सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा एक जनाको मृत्यु भएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको हो।
उनका अनुसार झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन्।
‘प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए। उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको हो त्यस क्रममा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रजिअ जिसीले भने।
त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको उनको भनाइ छ।
झडपमा तीनजना भारतीय नागरिकलाई गोली लागेको र उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताए।
सुरक्षामा खटिएका तीनजना शसस्त्र प्रहरीलाई पनि चोटपटक लागेको उनले बताए। सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले नाकामा फायरिंग भएको र आफूले विवरण बुझ्ने काम गरिरहेको बताए।
सर्लाहीको पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको बताए। बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन्।
यसअघि झापा बारा लगायतका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा भारतीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो।