आज हामीले कल्पना गरिसकेका छौं– भोलि हुने मुख्य आर्थिक क्षतिले सबैमा एक प्रकारको मानसिक समस्या देखिन्छ भनेर। यस्तो बेला हामी मध्ये धेरैले आफन्त गुमाउने छौं। धेरैको आर्थिक आम्दानीको श्रोत घटने छ। र समाज पहिलेकै परिस्थितिमा फर्किन निकै समय लाग्ने छ। आज हामीले घरभित्र लकडाउनमा बसेर क्रियाशील कामको कल्पना गरेपनि त्यसलाई व्यवहारमा लागु गर्न नसकिरहेको अवस्था छ।
यस्तो विषम परिस्थितिले हामीमा थप पीडा उत्पन्न गराइरहेको छ र हामी सबै बिस्तारै–बिस्तारै दोस्रो आघातको सिकार हुँदैछौं। यस्तो बेलामा पारिने नकरात्मक विचारले तपाई हामी धेरैलाई गलत काम गर्ने बाटोमा उकास्न सक्छ। जुन यतिबेला देखिन थालेको छ।
हामीले संयमता अपनाउने भन्ने कुरा अर्को पाटो होला तर संयमित कहिलेसम्म र के का लागि हुने भन्ने प्रश्न पनि यथोचित छ।
संयमित हुन पनि थप बलियो मन चाहिन्छ र बलियो मन हुनका लागि पनि आधारहरू चाहिन्छ। हामी मध्ये धेरैको अब रोजीरोटी बन्द हुँदैछ। हाम्रा कैयौं सपनाहरू भत्किदै छन्। त्यसमाथि पनि भोलि समाजमा असल मान्छेहरू भेटिन्छन् कि भेटिदैनन् भन्ने आभाषले हामी सबैलाई सताउन थालेको छ। भोलिको अभावले जो कोहीलाई पनि परिस्थितिले खराब बनाउन सक्छ। बन्दै पनि गइरहेका छन्।
र, यसको प्रत्यक्ष वा अप्रत्यक्ष अवजस सरकारले बोक्नु पर्ने हुन्छ। खाली कोरोना भाइरसलाई मात्र दोष देखाएर राज्य उम्किन पाउँदैन। विश्व कोरोना भाइरससँग लड्दै गर्दा सुरुवाती दिनमा एक प्रकारको त्रास हामी सबैमा थियो। अब के हुन्छ? फेरि विज्ञ र वैज्ञानिकहरूको विभिन्न तर्कले हामीमा द्धिविधा उत्पन्न भयो। सबैको मनमा एक प्रकारको ढ्याङ्गो बज्न थाल्यो।
अहिले हाम्रो अवस्था, कोरोनासँगै लडेर जीवनयापन गर्ने कि सधैं प्रश्नहरूको बीचमा रुमल्लिरहने भन्नेमा छ। हामी सबैलाई थाहा छ, आशावादी हुनुपर्छ भन्ने। तर हामीमध्ये धेरै यो शब्दले मात्र काम नगर्ने अवस्थामा पुगिसकेका छौं। किनभने हामी सबैलाई व्यवहारिक पक्षले गाँज्दै लगेको छ। व्यवहारका सबै पक्षहरूलाई सम्झँदा हामीलाई कहाली लाग्न थालिसकेको छ। र फेरि सोही प्रश्न उठ्ने गर्छ, अब के हुन्छ वा अब के गर्ने?
वैज्ञानिकहरू यो भाइरसको बारेमा अध्ययन गर्न व्यस्त देखिन्छन्। स्वास्थ्यकर्मीहरू जोखिम कम गर्न र उपचारार्थ सेवामा तल्लीन छन्। यस्तो विषम परिस्थितिमा सेवारार्थ खटिने स्वास्थ्यकर्मीहरूको काम सबैभन्दा सह्रानीय छ।
मनोविद् र मनोचिकित्सकहरूले अब कल्पना गरिसके मानसिक स्वास्थ्य भयावहस्थिति भएर विश्वमा आउनेछ र यसको सबैभन्दा मुख्य कारण आर्थिक नै हुनेछ।
अब योग र साधनाले पनि हाम्रो मन शान्त नहुने अवस्था छ। हामीले हाम्रो मनलाई बलियो बनाउने आधारहरू भत्किँदैछन्। र, धेरैले त मनलाई बलियो बनाउन नसकेर नकरात्मक विकल्पहरू पनि सोचेर दुर्घटनाका छापहरू समाजमा छोडिसके।
पेशाले म नर्स र मनोविद् दुबै हुँ। मेरो पेशा सँगसँगै घर, परिवार, समाज अनि जिम्मेवारी पनि छ। लकडाउन लम्बिँदै गर्दा कता–कता बेला–बेला मेरो मन पनि अतालिन थालेको छ।
मैले काम गर्ने कार्य क्षेत्र अस्पताल त हैन तर पनि बालबालिकाहरूको सेवामा जाँदा निकै सर्तकताका साथ जाने गर्दछु, आफ्नो मनलाई बलियो बनाउँदै। यसैले यो बेला सरकारको बलियो उपस्थिति नै नागरिकका लागि भरोसाको एक मात्र केन्द्र बनेको छ। तर, के सरकार आफ्नो नागरिकप्रति उत्तरदायी बन्न सकिरहेको छ त?