समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापालाई बसन्तपुर दरबार क्षेत्रबाट पक्राउ गरेकाे हाे।
'शुक्रबार कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गर्न गएका बेला उनलाई पक्राउ गरिएकाे हाे,' परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले भने।
मंगलबार विशालनगरस्थित गिरीको घरको मूलढोकामा थापालगायत केही व्यक्तिहरूले क्षति पुर्याएका थिए। उनीहरूले ढोकामा कालोझण्डा समेत राखेका थिए।
सासंद गिरीले लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। त्यसकै विरोधमा केही व्यक्तिले गिरीको निवासमा तोडफोड गर्न पुगेका थिए।
उनीहरूले उक्त घटनाको भिडियाे युट्युबमा हालेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।