भारत कोरोना भाइरसबाट प्रभावित विश्वकै सबैभन्दा खराब मुलुको सूचीमा चौथो स्थानमा उक्लिएको छ। बेलायतलाई पछि पार्दै भारत बढी प्रभावित मुलुकको चौथो स्थानमा उक्लिएकाे हाे।
भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा अहिलेसम्म दुई लाख ९७ हजार ५३५ संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९५६ नयाँ संक्रमित थपिएका हुन्।
यता बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ९२ हजार ८६० छ।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार ४९८ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३९६ जनाको मृत्यु भएको छ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ९७ हजार ६४८ मा संक्रमण पुष्टि भएको छ भने तीन हजार ५९० जनाको मृत्यु भइसकेको छ। त्यस्तै, तमिलनाडुमा अहिलेसम्म ३८ हजार ७१६ संक्रमित फेला परेका छन् भने ३४९ जनाको मृत्यु भइसकेको छ।
दिल्लीमा ३४ हजार ६८७ जना संक्रमित भेटिँदा एक हजार ८५ जनाको मृत्यु भएको छ। गुजरातमा २२ हजार ३२ संक्रमित भेटिँदा एक हजार ३८५ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, उत्तर प्रदेशमा अहिलेसम्म १२ हजार ८८ संक्रमित फेला परेका छन् भने ३४५ को मृत्यु भएको छ। पश्चिम बंगालमा नौ हजार ७६८ संक्रमित भेटिएका छन् भने ४४२ को मृत्यु भइसकेको छ। बिहारमा पाँच हजार ९८३ संक्रमित फेला परेका छन् भने ३६ को मृत्यु भइसकेको छ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ४७ हजार १९५ संक्रमित निको भएर घर फर्किसकेका छन्।