई फकाएर आफूसँगै घर लिएर गएँ। घर पुग्नासाथ सुनिताले ममीको खुट्टामा ढोगी। मैले सबैकुरा भनेँ बुवा र ममिलाई। मैले भनेँ, ‘बुवा, ममि अब म तपाईहरुलाई छोडेर कतै जाँदिनँ। यो गाउँको बारीको पाटामा तपाईँहरूले बगाएको पसिनालाई म त्यसै खेर जान दिने छैन। तपाईहरुको तीर्थ जाने ईच्छालाई पनि म पूरा गरिदिनेछु । हामी एक हप्ताभित्रै तीर्थ यात्राको लागि सँगै निस्किने छौं। यसपटक मुजा परेको उहाँहरुको मुहारमा मुस्कान उदाएको थियो। 

प्रकाशित मिति: : 2020-06-13 18:05:00

प्रतिकृया दिनुहोस्